स्थानीय प्रहरीकै सेटिङमा सीमा नाकाबाट अवैध सरसामान नेपाल भित्रिँदै



न्युज अफ नेपाल, भद्रपुर ।

स्थानीय प्रहरीकै सेटिङमा सीमा नाकाबाट अवैध सरसामान भन्सार छलेर नेपाल भित्रिने गरेको पाइएको छ । दोस्रो लहरको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गृहदेखि स्थानीय प्रशासनसम्मले सीमा नाकामा कडाई गर्न सीमामा तैनाथ सशस्त्र र नेपाल प्रहरीलाई निर्देशन दिएको छ । तर, सो निर्देशनको विपरीत सीमा नाकामा तैनाथ प्रहरीकै सेटिङमा अवैध कारोबार हुने गरेको पाइएको छ ।

स्थानीय प्रहरीले सरसामान बरामद गर्न छाडेपछि जिल्लाबाट खटिएका सादा पोशाकका प्रहरीले दैनिक सरसामान बरामद गर्न थालेपछि यस्तो घटना बाहिरीएको हो । प्रहरी कार्यालय झापाबाट खटिएका सादा पोशाकका प्रहरी टोलीले सोमबार राती भद्रपुर ३ स्थित १०३/३ नजिकैको सीमा पिलर नजिकैबाट डेढ लाख मुल्य बराबरको मोटरपार्टस बरामद गरेको छ । दुई वटा साइकलमा हालेर नेपाल भित्राइएको कार्टुनमा ट्याक्टरको पार्टस रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले बरामद गरेको सामान भद्रपुर भन्सार कार्यालय बुझाइसकेको जनाइएको छ । सो सामान भारतीय कारोबारी ओकिल मियाँले भद्रपुरका कारोबारी यमका लागि ल्याएको प्रहरी स्रोतको भनाई छ ।

प्रहरीले यसअघि पनि सोही नाकाबाट भन्सार छलेर नेपाल भित्राइएको ८ पोका लत्तापकडा बरामद गरेको थियो । भद्रपुर ३ स्थित झोलुङ पुल नजिकैबाट बरामद गरिएको कपडामा कुर्ता र कुर्ती थियो । सादा पोशाकका प्रहरीले सो नाकाबाट पटक–पटक सामान बरामद गर्दा समेत स्थानीय प्रहरी रमिते बनेको छ । त्यस नाकामा एउटा सशस्त्रको विओपी र दुई वटा प्रहरी चौकी पर्छ ।

महेशपुर प्रहरी चौकी इञ्चार्ज असई भुपराज अधिकारी, मेचीपारि प्रहरी चौकी इञ्चार्ज प्रेम श्रेष्ठ र सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट महेशपुरका इञ्चार्ज सई युवराज राउतको जिम्मेबारी हो । महेशपुर बिओपी पृथ्वीनगर बिओपी अन्तरगत पर्छ । पृथ्वीनगर बिओपीका इञ्चार्ज प्रहरी निरीक्षक अशोक न्यौपाने हो । यति हुँदाहुँदै सो नाकाबाट सरसामान भन्सार छलेर भित्रिनुु स्थानीय प्रहरीको मिलोमतो प्रष्ट देखिन्छ । स्थानीय एक कारोबारीले भने, ‘यताका सशस्त्र र नेपाल प्रहरीसँग कुनै टेन्सन छैन, यिनीहरु सबैलाई मिलाएका छौं, जिल्लाबाट आउने प्रहरीसँग मात्र डर हो ।’

यता भद्रपुर ३ स्थित १०२/३ नम्बर सीमा पिलरबाट पनि दैनिक रुपमा साइकलका साइकल खाद्यन्न, चिनी, दाल, तेल, घरायशी सामान, मोटरपार्टस, भाडावर्तन, कस्मेटिक सामान भन्सार छलेर भित्रिरहेको छ । भद्रपुरको डाँगीबारी–गलगलियाको भक्सरभिट्टा नाकाबाट रातदिन दर्जनौ साइकलमा ती सामान भद्रपुर बजारसम्म ल्याउने गरिन्छ । साइकल व्यापारी त्यस वापत स्थानीय प्रहरीलाई रकम छुट्टाउने गरेको एक कारोबारी स्रोतको दावी छ ।

उता प्रहरी कार्यालय झापाबाट खटिएका सादा पोशाकको प्रहरी टोली कचनकवल १ स्थित केचना नाकाबाट भन्सार छलेर भित्राइएको दुई लाख बढीको सामान मंगलबार बरामद गरेको छ । बरामद गरिएको सामानमा खानेपानी पाईट, मोटरपार्टस, खाद्यन्न, सुर्ती लगायतको सामान रहेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीको जनशक्ति कम भएका कारण सामान अवैध तरिकाले पास हुन सक्ने सशस्त्र प्रहरी बल २ नम्बर गणका गणपति रमेश कुमार पाण्डे बताउँनुहुन्छ । स्थानीय प्रहरी हुदा हुदै जिल्लाबाट खटिएको टोलीले सामान बरामद गरेपछि कर्मचारीमाथि सङ्का उत्पन्न भएको उहाँले बताउँनुभयो । कुनै प्रहरी कर्मचारी कारोवारीसँग मिलेको प्रमाण आएमा तुरुन्त कारबाहीको दायरामा ल्याइने उहाँले दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्