निर्वासनमा रहेका सिरियाली विपक्षी नेताको पेरिसमा कोरोनाबाट मृत्यु



बेरूत । सिरियाको प्रजातन्त्रका लागि सङ्घर्षरत बौद्धिक विपक्षी नेता मिशेल किलोको सोमबार पेरिसमा कोभिड–१९ का कारण मृत्यु भएको छ ।निर्वासित विपक्षी नेता किलोले सिरियाको सत्तारूढ बाथ पार्टीको शासन शैलीबिरूद्ध लामो समयदेखि संघर्ष गर्दै आउनुभएको थियो ।

एक दशक पहिले सिरियाली राष्ट्रपति बसर अल असदको शासन शैलीविरूद्ध विश्वसनीय अहिंसक विकल्पको खोजीको लागि महत्वपूर्ण खेलाडी मानिने उहाँ ८१ वर्षको हुनुहुन्थ्यो ।सिरियाली राष्ट्रपति अल असदको आलोचक तथा विपक्षी आन्दोलनका वरिष्ठ नेता नस्र हरिरीले सोमबार एक विज्ञप्ति जारी गर्दै लेख्नुभएको छ, “किलोले सोमबार हामीबाट विदा लिनुभयो । उहाँलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि पेरिसमा उपचार गराउँदै आउनुभएको थियो ।”

विज्ञप्तिमा लेखिएको छ, “मिशेल एक बौद्धिक र देशभक्तहरूको नेता हुनुहुन्थ्यो, उहाँको सपना एउटा स्वतन्त्र र प्रजातान्त्रिक सिरिया हेर्ने थियो । भगवानले सिरियाली जनताको यो सपना पूरा गर्न सहयोग गर्नेछन् ।”लेखकसमेत रहेका किलोको जन्म १९४० मा सिरियाली भूमध्यसागरीय क्षेत्रमा रहेको सहर लाटाकियामा एउटा इसाई परिवारमा भएको थियो, जुन असद परिवारको अलावाइट अल्पसंख्यकको गढ हो । किलोले सिरियामा बाथ पार्टी सत्तामा आए देखि सन् १९६३ देखि बाथ पार्टीको आलोचकका रूपमा आफुलाई उभ्याउनुभउको थियो ।

उहाँलाई सन् १९८० देखि सन् १९८३ मा हाफेज अल–असद र सन् २००६ देखि सन् २००९सम्म बसर अल असद प्रशासनले जेल हालेको थियो ।सन् २००० को सेप्टेम्बरमा उहाँसहित करिब १०० बौद्धिक व्यक्तिहरूले सार्वजनिक स्वतन्त्रता, राजनीतिक बहुलवाद, र दमास्कस स्प्रिङको नामले परिचित अभियानको आह्वान गरी बसर अल असद सत्ताविरूद्ध खरो उत्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस्