मन्त्री आलेद्वारा आर्थिक सहयोग



विमल विष्ट, काठमाडौँ ।

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेद्धारा मृगौला तथा थाइराइड पीडितलाई आर्थिक सहयोग प्रदान गर्नु भएको छ । डोटीको दिपायल सिलगढी नगरपालिका–९ कलेना घर भएकी ५३ वर्षीया मृगौला पीडित उजुली आउजीलाई रु १५ हजार तथा डोटीकै आदर्श गाउँपालिका–५ बस्ने रुपसिंह टामटालाई आज शुक्रबार मन्त्री आलेले रु दश हजार गरी कुल रु २५ हजार आर्थिक सहयोग प्रदान गर्नु भएको हो । मन्त्री आलेले उपचारका लागि आर्थिक सहयोग प्रदान गर्नु भएपछि पीडितका आफन्तहरु निकै खुशी भएका छन् ।

लामो समयदेखि बिरामी भएर काठमाडौँमा उपचार गराइरहनु भएका दुबै जनालाई उपचारमा केही सहज होस भन्ने उदेश्यले उक्त रकम मन्त्री ज्युले प्रदान गर्नु भएको उहाँका स्वकीय सचिब हेमन्त रेग्मीले बताउनुभयो ।उहाँले भन्नुभयो, “आर्थिक अभाबले समस्या भएका होस वा बिरामी भएर समस्या परेकाहरुलाई मन्त्री ज्युले आर्थिक सहयोग दिँदै आउनु भएको छ, आज डोटीका दुइ जना बिरामीलाई पनि सहयोग गर्नु भएको छ ।” पछिल्लो समय दिन दुःखी तथा बिरामीलाई सेवा तथा आर्थिक सहयोग गर्न पाए मन्त्री आले निकै खुशी हुने नेताका रुपमा नागरिकमा चिनिदै आउनु भएको छ ।

मन्त्री आलेले अहिले सम्म देशै भरीका कम्तिमा पनि एक हजार भन्दा बढी नागरिकलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गरी सक्नु भएको छ । बिरामी भएर उपचारका लागि काठमाडौँ आउने अधिकाँस बिरामीहरु मन्त्री आलेलाई सहयोगका लागि आग्रह गर्ने गरेका छन् । यसैगरी मन्त्री आलेले मृगौला पीडित भएर टिचिङ अस्पताल महाराज गञ्जमा करिब छ महिनादेखि उपचार गराइ रहनु भएकी उजुली आउजीको उपचारमा सहज गराउनकालागि उक्त अस्पतालमा समेत खबर गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्