आडजोनले ग-यो पत्रकार महासंघमा निर्वाचित दलित पत्रकारलाई सम्मान



न्युज अफ नेपाल, काठमाडौं ।

क्रियाशील दलित पत्रकार संघ नेपाल (आडजोन)ले नेपाल पत्रकार महासंघको केन्द्रीय समितिमा दलित समुदायका तर्फबाट निर्वाचित पदाधिकारीलाई सम्मान गरेको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच महासंघको केन्द्रीय समितिमा निर्वाचित पदाधिकारीलाई सम्मान गरेको हो । कार्यक्रममा महासंघका नवनियुक्त केन्द्रीय सचिव हेमकर्ण बिक, सदस्यहरु प्रकाश धौलाकोटी, सरीता बराईली, राधा नेपाली लगायतलाई बधाई तथा सम्मान ज्ञापन गरिएको थियो ।

बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य सूचना तथा सञ्चार विभाग प्रमुख प्रकाशचन्द्र परियारले नव नियुक्त पदाधिकारीलाई बधाई दिँदै दलित समुदायका पत्रकार र सिंगो समुदायका पक्षमा आवाज उठाउन आग्रह गरे । उनले प्रेस काउन्सिलले धेरैै पक्ष समेटेर पुरस्कार दिए पनि दलित समुदायका पत्रकार लक्षित पुरस्कारको व्यवस्था नगरेको भन्दै यसको पहल कदमी लिनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै युवा नेता प्रकाशचन्द्र परियार

महासंघको पूर्व केन्द्रीय सदस्य समेत रहेका परियारले आफूहरुको कार्यकालमा निकै चुनौती खेपेर दलित समुदायका पत्रकारको हितमा लड्नु परेको भन्दै महासंघमा दलित पत्रकारहरुको उपस्थिति बढाउन जरुरी रहेको बताए । उनले महासंघ पदाधिकारीलाई प्रत्येक बैठकमा अनिवार्य उपस्थिति हुन पनि आग्रह गरे ।

कार्यक्रममा बोल्दै आडजोनका अध्यक्ष पवित्रा सुनारले पत्रकारका पीडा पत्रकारले नै बुझ्न सक्ने भएकाले क्रियाशील पत्रकारको महासंघमा उपस्थितिले खुशी लागेको बताइन् । पत्रकार महासंघका हरेक कदममा क्रियाशील दलित पत्रकार संघ साथ र सहकार्यका लागि तयार पनि रहेको अध्यक्ष सुनारको भनाई थियो ।

कार्यक्रममा बाेल्दै आडजोन अध्यक्ष पवित्रा सुनार

यस्तै कार्यक्रममा आफ्ना धारणा राख्दै नवनियुक्त पदाधिकारीहरुले दलित समुदायका पत्रकारका विषयमा सधैँ आवाज उठाउने प्रतिबद्धता जनाएका थिए । साथै उनीहरुले सदैव सुझाव सल्लाहको अपेक्षा समेत गरेको बताए । कार्यक्रममा क्रियाशील दलित पत्रकार संघका विभिन्न पदाधिकारीको समेत उपस्थिति रहेको थियो ।  कार्यक्रमको संचालन आडजोन उपत्यकाका उपाध्यक्ष एलबी विश्वकर्माले गरेको थिए । भने आडजोन केन्द्रीय उपाध्यक्ष केशव भूलले स्वागत मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्