शान्ति सेनाको स्वास्थ्य सुरक्षा प्रत्याभूतिमा जोड



काठमाडौं, (नेस) । 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा नेपाली शान्ति सेनाको योगदान महत्वपूर्ण रहेको भन्दै महामारीका समयमा शान्ति सेनाको स्वास्थ्य सुरक्षा प्रत्याभूति गरिनुपर्नेमा जोड दिनुभएको छ ।

कन्सोर्टियम अफ साउथ एसियन थिंक ट्यांक्सले राजधानीमा आयोजना गरेको राष्ट्रसंघीय शान्ति सेनामा नेपालको योगदान विषयक कार्यशालाको उद्घाटन गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले यस्तो आवश्यक्ता औंल्याउनुभएको हो । उहाँले कोरोनाको महामारीको बेलामा द्वन्द्वग्रस्त क्षेत्रमा खटिने शान्ति सेनाको मनोबललाई उच्च राख्न र कार्यस्थलमा स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिनु आवश्यक भएको बताउनुभयो ।कार्यक्रममा सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डेले राष्ट्रसंघीय शान्ति सेनामा नेपालका सेना मात्रै नभई प्रहरी, सशस्त्र प्रहरीको उल्लेख्य योगदानका साथै नेपालको परराष्ट्र मन्त्रालयको संलग्ना रहेको जिकिर गर्दै विद्यालय तथा उच्च शिक्षामा समेत विश्व शान्ति सुरक्षालाई पाठ्यक्रममै समावेश गरिनुपर्ने धारणा राख्नुभयो ।

सेन्टर फर साउथ एसियन स्टडिजकै अर्का निर्देशक प्रा.सी. राजा मोहनले पनि शान्ति सेनामा नेपालको योगदान निकै महत्वपूर्ण भए पनि दुर्भाग्यवश नेपालको योगदानको उचित कदर हुन नसकेको बताउनुभयो ।सन् १९५५ मा राष्ट्रसंघको सदस्यता लिएको नेपालले सन् १९५८ देखि नै शान्ति सेनामा सहभागिता जनाएको हो । नेपाली शान्ति सेनाले अहिलेसम्म लेबनान, इराक, माली, दक्षिण सुडान र कंगोलगायतका राष्ट्रका ४० भन्दा बढी द्वन्द्वग्रस्त क्षेत्र सेवा प्रदान गरिसकेको छ । वर्तमान अवस्थामा पनि केही महिला सैनिकसहित नेपालका ५ हजारभन्दा बढीको संख्यामा शान्ति सेनाका रूपमा द्वन्द्वग्रस्त क्षेत्रमा खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्