सेतो मच्छिन्द्रनाथको जात्रा र हाम्रो संस्कार



प्रेममान डंगोल 

हरेक वर्ष चैत्र शुक्ल अष्टमी चैते दशैंदेखि सेतो मच्छिन्द्रनाथको रथ यात्रा शुरु गरिन्छ । राजा शिवसिंह मल्लद्वारा ने.सं. ७०८ देखि श्री करुणामय सेतो मच्छिन्द्रनाथको मूर्ति भेटिएको स्थान जमलबाट चैत्र शुक्ल अष्टमीका दिन नौतले शिखर शैलीको रथमा मच्छिन्द्रनाथको मूर्ति राखेर रथयात्रा गरिँदै आएको हो । रथयात्राको पहिलो दिन जमलबाट असनसम्म पु¥याइन्छ भने त्यसको भोलिपल्ट असनबाट हनुमान ढोकाअगाडिसम्म रथ तानेर राखिन्छ । त्यसको पनि भोलिपल्ट मच्छिन्द्रनाथको रथ तानेर हनुमान ढोकाबाट लगनसम्म रथ तानेर जात्रा मनाइन्छ ।

रथ लगनमा पुगेपछि त्यहाँ रहेको मच्छिन्द्रनाथकी आमाको मन्दिर र मां सीमा नामक रुखलाई तीनपटक परिक्रमा गराई जात्राको समापन गरिन्छ । मच्छिन्द्रनाथको रथ यात्राको यो अन्तिम दिन लगन टोलमा रथ पु¥याउनेबित्तिकै जीवित देवी कुमारीलाई विमानखट अर्थात् सानो खटमा राखी बोकेर बाजा बजाउँदै ल्याई लगन चोकमा जात्रा देखाउने चलन छ ।
हाम्रो धर्म, संस्कृति, स्वास्थ्य, समाज, स्वर्ग, नर्क, दुर्गति र प्रगतिसँग सम्बन्ध भएको हाम्रा आस्थाका देवता हुन् श्री करुणामय सेतो मच्छिन्द्रनाथ । श्री करुणामयको आफ्नै पनको सेतो टीका हुन्छ । देवतालाई चढाउन ल्याएको चामलमा चोखो जल राखी पिसेर बनाइएको टीका भगवान्को पाउमा चढाउने र सो पाउको टीका अत्यन्तै पवित्र मानिन्छ । यो टीका लगाउनाले शुभ मंगल हुने जनविश्वास छ । यो टीका लगाउन भीमसेनपातीले छुवाएर लिनुपर्छ भनिन्छ ।

श्री करुणामय सेतो मच्छिन्द्रनाथको जल–प्रसादको पनि अत्यन्तै महत्व छ । भगवान्लाई चढाउन ल्याएका पेडा र गाईको दूध मिलाए यो जल–प्रसाद बनाइन्छ । यो जल–प्रसाद पिएमा विभिन्न रोग निको हुन्छ भन्ने विश्वास छ । त्यस्तै माटोको सानो पालामा राखेर चढाउन ल्याएको दहीको प्रसाद रुन्चे लागेका बच्चाहरूलाई पिलाएमा रुन्चे लागेको हराउँछ भन्ने पनि जनविश्वास छ ।कोही मानिस गाह्रो–साह्रो हुने गरी बिरामी भएमा श्री करुणामयको जप–पाठ गराइन्छ । यसमा पञ्चरक्षा, नव्याकरण, प्रज्ञापारमिता आदि पाठ गराइन्छ । यसरी पाठ गराइँदा रोग निको हुने विश्वास छ । दिवंगत भएका आफन्तको नाममा पनि निर्वाण कामना गरेर पाठ गराइन्छ । दुर्गति मोचनका निम्ति गुलुपाःमा चामल र पैसा राखेर गुलुपाः दान गरिन्छ ।आफ्नो परिवारमा कोही बितेको समयमा वा शुभकर्मका लागि पनि सत्व पूजा गराइन्छ । चामल–पानी चढाउने भन्दै पानीका साथै स–साना हजारौ गुलपामा चामल राखेर दान गरिन्छ । कुनै पनि किसिमको भाकल र शुभ पूजा गर्दा श्रद्धापूर्वक यो दान गरिन्छ ।

