न्यु डायमन्ड सेमिफाइनल नजिक



नेपाल समाचारपत्र, काठमाडौं ।

 होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब भोटेकोसी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल नजिक पुगेको छ ।समूह ‘ए’ मा रहेको न्यु डायमन्डले आफ्नो बलियो प्रतिद्वन्द्वी आर्मीमाथी ३–० कोे सोझो जित निकालेपछि सेमिफाइनलको यात्रा सहज बनेको हो । न्यु डायमन्डले बिहीबार कमजोर प्रतिद्वन्द्वी ढोरपाटनसँग अन्तिम लिग खेल खेल्नेछ ।

भोटेकोसी गाउँपालिका वडा नम्बर २ स्थित तातोपानी आधारभूत विद्यालयको खेल मैदानमा उद्घाटन खेलमा डायमन्डले आर्मीमाथी एकपक्षीय खेलमा २५–१४,२५–९ र २५–१४ सहज जित निकाल्यो । आर्मीविरुद्ध उच्च प्रदर्शन गरेकी झरना श्रेष्ठ ‘प्लेयर अफ दि म्याच’ घोषित भइन् । उनले २ हजार रुपैयाँ हात पारिन् ।यस्तै, झरनाको खेलबाट प्रभावित भएर भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले व्यक्तिगत रूपमा ५ हजार रुपैयाँ प्रदान गरे । जितसँगै डायमन्डले गत चैतमा सम्पन्न पाँचौं आरबीबी एनभीए कप भलिबलको लिग चरणमा भोगेको हारको बदला लिन सफल भएको छ । उक्त प्रतियोगितामा डायमन्ड आर्मीसँग ३–२ को सेटमा पराजित भएको थियो । यस्तै, जितसँगै डायमन्डले सेमिफाइनल पुग्ने सम्भावना बलियो समेत बनाएको छ ।

बिहीबार समूह चरणको तीन खेलमा प्रतिस्पर्धा हुँदै छ । पहिलो खेलमा आर्मी र ढोरपाटन, दोस्रो खेलमा पुलिस र एपिएफ तथा अन्तिम खेलमा डायमन्ड र ढोरपाटनबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले ३ लाख, दोस्रो हुनेले २ लाख र तेस्रो हुनेले १ लाख उपाधिसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । चौथो हुने टोलीले ५० हजार प्राप्त पाउनेछ । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले २० हजार प्राप्त गर्नेछन् ।व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सर्भर, डिफेन्स, ब्लकर, सेन्टर र प्रशिक्षकले ७–७ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ले २ हजार पुरस्कार पाउनेछन् । प्रतियोगिता आयोजनाको लागि कुल २८ लाख खर्च हुने अनुमान गरिएको छ । आयोजनाका लागि भोटेकोसी गाउँपालिकाले ५ लाख रुपैयाँ छुट्याएको छ ।

प्रतिक्रिया दिनुहोस्