डाबर नेपालको रियल जुसमा अखाद्य वस्तु



काठमाडौं ।

नेपालमा सञ्चालित भारतीय कम्पनी डाबर नेपालद्वारा उत्पादित रियल जुसमा अखाद्य वस्तु भेटिएको छ । डाबरको रियल फ्रुट पावर लेखिएको पोमिग्रेनेट नामक एक लिटरको जुसमा यस्तो अखाद्य पदार्थ भेटिएको हो । काठमाडौंको अनामनगरस्थित बिगमार्ट प्रालिबाट बिक्री भएका डाबर जुसका अधिकांश प्याकेटमा यस्ता अखाद्य पदार्थ भेटिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बिगमार्टमा छापा मारेर ती जुसका प्याकेट नियन्त्रणमा लिएको छ ।

सोमबार दिउँसो करिब ४ बजेतिर विभागका अधिकारीले बिगमार्टमा छापा मारेका हुन् । अनामनगर निवासी २७ वर्षीया एक गर्भवती महिलाले केही दिनअघि बिगमार्टबाट उक्त जुस खरिद गरेकी थिइन् । जुस सेवन गरेपछि उनले अत्यन्तै बान्ता गरेकी थिइन् । केही दिनमा फेरि सोही जुस पिउन भन्दै बोटलबाट गिलासमा खन्याउने क्रममा बट्टामा हल्लिएजस्तो आवाज आएको र बट्टा चक्कुले चिरेर हेर्दा त्यसभित्र अखाद्य वस्तु फेला परेपछि विभागमा उजुरी परेको थियो । विभागले उजुरीको आधारमा बिगमार्टमा छापा मारेको हो ।

‘जुस पिएपछि असाध्यै बान्ता भयो । केही दिन त मलाई यो जुसप्रति कुनै शंका थिएन । जब मैले अर्को पटक सोही जुस पिउनका लागि बोटलबाट गिलासमा खन्याएँ, तब बट्टाभित्र केही हल्लिएजस्तो आवाज आयो’, ती महिलाले आर्थिक दैनिकसँग भनिन्, ‘बट्टाभित्र के छ भन्ने लागेपछि मैले चक्कुले चिरेर हेरेँ । त्योभित्र मानिसको पेटमा रहेको बच्चाजस्तो वस्तु देखेपछि विभिन्न निकायलाई खबर गरेँ ।’

 

प्रतिक्रिया दिनुहोस्