फेशन डिजाईन तथा सिलाई तालिम सम्पन्न



न्युज अफ नेपाल, ललितपुर ।

ललितपुर महानगरपालिका– १६ वडा कार्यालयको आयोजना र गर्जियस इन्ष्टिच्यूसन अफ फेशन टेक्नोलोजी (गिफ्ट) को संयोजनमा सञ्चालित फेसन डिजाईन तथा सिलाई तालिम मंगलबार समापन गरियो ।

सो तालिम तीन महिनासम्म सञ्चालन गरिएको हो । बजारको चाहना र माग अनुसार नयाँ नयाँ डिजाईनका पहिरन तयारमा महिलाहरुलाई दक्ष बनाउने उद्देश्यले सो तालिम आयोजना गरेको १६ वडाका वडाअध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो । ‘सीप सिकेर महिलाहरु आत्मनिर्भर र सिलाईमा अझ दक्ष बनोस् भनेर तालिम सञ्चालन गरेका हौं ।’ वडाअध्यक्ष शाक्यले भन्नुभयो ।

सो तालिममा सिलाई सम्बन्धी आधारभुत ज्ञान र सीप भएका ३० जना महिला सहभागी भएका थिए । सहभागीहरुलाई बजारमा चलनचल्तीमा रहेका फेशन डिजाईनसंगै नेपालको सांस्कृतिक पहिचान झल्काउने लुगाहरु पनि विभिन्न डिजाईन अनुरुप सिलाउन सक्ने ज्ञान र सीप सिकाइएको टेक्नोलोजीका निर्देशक शोभा महर्जनले बताउनुभयो ।

‘विदेशी रहनसहन र फेशन डिजाईनप्रति आधुनिक पुस्ता धेरै आकर्षित भएकोले कतै नेपालका सांस्कृतिक पोशाक झन् झन् अतिक्रमण हुँदै जाने त होइन भन्ने चिन्ता थपिएको छ । यस्तो अवस्थामा विभिन्न जातजातिमा प्रचलित लुगाहरु पनि नयाँ नयाँ डिजाईन गरेर लगाउन सकिन्छ ।  तालिमले दिन खोजेको सन्देश यही हो ।’ निर्देशक महर्जनले भन्नुभयो ।

तालिमका प्रशिक्षकहरु लेजिना महर्जन र रविका महर्जन रहनुभएको छ । सन् २०११ मा स्थापना भएको सो टेक्नोलोजीले आधुनिक तथा परम्परागत भेषभुषाका विभिन्न डिजाइनहरु तयार गर्दै आएको छ । यसै गरी सो टेक्नोलोजीले थुप्रै म्युजिक भिडियोका लागि पहिरन डिजाईन गरिसकेको छ भने विभिन्न सांस्कृतिक कार्यक्रम र फेशन डिजाईनका कार्यक्रमहरु लागि पनि आधुनिक तथा परम्परागत भेषभुषा डिजाईन गर्ने काम गर्दै आइरहेको टेक्नोलोजीले जनाएको छ ।तालिमको कीर्तिपुरस्थित जलविनायकमा आयोजित एक समारोहकाबीच समापन गरियो । सो अवसरमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्