५३ देशबाट नेपालमा लगानी, सबैभन्दा बढी सेवा क्षेत्रमा



नेपाल समाचारपत्र, काठमाडौं । 

नेपालमा आएको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५१ दशमलव १ प्रतिशत सेवा क्षेत्रमा र ४८ दशमलव ८ प्रतिशत औद्योगिक क्षेत्रमा लगानी रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकका अनुसार सेवा क्षेत्रअन्र्तगत कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २७ दशमलव ४ प्रतिशत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूमा रहेको छ । त्यस्तै औद्योगिक क्षेत्रअन्र्तगत उत्पादन क्षेत्रमा २८ दशमलव ६ प्रतिशत र जलविद्युत् क्षेत्रमा २० प्रतिशत वैदेशिक लगानी रहेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले वैदेशिक लगानीसम्बन्धी गरेको सर्वेक्षणमा आर्थिक वर्ष २०७५-७६ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल १५३ वटा कम्पनीको नमूना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्यांक विश्लेषणका आधारमा प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७५-७६ तयार पारेको छ ।

उक्त सर्वेक्षणबाट प्राप्त नतिजाअनुसार नेपालमा आर्थिक वर्ष २०७५-७६ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ८ दशमलव ८ प्रतिशतले कमी आई १८२ अर्ब ९२ करोड कायम रहेको छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ४८।२ प्रतिशत, रिजर्भ ४२।८ प्रतिशत र कर्जाको अंश ९ प्रतिशत रहेको छ । रिजर्भको अंश २७ प्रतिशतले घटेकाले कुल प्रत्यक्ष वैदेशिक लगानीमा कमी आएको हो ।त्यसैगरी २०७६ असार मसान्तसम्ममा नेपालमा ५३ देशहरूको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । जसमध्ये, भारतबाट सबैभन्दा बढी अर्थात् ५६ अर्ब ५ करोड र त्यसपछि क्रमशः चीनबाट २७ अर्ब ५६ करोड, सेन्ट किष्टस एन्ड नेभिसबाट २४ अर्ब ९४ करोड, आयरल्यान्डबाट ११ अर्ब ५९ करोड र सिंगापुरबाट ८ अर्ब ७३ करोड प्रत्यक्ष वैदेशिक लगानी आएको छ ।

प्रतिक्रिया दिनुहोस्