बागमती प्रदेश सरकारले शुरु ग-यो द्वन्द्व प्रभावित ब्यक्ति तथा परिवारलाई सहायता कार्यक्रम



मोतीराम तिमल्सिना, काभ्रे ।

बागमती प्रदेश सरकारले द्वन्द्व प्रभावित परिवारलाई सहायता गर्ने दोश्रो पटक आब्हान गरेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेटमा भएको ब्यवस्था अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सहायताका लागि द्वन्द्व प्रभावित परिवारलाई आब्हान गरेको हो ।

संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका सबै किसिमका राजनीतिक आन्दोलनहरुमा जीवन उत्सर्ग गर्ने शहिद, मृतक, बेपत्ता परिवार, घाईते तथा अपाङ्गता भएका ब्यक्ति एवं परिवारलाई स्वास्थ्य, शीप विकास तथा क्षमता अभिबृद्धी र रोजगारी लगायतका कार्यक्रममा सहयोग गर्ने उदेश्यले द्वन्द्व प्रभावित परिवारलाई सहायता गर्ने सम्वन्धी कार्यविधि २०७७ तयार गरिएको छ ।

विगत वर्षहरुमा बागमती प्रदेश सरकारबाट यस बमोजिमको सहायता रकम नलिएका द्वन्द्व प्रभािवत ब्यक्ति र परिवारका सदस्यहरुले कुनै एक शीर्षकमा सहायता प्राप्तिका लागि आवश्यक कागजात सहित बैशाख १५ गते भित्र स्थानीय तहमा आवेदन दिन सक्ने ब्यवस्था गरिएको छ । उक्त परिवार तथा ब्यक्तिका लागि औषधि उपचार, शीप विकास र स्वरोजगार मूलक ब्यवसायका लागि सहायता लिन सक्ने ब्यवस्था गरिएको छ ।

औषधि उपचारका लागि ३० हजारसम्म सहायता उपलब्ध हुनेछ । अस्पतालमा भर्ना भई उपचार गराउँदा परीक्षण तथा औषधी खर्चका अतिरिक्त ७ दिनसम्म खाना खर्च बापत विरामी र एक जना कुरुवाका लागि प्रति ब्यक्ति प्रति दिन ५ सयका दरले खर्च उपलब्ध हुनेछ । सहायता माग गर्ने ब्यक्ति अपाङ्ग भई दीर्घकालसम्म कृतिम सहारा लिनु पर्ने भएका ब्यक्तिहरुले थप सहायता रकम माग गरे उनिहरुको दैनिक जीवनलाई सरल र सहज बनाउन त्यस्ता आवश्यक सहयोगी सामाग्रीको लागि सहायता बाहेक थप विल बमोजिम १० हजार मा नबढ्ने गरी सहयोग रकम उपलब्ध गराउन सकिन्छ ।

शीप विकास तालिमको हमा घरेलु तथा साना उद्योग कार्यालय वा प्राविधिक शिक्षा तथा ब्यवसायीक तालिम परिषद् सिटिईभिटीबाट मान्यताप्राप्त संस्थाबाट २०७७/२०७८ भित्र १५ दिनको तालिम लिएको प्रमाणपत्रको प्रतिलिपि पेश गरेमा २० हजार उपलब्ध हुनेछ । २१ दिन भन्दा माथीको तालिम उपलब्ध गरेको भएमा ३० हजारसम्म उपलब्ध हुनेछ ।

स्वरोजगार ब्यवसायको हकमा आवश्यक सीपको प्रमाणपत्र, ब्यवसाय दर्ता प्रमाणपत्र, स्थानीय तहको सिफारिस र ब्यवसायमा लगानीको कार्ययोजना पेश गरेकोमा ५० हजारसम्म विउ पूँजीका रुपमा उपलब्ध गराउने ब्यवस्था गरेको छ । सहयातका लागि स्थानीय पालिकाहरुमा निवेदन दिन सकिने ब्यवस्था गरेको छ । मुख्यमन्त्री डोरमणी पौडेलले द्वन्द्व पीडित ब्यक्ति स्वंय र परिवारका लागि उक्त सहयोग रकमले केहि राहत मिल्ने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्