कोरोनाको दोश्रो कहर: फेरि हटस्पट बन्दै वीरगन्ज



कृष्णउदास खनाल ,वीरगन्ज । 

वीरगन्जमा फेरि थप एक संक्रमित पुरुषको मृत्यु भएको छ । वीरगन्जको गण्डक स्थित नारायणी बयोधा अस्पतालमा १० दिन देखि उपचाररत वीरगन्ज महानगरपालिका वडा नम्बर १४ का ५७ वर्षीय पुरुषको मृत्यु भएको हो ।यही चैत २९ गते स्वास्थ्यमा समस्या भएपछि उनलाइ नारायणी बयोधा अस्पतालमा भर्ना गरिएको थियो ।

मुटुका रोगी रहेका ती पुरुषको त्यहि दिन स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि नारायणी बयोधा अस्पतालमै उनको उपचार चलिरहेका बेला मंगलबार बिहान पौने १ बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो । ती पुरुष भारतको दिल्लीबाट आएको बुझिएको अस्पताल प्रशासनले जनाएको छ । कोरोनाको दोश्रो लहर शुरु भए यता वीरगन्जमा ६ जना संक्रमितको मृत्यु भइसकेको छ । वीरगन्जको नारायणी अस्पतालमा ४ जना र नारायणी बयोधा अस्पतालमा २ जनाको मृत्यु भएको डाक्टर दासले बताउनुभयो । मृत्यु हुने ६ जनामा पर्साका ५ जना र बाराका १ जना हुन् ।

यसैबीच वीरगन्जमा सोमबार बेलुकी थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा सोमबार बेलुकी १४१ जनाको स्वाब नमूना परिक्षण गर्दा ७८ जनामा संक्रमण भेटिएको अस्पतालका कोभिड कोर्डिनेटेर डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो । ७८ संक्रमित मध्ये पर्सा जिल्लाको मात्रै ६२ जना छन् । ती मध्ये वीरगन्ज महानगरपालिकाको मात्रै ५२ जना संक्रमित रहेको डाक्टर दासले जानकारी दिनुभयो । पर्सा जिल्लाकै पर्सागढी नगरपालिकाका ३ जना , ठोरी र पकाहामैनपुर गाँउपालिकाका २-२ जना तथा विन्दवासीनी , सखुवा प्रसौनी र कालीकामाइ गाँउपालिकाका १-१ जनामा पनि संक्रमण भेटिएको हो । यस्तै बारा जिल्लाका १२ जना , सर्लाही जिल्लाका २ जना तथा बाँके र काठमाण्र्डौका १-१ जनामा पनि संक्रमण पुष्टि भएको डाक्टर दासले जानकारी दिनुभयो । वीरगन्जको नारायाणी अस्पतालमै आइतवार राति ९६ जनाको परिक्षण गर्दा ६१ जनामा संक्रमण पुष्टि भएको थियो ।

वीरगन्जमा पछिल्लो १० दिनको अवधीमा ३ सय ९० जना नयाँ संक्रमित थपिएका छन् । वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा चैत २७ देखि सोमबार बैशाख ६ गते सम्म ७ सय ६९ जनाको परिक्षण गर्दा ३ सय ९० जनामा संक्रमण भेटिएको हो । वीरगन्जमा पछिल्लो एक हप्ता यता दिनहु हुदै आएको परिक्षणमा जाँच गराएका मध्ये आधा जतिमा कोरोना संक्रमण भेटिने गरेको छ । सोमबार बेलुकीको परिक्षणमा पनि परिक्षण गराएका मध्ये आधा भन्दा बढिमा संक्रमण भेटिएको हो । वीरगन्जमा अहिले ३१ जना संक्रमित अस्पतालमा उपचाररत छन् । नारायणी अस्पतालमा २३ जना र बयोधा अस्पतालमा ८ जना संक्रमित उपचाररत रहेको नारायणी अस्पतालका कोभिड कोर्डिनेटेर डाक्टर दासले जानकारी दिनुभयो । नारायणी अस्पतालमा १७ जना संक्रमित आइसियुमा र ६ जना संक्रमित आइशोलेसन वार्डमा उपचाररत रहेको उहाँले बताउनुभयो । वीरगन्जमा संक्रमण पुष्टि भएका कोरोनाका सामान्य लक्षणका संक्रमितहरुलाइ भने होम आइशोलेसनमा पठाउने गरिएको डाक्टर दासले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्