सम्पदा संरक्षणका लागि फोटो प्रदर्शन र प्रतियोगिता



पुष्कर बुढाथोकी (नेस) भक्तपुर ।

भक्तपुरमा पहिलोपटक राष्ट्रियस्तरको अनलाइन तस्वीर प्रतियोगिता र प्रदर्शन गरिने भएको छ ।रक्त सञ्चार क्लबमा बिहीबार पत्रकार सम्मेलन गर्दै किपाग्राफी भक्तपुरले ‘भक्तपुर नवदुर्गा नाच राष्ट्रिय फोटो प्रतियोगिता २०७८’ आयोजना गर्ने जनाएको हो ।भक्तपुर, काठमाडौं र काभ्रेपलाञ्चोकमा प्रदर्शन गरिने नाचका तस्वीरहरू प्रतियोगितामा समावेश गरिने आयोजक समितिका अध्यक्ष अच्युत प्रजापतिले जानकारी दिनुभयो ।

प्रतियोगितमा सामले हुन चाहनेहरूले वैशाख १५ गतेदेखि जेठ मसान्तसम्म अनलाइन मार्फत फारम भरेर आफ्नो तस्वीरहरू पठाउन सकिने उहाँले जानकारी दिनुभयो ।फाराम भरेर संकलन भएकामध्ये उत्कृष्ट १०० तस्वीर चयन गरिनेछ । संकलन भएका १०० मध्ये उत्कृष्ट १० तस्वीर पहिलो चरणमा छनोट गरिने प्रजापतिले बताउनुभयो ।त्यस्तै, १० तस्वीर मध्येबाट पनि सर्वाेत्कृष्ट तीन तस्वीरलाई पहिलो दोस्रो र तेस्रो घोषणा गरिने आयोजकको भनाइ छ ।पहिलो हुने तस्वीरलाई नगद रु ३० हजारसहित प्रमाण–पत्र र ट्रफीबाट सम्मान गरिनेछ भने दोस्रो स्थान हासिल गर्नेलाई रु २० हजार र तेस्रो हुन सफल हुनेलाई रु १० हजार नगद, प्रमाणपत्रसहित ट्रफीबाट सम्मान गरिने प्रजापतिले बताउनुभयो ।

कार्यक्रममा रक्त सञ्चार क्लबका अध्यक्ष सुशील बन्धु थापाले तस्वीरको माध्यमबाट भक्तपुरलगायत देशभरका कला सम्पदा र संस्कृतिको प्रर्वद्धनमा यो प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्नेमा आशा व्यक्त गर्नुभयो ।सम्पदा संरक्षणका लागि फोटोग्राफी भन्ने मूल नाराका साथ अघि बढेको किपा ग्राफीले नेपालमा पछिल्लो समय कोरोनाको कहरलाई मध्यनजर गर्दै अनलाइन माध्यमबाट तस्वीर संकलन र प्रदर्शनीसमेत गरिने कार्यक्रम संयोजक रबिता केसीले जानकारी दिनुभयो ।तान्त्रिक विधिबाट ८ महिनासम्म सञ्चालन गरिने नवदुर्गा नाचका बारे जानकारी प्रदान गर्ने र यसको प्रचारप्रसारमा सहयोग पु¥याउने उदेश्य रहेको संस्थाका सचिव बालकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्