धमाधम राष्ट्रिय परिचयपत्र अभियान : ४८ हजार ९ सय ३५ सहभागी



मोतीराम तिमल्सिना, काभ्रे ।

काभ्रेपलाञ्चोक जिल्लामा ४८ हजार ९ सय ३५ जनाले राष्ट्रिय परिचयपत्रका लागि तस्विर खिचाएका छन् । रोशी, खानीखोला, महाभारत र बेथान्चोक गाउँपालिकामा परिचयपत्रको अभियान सकिएको छ भने भुम्लु र चौरीदेउरालीमा संचालन भईरहेको छ । छिट्टै तेमाल गाउँपालिका र नमोबुद्ध नगरपालिकामा शुरु हुनेछ । मण्डनदेउपुर र पाँचखाल नगरपालिकामा भुम्लु र चौरीदेउरालीमा सकिए लगत्तै अभियान शुरु हुनेछ ।

पालिकाको केन्द्र तथा पालिकाका सबै वडाहरुमा टोली पुगेर राष्ट्रिय परिचयपत्रका लागि तस्विर लिने क्रम जारी छ । जिल्लामा १ लाख ९० हजार ६ सय ६१ नागरिकहरुको परिचयपत्रका लागि तस्विर लिने लक्ष्य राखिएको छ । जिल्ला प्रशासन कार्यालयले संयोजन गरिरहेको राष्ट्रिय परिचयपत्र अभियान यतिखेर भुम्लु र चौरी देउराली गाउँपालिकामा भईरहेको छ ।

भुम्लु गाउँपालिकामा बैशाख दोश्रो सातासम्म टोली रहनेछ । पहिलो सातासम्म ६ हजार ७ सय ६७ जनाले राष्ट्रिय परिचयपत्रका लागि तस्विर खिचाएका छन् । चौरीदेउराली गाउँपालिकामा शुरु भएको केहि दिन मात्रै भएको छ । एउटा पालिकामा १५ दिन टोली रहनेछ । तीन दिनमा गाउँपालिकाका विभिन्न वडाहरुमा १ हजार ५ सय ७९ जना नागरिकले तस्विर खिचाएका छन् ।

जिल्लामा पहिलो पटक रोशी गाउँपालिकामा अभियान शुरु गरिएको थियो । रोशी गाउँपालिकामा २०७७ फागुन ६ गते शुरु भएको अभियानमा १२ हजार ७ सय ६९ जनाले तस्विर खिचाएका छन् । १३ हजार ८ सय ३९ लक्ष्य राखिएकोमा केहि प्रतिशत मात्रै नपुगेको कार्यालयले जानकारी दिएको छ । उक्त पालिकामा १९ हजार ७ सय ६१ मतदाता रहेका छन् । मतदाता हुन योग्य ब्यक्तिले परिचयपत्रका लागि तस्विर खिचाउन सक्ने सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले बताउनु भयो ।

त्यस्तै खानीखोला गाउँपालिकामा ७ हजार ९ सय ५३ मतदाता रहेका छन् । ५ हजार ३ सय ७० लक्ष्य राखेकोमा ४ हजार ९ सय ६८ जनाले तस्विर खिचाएका छन् । त्यस्तै महाभारत गाउँपालिकामा १० हजार ५ सय ३४ मतदाता रहेका छन् । ७ हजार ३ सय ७७ जनाको लक्ष्य राखिएकोमा ७ हजार ६ सय ८९ जनाले तस्विर खिचाएका छन् । लक्ष्य भन्दा धेरै ब्यक्तिहरुले तस्विर खिचाएको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिनु भयो ।

त्यस्तै बेथान्चोक गाउँपालिकामा १३ हजार ४ सय ६ मतदाता रहेकोमा ९ हजार ३ सय ८९ जनाको तस्विर लिने लक्ष्य राखिएको थियो । लक्ष्य भन्दा धेरै १० हजार ९७ जनाको तस्विर खिचिएको कार्यालयले जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालयको दुई स्थानमा ५ हजार ७९ जनाले तस्विर खिचाएका छन् । चालु आर्थिक वर्ष भित्र ६० प्रतिशत काम सम्पन्न गर्ने गरी कार्य भईरहेको सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले बताउनु भयो ।

राष्ट्रिय परिचय पत्र भनेको नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो । नेपाली नागरिकको वैयिक्तक तथा जैविक विवरण सहितको परिचय खुल्ने गरी विद्युतीय प्रणालीबाट तथ्यांक तथा अभिलेख तयार गरी सुरक्षित भण्डारण व्यवस्थापन, उपयोग र नियन्त्रण गर्ने सो तथ्यांकको आधारमा राष्ट्रिय परिचय नम्बर सहितको बहुउपयोगी राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने, व्यक्तिगत घटना जस्तै जन्म, मृत्यु, बसाइसराइ, विवाह, सम्बन्ध विच्छेद आदिको दर्ता तथा अभिलेख व्यवस्थापन लगायत पञ्जिकरण सम्बन्धी काम गर्ने, सामाजिक सुरक्षा भत्ता बितरण सम्बन्धी काम गर्ने, राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीको विकास गरि नागरिकका सूचना था विवरणहरु एकीकृत रुपमा राख्ने र यसलाई राज्यबाट उपलब्ध हुने सेवा सुविधामा आवद्व गर्ने योजना रहेको छ ।

परिचयपत्रमा यक्तिगत विवरणहरू (नाम, थर, जन्म मिति, लिङ्ग, आमाबुबाको नाम, ठेगाना, नागरिकताको किसिम, पति/पत्नी नाम, बाजेको नाम), औंला–छाप (१० वटा औंला), आखाँको नानी, परिचय नम्बर, फोटो, राष्ट्रियता, हस्ताक्षर, चिप्स प्रयोग हुनेछन् । १६ वर्ष उमेर पुरा भएको, नेपाली नागरिकताको प्रमाण– पत्र लिएको, परिचयपत्र प्राप्त गर्न योग्य व्यक्तिले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले तोकेको निकाय वा अधिकारी समक्ष तोकिए बमोजिमको ढाँचामा निवेदन दिनु पर्छ । निवेदन दिँदा परिचयपत्र प्राप्त गर्न चाहने व्यक्तिले वा विभागले तोकेको निकाय वा अधिकारीलाई डिजिटल तस्विर, दुवै हातका १० औलाको रेखा सहितको डिजिटल ल्याप्चे छाप, हस्ताक्षर लगायतका व्यैक्तिक तथा जैविक विवरण उपलब्ध गराउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्