अर्ब लगानीमा १० शीतभण्डार



नेपाल समाचारपत्र, हेटौंडा । 

चितवनको खैरहनी नगरपालिका–६ मा निर्माण हुन लागेको शीतभण्डार यस क्षेत्रको एक प्रमुख शीतभण्डार हो । उक्त शीतभण्डार खैरहनीको साना किसान कृषि सहकारी संस्थासँगको साझेदारीमा निर्माण गरिएको हो ।

शीतभण्डार वैशाख तेस्रो सातासम्म सञ्चालनमा ल्याउने तयारी गरिएको सहकारी व्यवस्थापक चन्द्र लामिछाने बताउनुहुन्छ । उक्त शीतभण्डार निर्माणका लागि मन्त्रालयले १२ करोड ९४ लाख ४२ हजार रुपियाँ उपलब्ध गराएको छ । साना किसान सहकारीसहित ३२ सहकारीका किसानलाई सहज हुने गरी खैरहनी नगरपालिकाको ३० प्रतिशत लगानी गरेर काम गरिएको लामिछानेले बताउनुभयो ।उक्त शीतभण्डार एक हजार ५ सय मेट्रिक टन क्षमताको छ । २०७५ चैत १३ गते सम्झौता गरेर काम शुरु गरिएकोमा हालसम्म ९६ प्रतिशत काम सकिएको मन्त्रालयका कृषि अर्थविज्ञ निर्मल पौडेलले जानकारी दिनुभयो ।धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर–७ मा पनि १ हजार ५ सय मेटन तरकारी तथा फलफूल अट्ने गरी शीतभण्डार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मन्त्रालयले कृषक सुधार फलफूल तथा तरकारी सहकारी संस्था लिमिटेडसँगको साझेदारीमा शीतभण्डार निर्माण गरेको हो । शीतभण्डार निर्माण काम अन्तिम चरणमा पुगेको सहकारी अध्यक्ष हेमनाथ थपलिया बताउनुहुन्छ ।

जेठसम्म शीतभण्डार सञ्चालन गर्ने गरी काम भइरहेको उहाँले बताउनुभयो । शीतभण्डार निर्माणका लागि मन्त्रालयले १२ करोड ८३ लाख ७० हजार उपलब्ध गराउने सम्झौता भएको छ । रसुवाको कालिका गाउँपालिका–२ मा साना किसान कृषि सहकारी संस्था लिमिटेडसँगको साझेदारीमा ३ सय मेटन तरकारी तथा फलफूल अट्ने शीतभण्डार निर्माण भइरहेको छ । हालसम्म ७० प्रतिशत् काम भएको छ । ३ करोड ७० लाख ३५ हजार लागतमा शीतभण्डार निर्माण गर्न लागिएको छ सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर–५ मा मुकुटेश्वर बहुउद्धेश्यीय कृषि सहकारी संस्था लिमिटेडसँगको साझेदारीमा शीतभण्डार निर्माण भइरहेको छ । हालसम्म ६९ प्रतिशत् निर्माण सकिएको छ । ५ सय मेटन क्षमताको शीतभण्डार निर्माणका लागि ५ करोड ३० लाख ८० हजार खर्च अनुमान छ ।सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका वडा नम्बर–७ मा गोल्मुथान कृषि सहकारी संस्थासँगको साझेदारीमा शीतभण्डार निर्माण जारी छ । ५ सय मेटन क्षमताको शीतभण्डार निर्माणको काम ३४ प्रतिशत् सकिएको छ । ५ करोड ३५ लाख १७ हजार लागतमा शीतभण्डार निर्माण भइरहेको हो ।

सिन्धुपाल्चोककै इन्द्रावती गाउँपालिकाको पोखरे साना किसान कृषि सहकारी संस्था लिमिटेडसँगको साझेदारीमा ५ सय मेटन क्षमताको शीतभण्डार निर्माण भइरहेको हो । ५ करोड ३५ लाख ४९ हजार लागतमा शीतभण्डार निर्माण भइरहेको हो । हालसम्म ४५ प्रतिशत् निर्माणसम्पन्न भएको सहकारीले जनाएको छ ।दोलखाको जिरी नगरपालिका–५ जिरी कृषि सहकारी संस्था लिमिटेडसँगको साझेदारीमा ५ सय मेटन क्षमताको शीतभण्डार निर्माण भइरहेको छ । हालसम्म ३५ प्रतिशत् काम सकिएको छ । ५ करोड ३७ लाख १६ हजार लागतमा शीतभण्डार निर्माण थालिएको थियो ।रामेछापको मन्थली नगरपालिकामा पनि शीतभण्डार निर्माण भइरहेको छ । ५ सय मेटन क्षमताको शीतभण्डार निर्माणको काम ४० प्रतिशत सकिएको मन्त्रालयले जनाएको छ । ५ करोड ३० लाख ९५ हजार लागतमा शीतभण्डार निर्माण भइरहेको छ ।मन्त्रालयले दुई नगरमा भने निजी कम्पनीसँगको साझेदारीमा ५० प्रतिशत् रकम मन्त्रालयले बेहोर्ने गरी ठूला शीतभण्डार निर्माण गरिरहेको छ । बिदुर नगरपालिका वडा नम्बर–५ र बेलकोटगढी नगरपालिका वडा नम्बर–१० मा ५ हजार मेटन क्षमताका शीतभण्डार निर्माण भइरहेका हुन् । दुवै नगरमा शीतभण्डारी निर्माणको काम ५० प्रतिशत् सकिएका छन् ।

बिदुर नगरपालिकामा साझेदार संस्था र मन्त्रालयको गरी २१ करोड ५२ लाख ८१ हजार रुपियाँ र बेलकोटगढीमा साझेदार संस्थाको समेत गरी २० करोड १२ लाख ७४ हजार रुपियाँ लागतमा शीतभण्डार निर्माण भइरहेको हो ।किसान लक्षित कार्यक्रममध्ये बागमती प्रदेशको भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्रालयले जिल्लाहरुमा शीतभण्डार निर्माण गरेको हो । मन्त्रालय र साझेदार संस्थासमेतको लगानीमा ९७ करोड ८३ लाख ६३ हजार लगानीमा शीतभण्डार निर्माण जारी रहेका हुन् । धेरैजसो शीतभण्डार निर्माणको काम अन्तिम चरणमा पुगेका छन् । केही शीतभण्डार निर्माणको काम ५० प्रतिशत् भन्दा कम बाँकी छन् । किसानद्वारा उत्पादित तरकारी र फलफूल भण्डार गर्न सहज भएको प्रदेशको भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जेलामाले बताउनुभयो । मन्त्रालयले प्रदेशका १३ वटै जिल्लाका किसानका लागि गरेका महत्वपूर्ण काममध्ये शीतभण्डार पनि एक हो ।

प्रतिक्रिया दिनुहोस्