हैदराबादद्वारा पन्जाब पराजित



नयाँदिल्ली, (एजेन्सी) । 

जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले पन्जाब किंग्सलाई ९ विकेटले हराएको छ ।टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले १९.४ ओभरमा सबै विकेट गुमाएर १ सय २० रन मात्रै बनाउन सक्यो । यसको जवाफमाहैदराबादले १८.४ ओभरमा १ विकेटको क्षतिमा १ सय २१ रन बनाएर खेल जितेको थियो ।यस १४औं संस्करणको आईपीएलमा हैदराबादको यो पहिलो जितसमेत हो । यसअघि, टिमले लगातार ३ खेलमा हार बेहोरेको थियो । यस्तै, टिमले पन्जाबमाथि १०औं जित समेत थियो । यो जितसँगै हैदराबाद अंकतालिकाको पाँचौं स्थानमा पुगेको छ । पन्जाब भने आठौं स्थानमा झरेको छ ।

हैदराबादका लागि जोनी बेयरस्टोले ५६ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ६३ रन बनाएर नटआउट रहे । यस्तै, केन विलियमसनले १९ बलमा १६ रन बनाएर नटआउट रहेका थिए । हैदराबादका कप्तान डेभिड वार्नर ३७ बलमा ३७ रन जोडेर आउट भएका थिए । वार्नर र बेयरस्टोले पहिलो विकेटका लागि ७३ रन साझेदारी गरेका थिए ।वार्नरलाई फेबियन एलनले मायंक अग्रवालद्वारा क्याच आउट गराएका थिए । यो फेबियनको आईपीएलमा पहिलो विकेट हो । वेस्ट इन्डिजका अलराउन्डर उनी पहिलोपटक आईपीएल खेलिरहेका छन् । यसपछि बेयरस्टो र विलियमसनले दोस्रो विकेटका लागि ५२ बलमा ४८ रनको साझेदारी गरेर जित दिलाएका थिए ।

बेयरस्टोको यो आईपीएल करियरमा सातौं अर्धशतक थियो । यस्तै, जारी सिजनमा उनको दोस्रो अर्धशतक थियो । यसअघिको खेलमा उनले कोलकाताविरुद्ध ५५ रनको इनिङ खेलेका थिए । उनी यस सिजनको आईपीएलअन्तर्गत रन बनाउने सूचीमा तेस्रो स्थानमा छन् । दिल्लीका शिखर धवन पहिलो स्थानमा र रोयल च्यालेन्जर्सका ग्लेन मेक्सवेल दोस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्