कोरोनाको खोप लगाएका मदनकृष्णसँगै परिवारलाई नै संक्रमण



तिप्राप्त हास्यव्यंग्य अभिनेता मदनकृष्ण श्रेष्ठलाई कोरोनाविरुद्धको खोप लिँदालिँदै पनि कोरोना संक्रमण भएको छ। मदनकृष्णले गत माघ २१ गते आफ्नै जोडी अर्का हास्यव्यंग्य अभिनेता हरिवंश आचार्यसँगै कोरोनाविरुद्धको पहिलो डोजको खोप लिएका थिए। उनले दोस्रो डोज भने लिन बाँकी छ।

मदनकृष्णसँगै उनको परिवारलाई नै कोरोना संक्रमण भएको हो। मदनकृष्णले आफ्नै फेसबकमा एक स्ट्याटस लेख्दै आफूसहित परिवारलाई नै कोरोना भएको जानकारी दिएका हुन्। ‘मलगायत मेरो छोरा, छोरी, बुहारी र नातिनी पाँचैजनालाई कोरोना पोजेटिभ देखिएको छ। भइसकेपछि सास्ती चाहिँ हुने रहेछ। त्यसैले यो भाइरसलाई खेलाँची नगर्नुहोला। जति सकिन्छ कोरोनाबाट सतर्क रहनुहोला’, सोमबार नै आफ्नै जन्मदिन मनाइरहेका र असंख्य शुभचिन्तकबाट शुभेच्छा पाइरहेका बेला मदनकृष्णले फेसबुकमा लेखेका छन्– ‘बर्थडे विस गर्नुहुने सबैलाई धेरै–धेरै धन्यबवाद।’

मदनकृष्णका अनुसार सबैभन्दा पहिला उनका कलाकार छोरा यमन श्रेष्ठलाई ज्वरो आएको थियो। त्यसको भोलिपल्ट गायिका छोरी सरिनालाई त्यो समस्या भयो र परीक्षण गर्दा सबैमा कोरोना पोजेटिभ देखियो। ‘पहिले छोरीलाई ज्वरो आयो, भोलिपल्ट छोरीलाई ज्वरो आयो। चेक गरेर हेर्दा शनिबार सबैको रिपोर्ट पोजेटिभ देखियो’, मदनकृष्णले नेपाल समाचरपत्रसँग कुरा गर्दै भने– ‘तर, सबैको स्वास्थ्य अवस्था ठिकै छ। सबैलाई कोरोना पोजेटिभ भएकाले सबैजना सँगै बसिरहेका छौं।’ मदनकृष्ण र उनको परिवारलाई कोरोना पोजेटिभ भएपछि शुभचिन्तकहरूलाई स्वास्थ्यलाभको कामना गरिरहेका छन्। यसअघि सोमबार नै जन्मदिनको प्रसंगमा श्रीमतीसँगको स्मृति शेयर गर्दै उनले फेसबुकमा स्ट्याटस लेखेर म तिम्रो जन्मदिनमा हावा बनी याद बनी शुभकामना लिई आउनेछु बोलको गीततयार पारेको खुलाएका थिए। ‘२०२७÷०२८ सालतिर होला सायद मेरी श्रीमतीले मलाई भोलि मेरो जन्मदिन हो नि मात्र के भनेकी थिइन्, मलाई जन्मदिनको विषयमा एउटा गीत लेख्न मन लागिहाल्यो र लेखेर आफ्नै संगीतमा रेकर्ड पनि गरेको थिएँ। जुन गीत मैले नेपालयको कार्यक्रम पलेटीमा पनि गाएको थिएँ। अंग्रेजी तारिखअनुसार अप्रिल १९ का दिन आज मेरो जन्मदिन हो। आजकै दिन पारेर नेपालयले यो गीत युट्युबमा अपलोड गरेकोमा नेपालय संस्था तथा नेपालय परिवारलाई मुरी मुरी धन्यवाद।’ –उनले गीतबारे जानकारी दिँदै लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्