काभ्रेमा थपिए २२ संक्रमित, ४ वर्षे बालक देखि जेष्ठ नागरिकसम्म



मोतीराम तिमल्सिना, काभ्रे ।

काभ्रेपलाञ्चोक जिल्लामा शुक्रबार विहान चार वर्षे बालक देखि ८१ बर्षिय जेष्ठ नागरिकसम्म संक्रमित भएका छन् । विहिबार साँझ १९ जना संक्रमित थपिएका थिए । पछिल्लो समय संक्रमितहरुको संख्या थपिदै गए पछि जिल्ला संकट ब्यवस्थापन केन्द्रले यातायात, पार्टी प्यालेस, विद्यालय तथा सार्वजनिक क्षेत्रमा भिडभाड नगर्न अनुरोध गरेको छ ।

संकट ब्यवस्थापन केन्द्रका सदस्य सचिव एवं स्वास्थ्य कार्यालय काभ्रेका प्रमुम बरिष्ठ स्वास्थ्य प्रशासक डा.नरेन्द्रकुमार झाका अनुसार संक्रमण दर दिनदिन बढिरहेको छ । ‘विहिबार साँझ थपिएका १९ जना बाहेक शुक्रबार विहान २२ जना नयाँ संक्रमित थपिएका छन् । जसमा ४ बर्षे बालक, १४ , १७ र १८ वर्षका बालकहरु देखि ८१ वर्षिय जेष्ठ नागरिकहरु समेत संक्रमति भएका छन्’– डा. झाले भन्नुभयो–‘त्रसित नभई सुरक्षित भएर संक्रमणबाट बच्नुको विकल्प छैन ।’

यस अघि ६४ जना संक्रमित रहेकोमा ३२ जना महिला र ३२ जना पुरुष थिए । केहि अस्पतालमा भर्ना भएका छन् । अधिकांश संक्रमितहरु घरमै उपचारार्थ छन् । नयाँ संक्रमितहरु बनेपा, पनौती, धुलिखेल, पाँचखाल, भुम्लु, चौरीदेउराली, तेमाल, रोशी गाउँपालिकामा बसोबास गर्ने नागरिकहरु छन् । बालबालिकाहरुमा संक्रमण फैलिएसँगै समुदायमा संक्रमण तिब्र हुन थालेको अनुमान गरिएको छ ।

जिल्ला संकट ब्यवस्थापन केन्द्रले स्थानीय पालिकाहरुलाई संक्रमण फैलन नदिन र नागरिकहरुको आवश्यक परिक्षण गर्न अनुरोध गरेको छ । जिल्लामा दुईवटा पिसिआर परिक्षणका ल्याबहरु संचालनमा रहेका छन् । धुलिखेल अस्पतालमा दैनिक रकम तिरेर परिक्षण गर्ने ब्यवस्था छ भने प्रादेशिक ल्यावमा पालिकाहरु तथा अन्य संघसंस्थाहरुले स्वाब संकलन गरी पठाएको अवस्थामा निशुल्क परिक्षण गर्ने ब्यवस्था मिलाईएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलका अनुसारका जिल्लाका यातायात ब्यवसायी, उद्योगी ब्यवसायी, पार्टी प्यालेस संचालकहरुसँग आवश्यक छलफल गरी सुरक्षाका मापदण्ड पालना गर्न र २५ जना भन्दा धेरै ब्यक्तिहरु भेला नगर्न नगराउन अनुरोध गरेको बताउनु भयो । प्रशासनको अनुरोधलाई बेवास्ता गर्दै अधिकांश पार्टी प्यालेसमा विवाहका भब्य भोज भईरहेका छन् । एउटै पार्टी प्यालेसले दैनीक एक हजार भन्दा धेरै ब्यक्तिहरुलाई भोज खुवाईरहेको सहभागिहरुले बताएका छन् । यसले संक्रमण दर फैलने भन्दै स्वास्थ्यकर्मीहरुले चिन्ता ब्यक्त गरेका छन् ।

जिल्लामा कोरोना संक्रमणका कारण ६३ जनाले ज्यान गुमाईसकेका छन् । जिल्लाका ४५ र अन्य जिल्लाका १८ जना रहेको स्वास्थ्य कार्यालय काभ्रेले जानकारी दिएको छ । जिल्लामा संक्रमितहरुको संख्या ३ हजार ४ सय ८९ पुगेको छ । २८ हजार ५ सय ५८ जनाले पहिलो चरणको खोप लगाएका छन् भने दोश्रो मात्राको खोप लगाउनेको संख्या विहिबार साँझसम्म ३ हजार ३ सय ४४ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्