सिलौटोमा चटनी कस्तुपको, नाचगान



कुलेन्द्र, रामजी, ज्योति र प्रीतिको

कस्तुप पन्तको शब्द रचना र संगीत रहेको सिलौटोमा चटनी बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।आज बिहीबार जन्मदिन मनाइरहेका कस्तुपले आफ्नो जन्मदिनको संघार पारेर यो गीत डिजिटल बजारमा रिलिज गरेका हुन्। कुलेन्द्र विश्वकर्मा र समीक्षा अधिकारीको स्वर रहेको गीतमा आशिष अविरलको संगीत संयोजन रहेको छ। शंकर बिसीको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा रामजी खाँड, कुलेन्द्र विश्वकर्मा, ज्योति मगर र प्रीति आलेले नृत्य गरेका छन्।

दुर्गा पौडेलको छायांकन र अमृत चापागाईंको सम्पादन रहेको गीत संगीतकार पन्तको नाममा खोलिएको युट्युब च्यानलमा सार्वजनिक भएको हो। गीत र यसको भिडियोलाई दर्शकले निकै रुचाएका छन्। गीतको अडियो र भिडियो दुवैको प्रशंसा भएको छ। संगीतकार पन्तले गीतको भाकामा मौलिकता भेटिने बताए। ‘हाम्रा बाउ–बाजेले गाउने गरेको रोइलालाई अहिलेको चलनचल्ती र श्रृंगारिक शब्द प्रयोग गरेर गीत तयार पारेको छु। गीतलाई पारिवारिक भन्न चाहन्छु’ गीतको म्युजिक भिडियो निर्माणमा ठूलो खर्च लागेको जनाउँदै उनले भने।

दर्शकहरूलाई नयाँ लागोस् भन्नका लागि गीतको भिडियोमा गायक र गायिकालाई अभिनय गराएको उनले बताए। लोक संगीत अहिले अप्ठ्यारो परिस्थितिबाट गुज्रिएका कारण योे गीतले सकारात्मक सन्देश प्रवाह गर्ने उनको विश्वास छ। टिकटकलाई लक्षित गरेर पनि शब्दहरू प्रयोग गरिएकाले गीतलाई दर्शक स्रोताले रुचाएको कस्तुपले बताए।

प्रतिक्रिया दिनुहोस्