क्यानडाली विधायक भर्चुअल मिटिङमा नाँगै



ओटावा,(एजेन्सी)

एकजना क्यानाडाली विधायक हाउस अफ कमन्सको भ्रचुअल मिटिङमा सर्वांग नाङ्गै फेला परेका छन् । सन् २०१५ देखि क्युवेक जिल्ला पोन्टियाकबाट प्रतिनिधित्व गर्दै आएका विल्लियम एमोस बुधबार आफ्ना अन्य सहकर्मीविधायकहरूले स्क्रिनमा नाङ्गै देखेका थिए । कोरोना भाइरस महामारीको कारण क्यानाडाका अधिकांश विधायकहरूले भिडियो कन्फरेन्समार्फत संसद् बैठकमा भाग लिँदै आइरहेका छन् ।

क्यानाडाली प्रेसले प्राप्त गरेको स्क्रिनसटमा एमोस डेस्क पछाडि क्युवेक र क्यानाडाको झण्डाबीच नाङ्गै उभिएको देखिन्छ । तर, एउटा हातमा लिइएको उनको मोवाइल फोनले उनको संवेदनशील अंग छेकेर उनको इज्जत जोगाइदिएको देखिन्छ ।इमेलमार्फत पठाइएको एक विज्ञप्तिमा एमोसले भनेका छन्, ‘यो निकै दुर्भाग्यपूर्ण त्रुटि थियो । जगिङ गरेर फर्केपछि मैले कार्यलयमा लगाउने पोशाक लगाउने क्रममा गल्तीवश मेरो फोनको भिडियो अन हुन पुगेको थियो । म हाउस अफ कमन्सका आफ्ना समकक्षी विधायकहरूलाई बिना नियतवश हुन गएको यस घटनाप्रति हार्दिक क्षमायाचना गर्दछु ।

वास्तवमा यो सरासर इमानदारीपूर्ण गल्ती हो , आइन्दा यस्तो गल्ती हुने छैन । ’
विपक्षी राजनीतिक पार्टी ब्लक क्युवेकोइसका विधायिका क्लाउडे डिबेल्लेफिउल्लेले प्रश्नोतर अवधि सकिएपछि यस विषयमा सबैको ध्यान आकर्षण गर्दै पुरुष संसद् सदस्यहरूले ज्याकेट, टाई, सर्ट, अन्डरवियर र ट्राउजर लगाउनुपर्ने सुझाव दिएकी थिइन् । सभामुख एन्थोनी रोटाले उनलाई सुझावका लागि धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्