दार्चुलामा हिमपात



न्युज अफ नेपाल, दार्चुला ।

सुदुपश्चिम प्रदेशको हिमाली जिल्ला दार्चुलामा वैशाखमा हिमपात भएको छ । बुधबार देखी लगातार भएका वर्षाका कारण जिल्लाका उच्च हिमाली भेगहरुमा बाक्लो हिमपात भएको स्थानियले बताएका छन् । हिउँदेयाम सकिएर गर्मीयाम लागे पनि हिमपात भएको ब्याँस गाउँपालिका स्थानिय दिपक खातीले बताउनुभयो । बुधबार रातभरी भएको वर्षा संगै ब्याँस गाउँपालिकाको कैचुला, दुुहुँ गाउँपालिकाको सिद्धटोपी, दम्दाकोट क्षेत्रमा बाक्लो हिमपात भएको उहाले जानकारी दिनुभयो ।

यस वर्षको हिउँदमा खासै हिमपात नभएको तथा वैशाखमा आएर वर्षा संगै बाक्लो हिमपात भएको दुहुँ गाउँपालिका हिकिलाका स्थानिय प्रेम जोशीले बताउनुभयो । यस्तै अपिहिमाल गाउँपालिकाको घुषा, खण्डेश्वरी लगायतका उच्च हिमाली भेगहरुमा पनि हिमपात भएको स्थानियले बताएका छन् । वर्षा संगै भएको हिमपातले जिल्लाको उच्च भेगहरुमा किसानहरुले लगाएको हिउँदे अन्नबाली भित्र्याउन समस्या भएको छ ।

जिल्लाका उच्च भेगका किसानहरुले हिउँदे अन्नबालीको रुपमा गहुँ, जौ, फापर, उवा, नप्पल, मसुरो, केराउ, तोरी आदी लगाउने गरेका छन् । महाकाली र चौलानी नदि किनारका किसानले अन्नबाली भित्र्याइ सकेको भए पनि उच्च हिमाली भेगका किसानहरुलाई अन्नबाली भित्र्याउन समस्या भएको पाइएको छ । वर्षा संगै हिमपात भए पछि चिसो समेत बढेको छ ।

प्रतिक्रिया दिनुहोस्