भारतको राजधानीमा लकडाउन



नयाँदिल्ली, (एजेन्सी) ।

 भारतको राजधानी नयाँदिल्लीले कोरोना भाइरस संक्रमणका घटनाले शहरको स्वास्थ्य स्याहार प्रणाली नै धराशयी बनाउन थालेपछि अन्ततः सोमबार एकसाता लामो लकडाउन गर्ने घोषणा गरेको छ ।

सोमबारदेखि नै लागु हुने भनिएको यस लकडाउन अवधिमा सरकारी कार्यालयहरू र अत्यावश्यक सेवाहरू जस्तैः अस्पताल, फार्मेसी र दैनिक उपभोग्य सामग्रीका पसल भने खुल्ला रहनेछन् । आइतबारमात्र २४ हजार ४ सय ६२ जना नयाँ संक्रमित थपिएपछि सरकारले लकडाउनको कदम चालेको हो ।अप्रिल महिनाको शुरूदेखि भारतमा दोश्रो चरणको डरलाग्दो कोरोना भाइरस महामारी फैलिन थालेको हो । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पत्रकार सम्मेलनमा भनेका छन्, ‘म सधैभरि लकडाउनको विरोधी रहँदै आएको थिए। तर, यस लकडाउनले भने पक्कै पनि अस्पतालमा सैया व्यवस्थापनमा मद्धत पु-याउने छ ।’ केजरीवालले शहरका आप्रवासी कामदारहरूलाई शहर छाडेर नजान पनि अपिल गरेका छन् । गतवर्षको राष्ट्रिय लकडाउनको समयमा बेरोजगार भएर जीविका चलाउन पैसा नभएपछि लाखौं त्यस्ता आप्रवासी दिल्ली छाडेर आ–आफ्ना गाउँमा गएका थिए । उनले ती मजदुहरूलाई यसपालिको लकडाउन अल्पकालीन भएको र सरकारले तिनीहरूको जिम्मेवारी लिने पनि बताएका छन् ।

लकडउनका बेला धार्मिक स्थलहरू खुल्ला नै रहे तापनि भक्तजनलाई भने प्रवेश नगराइने बताइएको छ । साथै वैवाहिक कार्यक्रममा पचास जना र अन्त्येष्टि कार्यक्रममा बीस जनाभन्दा बढी सरिक हुन पाइने छैन । लकडाउनको अवधिभरि मल, सिनेमा, रस्टुरेनट, पब्लिक पार्क, जिम, र स्पा–सेन्टरहरू भने पूर्णतः बन्दै रहनेछन् । त्यसैगरी, सम्पूर्ण सामाजिक, राजनीतिक र धार्मिक भेला प्रतिबन्धित रहनेछन् । खेलेकुद प्रतियोगिताहरू पनि दर्शकको उपस्थिति बिनामात्र आयोजना गर्न पाइने छ । सार्वजनिक यातायातका साधनमा कुल सिट क्षमताको पचास प्रतिशत मात्र प्रयोग गर्न पाइनेछ । परीक्षाका लागि आवश्यक कागजात पेश गर्ने विद्यार्थीहरूलाई भने आवत जावतमा छुट दिइने छ । रेस्टुरेन्टहरूबाट होम डेलिभरी वा टेकअवे सेवा भने सुचारु रहनेछ । यसैगरी, आवश्यक प्रमाणिक कागजात प्रस्तुत गरेको खण्डमा कोभिड १९ को खोप लिन र कोरोना परीक्षणमा जानेहरूलाई पनि हिंडडुलको छुट दिइने छ ।

प्रतिक्रिया दिनुहोस्