प्रहरीकै सेटिङमा भित्रिँदै अवैध सामग्री



उत्तम नेपाल, भद्रपुर । 

स्थानीय प्रहरीकै सेटिङमा सीमानाकाबाट अवैध सरसामान भन्सार छलेर नेपाल भित्रिने गरेको पाइएको छ । दोस्रो लहरको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै गृह मन्त्रालयले सीमानाकामा कडाइ गर्न निर्देशन दिएपछि सादा पोशाकमा खटिएका प्रहरीले भटाभट सरसामान पक्रन थालेपछि सो कुराका खुलासा भएको हो ।

स्थानीय प्रहरीले सरसामान बरामद नगरेको अवस्थामा जिल्लाबाट खटिएका सादा पोशाकका प्रहरीले दैनिक सरसामान बरामद गर्न थालेपछि घटना बाहिरिएको थियो । प्रहरी कार्यालय झापाबाट खटिएका सादा पोशाकका प्रहरी टोलीले सोमबार राति भद्रपुर–३ स्थित १०३-३ नजिकैको सीमा पिलर नजिकैबाट डेढ लाख मूल्य बराबरको मोटरपार्टस बरामद गरेको छ । दुईवटा साइकलमा हालेर नेपाल भित्राइएको कार्टुनमा ट्याक्टरको पार्टस रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।प्रहरीले बरामद गरेको सामान भद्रपुर भन्सार कार्यालय बुझाइसकेको जनाइएको छ । सो सामान भारतीय कारोबारी ओकिल मियाँले भद्रपुरका कारोबारी यमका लागि ल्याएको प्रहरी स्रोतको भनाइ छ ।प्रहरीले यसअघि पनि सोही नाकाबाट भन्सार छलेर नेपाल भित्राइएको ८ पोका लत्तापकडा बरामद गरेको थियो । भद्रपुर–३ स्थित झोलुङ पुल नजिकैबाट बरामद गरिएको कपडामा कुर्था थियो । सादा पोशाकका प्रहरीले सो नाकाबाट पटक–पटक सामान बरामद गर्दा स्थानीय प्रहरी रमिते बनेका थिए । यस नाकामा एउटा सशस्त्रको बीओपी र दुईवटा प्रहरी चौकी पर्छ ।

महेशपुर प्रहरी चौकी इन्चार्ज असई भूपराज अधिकारी, मेचीपारि प्रहरी चौकी इन्चार्ज प्रेम श्रेष्ठ र सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट महेशपुरका इन्चार्ज सई युवराज राउतको जिम्मेबारीमा पर्छ । महेशपुर बीओपी पृथ्वीनगर बीओपीअन्तर्गत पर्छ । पृथ्वीनगर बीओपीका इन्चार्ज प्रहरी निरीक्षक अशोक न्यौपाने हुन् ।यति हुँदाहुँदै सो नाकाबाट सरसामान भन्सार छलेर भित्रिनुु स्थानीय प्रहरीको मिलोमतो प्रस्ट देखिन्छ । नाम नबताउने स्थानीय एक कारोबारीले भने– ‘यताका सशस्त्र र नेपाल प्रहरीसँग कुनै टेन्सन छैन, यिनीहरु सबैलाई मिलाएका छौं । जिल्लाबाट आउने प्रहरीसँग मात्र डर हो ।’यता, भद्रपुर ३ स्थित १०२-३ नम्बर सीमा पिलरबाट पनि दैनिकरूपमा साइकलका साइकल खाद्यान्न, चिनी, दाल, तेल, घरायशी सामान, मोटरपार्टस, भाडावर्तन, कस्मेटिक सामान भन्सार छलेर भित्रिरहेको छ । भद्रपुरको डाँगीबारी–गलगलियाको भक्सरभिट्टा नाकाबाट रात–दिन दर्जनौं साइकलमा ती सामान भद्रपुर बजारसम्म ल्याउने गरिन्छ । साइकल व्यापारी त्यसबापत स्थानीय प्रहरीलाई रकम छुट्टाउने गरेको एक कारोबारी स्रोतको दाबी छ ।

उता प्रहरी कार्यालय झापाबाट खटिएका सादा पोशाकको प्रहरी टोली कचनकवल–१ स्थित केचना नाकाबाट भन्सार छलेर भित्राइएको २ लाख बढीको सामान मंगलबार बरामद गरेको छ । बरामद गरिएको सामानमा खानेपानी पाइट, मोटरपार्टस, खाद्यान्न, सुर्तीलगायतको सामान रहेको प्रहरीले जनाएको छ ।सशस्त्र प्रहरीको जनशक्ति कम भएका कारण सामान अवैध तरिकाले पास हुन सक्ने सशस्त्र प्रहरी बल २ नम्बर गणका गणपति रमेशकुमार पाण्डे बताउनुभयो । स्थानीय प्रहरी हुँदाहुँदै जिल्लाबाट खटिएको टोलीले सामान बरामद गरेपछि कर्मचारीमाथि शंका उत्पन्न भएको उहाँले बताउनुभयो । कुनै प्रहरी कर्मचारी कारोवारीसँग मिलेको प्रमाण आएमा तुरुन्त कारबाहीको दायरामा ल्याइने पाण्डे बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्