श्री करुणामय सेतो मच्छिन्द्रनाथलाई अमला र पानी पनि चढाउने गरिन्छ । भगवान्लाई मन पर्ने फलफूलमध्ये अमला पनि हो । स्वास्थ्यका देवताका रूपमा मान्दै आएका मच्छिन्द्रनाथलाई सबैभन्दा मन पर्ने फल अमला भएको कारण यसमा भएको रोग–प्रतिरोधात्मक शक्ति नै हो । अमलामा भिटामिन ‘सी’ हुन्छ ।सेतो मच्छिन्द्रनाथको महास्नान गराएपछि दशकर्म विधिमा गरिने होम वा जग्गेमा पञ्चामृत राखी पकाइने भातलाई धौजा भनिन्छ । धौजा प्रसाद लिने भन्दै यही भातलाई पवित्र प्रसादको रूपमा खाने गरिन्छ । यो प्रसादले आरोग्य लाभ भई स्वास्थ्य राम्रो हुने विश्वास छ । त्यस्तै सिसापालु लिने भन्दै मच्छिन्द्रनाथको दशकर्म विधि सकेर देवता जाग्ने समयमा दिइने सगुनमा रहेको चाकु र अदुवामा नुन र ज्वानो मुछेर बनाई राखेको प्रसाद सिसापालु लिने गरिन्छ ।

मच्छिन्द्रनाथको महास्नानको समयमा दशकर्म विधिअनुसार जन्मोत्सव, विवाह, गुफा राख्ने गरिन्छ । यही सन्दर्भमा देवतालाई थायब्ब (बिहेको बेला खुवाउने ठूलो थालीको भोज) पनि खुवाइन्छ । यही थायब्बको प्रसाद बेल विवाह नगरेका बच्चीलाई खुवाएमा बेल विवाह गर्नुपर्दैन भन्ने जनविश्वास छ । पुत्र नभएकाहरूले मच्छिन्द्रनाथको पिग्वय् प्रसादको रूपमा लिएमा पुत्र जन्म हुन्छ भनिन्छ ।मृत्यु संस्कारमा घरलाई शुद्ध पार्न मच्छिन्द्रनाथको जल छर्कने चलन छ । यसरी जल छर्कंदा साङ्ला, कमिला आदि पर्दैन भनिन्छ । त्यस्तै दिवंगत भएका आफन्त र घर–परिवारका नाममा सिदा दान दिने गरिन्छ । सिदा दान दिँदा दिवंगत भएकालाई निर्वाण प्राप्त हुने विश्वास छ । शुभ मंगल चिताएर आफ्नो र आफ्ना घर–परिवारको सुख, शान्ति र कल्याण होस् भनी दियो बाल्ने गरिन्छ । दियोको ज्वालामा हत्केला सेकेर आँखामा लगाउने गरिन्छ । यसो गर्दा आँखाको रोग निको हुने विश्वास छ ।

बौद्ध परम्पराअनुसार काठमाडौंको केलटोलमा कनक चैत्य महाविहार पुरानो नाम रहेको जनबहालमा मच्छिन्द्रनाथलाई पौष शुक्ल अष्टमीका दिन महास्नान गराइन्छ । मच्छिन्द्रनाथलाई स्नान गराइँदा मूर्तिलाई मन्दिरबाहिर ल्याई मन्दिरअगाडि रहेको डबलीमा सातवटा नाग भएको आसनमा विराजमान गराइन्छ । अनि ६ वटा तामाको घडामा भएको चोखो जलमध्ये दुईजनाले एकैपटक तीनपटक र एउटाले एकपटक मन तातो पानीले स्नान गराइन्छ । स्नान गराइरहँदा पञ्चताल बाजा बजाइरहेको हुन्छ । स्नान गराउनुअघि मच्छिन्द्रनाथको मूल गुरुजुले दश दिशामा बौद्ध परम्पराअनुसार दश दिकपालको पूजा गर्छन् । मच्छिन्द्रनाथको मूर्तिलाई पौष शुक्ल पूर्णिमाका दिन बौद्ध परम्पराअनुसार प्राणप्रतिष्ठा गरी केटा र केटी दुवैलाई गरिने जातकर्म, नामकर्म, अन्नप्रासन, उपनयन, चूडाकर्म, बेलविवाह, गुफा राख्ने आदि दशकर्म गरेपछि मन्दिरको आफ्नै आसनमा राख्न लगिन्छ ।

प्रतिक्रिया दिनुहोस्