शेयर बजारमा चाप बढ्यो, बजार सुधारिने क्रममा



नेपाल समाचारपत्र, काठमाडौं ।

शेयर बजारमा लगानीकर्ताको बिक्री चाप बढ्दै गएका बेला नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचकमा गिरावट हुने क्रम पनि बढेको छ । देशमा कोेरोनाको त्रास बढ्दै गएको र लगानीकर्ताले रकम सुरक्षित गर्न थालेका कारण बजारमा बिक्री चाप बढेको एकथरीको भनाइ छ । त्यस्तै अर्कोथरीले पछिल्लोपटक जारी भएका आईपीओ धेरै साना लगानीकर्ताको हातमा पुगेको र साना लगानीकर्ताले थोरै नाफा आउने बित्तिकै बिक्री गर्न थालेकाले बजारमा चाप परेको पनि विश्लेषण गर्दै आएका छन् ।

त्यस्तै बिनाकारण तीव्र गतिमा वृद्धि भएको शेयर बजारमा सुधार आवश्यक रहेकाले पछिल्लो एक साता बजार सुधारिने लयमा रहेको छ । यसलाई स्वभाविक रूपमा लिनुपर्ने पनि एकथरी शेयर विश्लेषकहरू बताउँदै आएका छन् । तर, जेहोस् पछिल्लो एक सातामा नेप्सेपरिसूचक सय अंकभन्दा बढीले घटेको छ । यसैक्रममा बुधबार नेप्से ३२ दशमलव ४१ अंकले घटेर २६३२ दशमलव २० बिन्दुमा झरेको हो ।यस दिन २१४ कम्पनीको १ करोड ३७ लाख ८७ हजार कित्ता शेयर ५ अर्ब ७७ करोड रुपियाँ २२ लाख रुपियाँमा किनबेच भएको छ । कारोबार रकम अघिल्लो कारोबार दिन मंगलबारको तलुनामा २४ करोड रुपियाँले बढी हो। मंगलबार ५ अर्ब ५३ करोड रुपियाँ बराबरको शेयर किनबेच भएको थियो । यस दिन ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव २१ अंकले घटेर ४७३ दशमलव ३९ बिन्दुमा झरेको छ । बुधबार कारोबार रकमको आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक अगाडि रहेको छ । यस बैंकको २५ करोड ४५ लाख रुपियाँभन्दामाथि शेयर कारोबार भएको छ ।

बुधबार म्युचुअल फन्ड समूहको परिसूचक शून्य दशमलव १२ प्रतिशत बढेको छ भने बाँकी सबै समूह घटेका छन् । जसमध्ये विकास बैंक समूहको परिसूचक सर्वाधिक २ दशमलव १ प्रतिशतले घटेको छ । त्यस्तै बैंकिङ समूह १ दशमलव ३६ प्रतिशत, व्यापार समूह शून्य दशमलव शून्य ५ प्रतिशत, होटल तथा पर्यटन समूह शून्य दशमलव ५५ प्रतिशत, जलविद्युत। समूह १ दशमलव १५ प्रतिशत, वित्त समूह १ दशमलव ५९ प्रतिशत, निर्जीवन बीमा समूह १ दशमलव १७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह १ दशमलव ४८ प्रतिशत, अन्य समूह शून्य दशमलव ८७ प्रतिशत, लघुवित्त समूह १ दशमलव शून्य ७ प्रतिशत, जीवन बीमा समूह शून्य दशमलव ८४ प्रतिशत र लगानी कोष समूह १ दशमलव ४२ प्रतिशतले परिसूचक घटेको नेप्सेले जनाएको छ ।

समग्र परिसूचक दोहोरो अंकले घटेको दिन ज्योति लाइफ इन्स्योरेन्ससहितका चार कम्पनीका लगानीकर्ताले भने सर्वाधिक कमाएका छन् । यस दिन ज्योति लाइफ इन्स्योरेन्सको ९ दशमलव ९९ प्रतिशत, महिला लघुवित्तको ९ दशमलव ९६ प्रतिशत, ग्रिन डेभलपमेन्ट बैंकको ९ दशमलव ९० प्रतिशत र हिमाल दोलखा हाइड्रोपावरको ९ दशमलव ८० प्रतिशत शेयरमूल्य बढेको छ । तर, लिवर्टी इनर्जी कम्पनीको शेयरमूल्य भने सर्वाधिक ५ दशमलव १७ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्