मदनकृष्णलाई राष्ट्रिय र निशालाई प्रादेशिक पुरस्कार



सरकारले प्रत्येक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय प्रतिभा पुरस्कार यसपटक ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठलाई प्रदान गर्ने भएको छ। संस्कृति मन्त्रालयका सहसचिव एवं प्रवक्ता तारानाथ अधिकारीद्वारा जारी विज्ञप्तिमा संगीत तथा नाट्य विधातर्फ अभिनेता श्रेष्ठलाई राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिने जनाइएको छ।

त्यसै गरी, यस वर्षको प्रादेशिक प्रतिभा पुरस्कार गायिका निशा देशारलाई प्रदान गरिने भएको छ। प्रादेशिक प्रतिभा पुरस्कारअन्तर्गत वागमती प्रदेश ललितपुरबाट संगीततर्फको पुरस्कार गायिका देशारलाई प्रदान गरिन लागेको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार सार्वजनिक गरिएको हो।सरकारद्वारा गठित विधागत छनोट समितिले २०७७ अन्तर्गत राष्ट्रिय तथा प्रादेशिक, महाकवि देवकोटा, भगत सर्वजित मानव मर्यादा र गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार सूचीसमेत सार्वजनिक गरेको छ। संगीत तथा नाट्य विधाकै प्रादेशिक प्रतिभा पुरस्कार जितबहादुर राई (मोरङ), नवीनकुमार मिश्र (रौतहट), कनमाया गुरुङ (लमजुङ), बद्री पंगेनी (पाल्पा), सुनबहादुृर मल्ल(मुगु) र डिक्रा वादी (बाजुरा) लाई प्रदान गरिने भएको छ।

त्यस्तै, संस्कृति विधातर्फको राष्ट्रिय प्रतिभा पुरस्कार प्राडा कैलाशनाग प्याकुरेल काठमाडौं लाई प्रदान गरिने भएको छ। यही विधाको प्रादेशिक प्रतिभा पुरस्कार शेरबहादुर इङनाम पापो लिम्बु तेह्रथुम, डा. वासुदेवलाल दास (सर्लाही), श्यामसुन्दर राजवंशी (काठमाडौं), शुक्रराज अधिकारी (कास्की), वसन्तकुमार विडारी (रुपन्देही), प्रा.डा. केबी आचार्य थापा (सुर्खेत) र दिव्यश्वरी जोशी (डोटी) लाई प्रदान गरिने भएको छ। त्यसै गरी, ललितकला राष्ट्रिय प्रतिभा पुरस्कारका लागि काठमाडौंका हरिप्रसाद शर्मा छनोटमा परेका छन्। ललितकला प्रादेशिक प्रतिभा पुरस्कार श्रीकृष्ण जोशी (धनकुटा), मुकेश महतो नुनियाँ (पर्सा), सरिता डंगोल (ललितपुर), देवेन्द्र थुम्केली (स्याङ्जा), केशवराज खनाल (रुपन्देही), सोनाम लामा (जुम्ला) र जितबहादुर आउजी कैलालीलाई दिइने भएको छ। गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार क्रमशः प्राडा देवीप्रसाद सुवेदी (लमजुङ) र काठमाडौंका स्नेह सायमी रामकृष्ण मानन्धर लाई प्रदान गरिने भएको छ।

 

प्रतिक्रिया दिनुहोस्