बरिष्ठ कलाकार मदनकृष्णको परिवारलाई ‘गुर्जाे’



मोतीराम तिमल्सिना, काभ्रे ।

बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको परिवारलाई कोरोना संक्रमण देखिए लगत्तै स्वास्थ्य लाभको कामना गर्ने तथा स्वास्थ्य सुधारका लागि घरमै पुग्नेहरु मध्ये एक हुन् आन्तरिक राजश्व कार्यालय धुलिखेलका प्रमुख कमलबहादुर राजलवट । गुर्जाे अभियानमा सक्रिय हुनु भएका कमलबहादुर राजलवटले मदनकृष्ण श्रेष्ठको परिवारलाई कोरोना संक्रमणबाट छिटो निको हुन घरमै पुगेर गुर्जाे चिया खुवाउनुका साथै नियमित गुर्जाे सेवनका लागि निशुल्क गुर्जाे उपलब्ध गराउनु भएको छ । गुर्जाेको सेवन सहित योगाभ्यास र स्वस्थ रहन केहि टिप्स समेत उपलब्ध गराउँदै आउनु भएका कमलबहादुर राजलवटको अभियान नै गुर्जाेको नियमित सेवन गराउनु हो ।

मदन कृष्ण श्रेष्ठको परिवारका पाँच जना सदस्यहरु नै कोरोना पोजिटिभ देखिएपछि गुर्जाे चिया र गुर्जाे सहितको धुलो औषधी उपलब्ध गराएको आन्तरिक राजश्व कार्यालय काभ्रेका प्रमुख कमलबहादुर राजलवटले बताउनु भयो । सोहि अवसरमा श्रेष्ठलाई अक्सिजन बढाउन तथा फोक्सोलाई बलियो बनाउन सहयोग हुने खालको प्रणायम पनि गराएको उहाँले बताउनु भयो ।

मदनकृष्ण श्रेष्ठका छोरा यमन श्रेष्ठलाई भ्राष्त्रिका प्रणायम गराएको राजलवटले बताउनु भयो । ललितपूर जिल्लाको सुनाकोठी स्थित श्रेष्ठ निवासमै गएर सेवा उपलब्ध गराएको उहाँले बताउनु भयो । सेवाका लागि कमलबहादुर राजलवट र उहाँका दाइ रमेशबहादुर राजलवट तथा भतिज रणदिप राजलवटको सहभागिता रहेको थियो ।

मदनकृष्ण श्रेष्ठलाई भेट्दा एकदमै त्रासको बातावरण रहेको, निराश जस्तो देखिनु भएको राजलवटले बताउनु भयो । गुर्जाे चिया र धुलो औषधी सेवन पश्चात श्रेष्ठ सहित परिवारका सदस्यहरुमा खुशी आएको र फुर्तिलो महशुस भएको राजलवटले बताउनु भयो । कोरोना संक्रमतिहरुलाई परामर्श तथा उच्च मनोबलका लागि आवश्यक वातावरण तयार गर्नु महत्वपूर्ण रहेको उहाँले बताउनु भयो ।

गुर्जाे अभियानमा राजश्व प्रमुख

हरेक कार्यक्रममा आन्तरिक राजश्व कार्यालय काभ्रेका प्रमुख कमलबहादुर राजलवट गुर्जाेको चिया बोक्दै सहभागिहरुलाई वितरण गर्नु हुन्छ । आन्तरिक राजश्व कार्यालयले आयोजना गरेका कार्यक्रमहरुमा होस अथार्त जिल्ला र जिल्ला बाहिर उहाँलाई जानकारी प्राप्त कार्यक्रमहरुमा राजलवट आफै चिया बोकेर वितरण गर्न पुग्नु हुन्छ । कार्यालयमा प्रवेश गरेका सबै सेवाग्रहिहरुलाई कार्यालयमै चिया पकाएर खुवाएर मात्रै पठाउनु हुन्छ ।

गुर्जाेले नागरिकहरुको स्वास्थ्यमा पार्ने प्रभावका साथै त्यसको प्रयोगका बारेमा राजलवटले कार्यक्रममा करका विषयसँग जोडेर जानकारी गराउँदै आउनु भएको छ । उहाँको अभियानलाई जिल्लाका विभिन्न संघ संस्था तथा सामाजिक अभियान्ताहरुले साथ दिएका छन् । आन्तरिक राजश्व कार्यालय काभ्रेको प्रमुख कमलबहादुर राजलवटको अभियान जिल्लामा मात्रै नभई देशका विभिन्न भागमा सक्रिय छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, सरकारका मन्त्रीहरु, कर्मचारीहरु, योग गुरु तथा स्वामीहरु, अस्पतालमा उपचारार्थ विरामीहरु, कोरोनाको समयमा संक्रमित ब्यक्तिहरु, आईसोलेसन तथा क्वारेन्टाईनमा रहेका विरामीहरुलाई राजलवटले गुर्जाेको चिया सेवन गराउनु भएको छ । गुर्जाे सहितको धुलो औषधी तथा गुर्जाेको चिया प्याकेट राजलवटले निशुल्क वितरण गरिरहनु भएको छ ।

शरिरमा हुने हरेक खालका रोगहरुसँग लड्न सक्ने शक्ति प्रदान गर्ने गुर्जाेको महत्व, प्रयोग गर्ने तरिका र त्यसका फाईदाका बारेमा राजलवटले कार्यालयमा आउने सेवाग्रहिलाई समेत बुझाउँदै आउनु भएको छ । जहाँ राजलवटल त्यहाँ गुर्जाेको चिया सेवन गर्न पाईनेछ । आन्तरिक राजश्व कार्यालयले प्रदान गर्ने सेवालाई अझै प्रभावकारी बनाउँदै राजलवटले नागरिकहरुको जीवन स्वस्थ बनाउन पहल गरिरहनु भएको छ ।

करका विषयमा रहेका दुविधाहरूलाई चिर्दै करदातालाई छिटो छरितो तरिकाले सेवा प्रवाह गर्ने प्रणालीलाई अझै सुदृढ गर्दै लैजाने र आवश्यक परे कर सम्वन्धी तालिमहरू प्रदान गर्ने प्रतिवद्धता आन्तरिक राजश्व कार्यालय काभ्रेका प्रमुख कर अधिकृत कमलबहादुर राजलवटले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्