पाटनका पर्यटकीय रुट प्रर्वद्धन गर्न सम्पदा पदयात्रा



न्युज अफ नेपाल, ललितपुर ।

विश्व सम्पदा दिवसको अवसरमा ललितपुर उद्योग वाणिज्य संघले सम्पदा पत्रयात्रा आयोजना गरेको छ ।

स्वदेशी तथा विदेशी पर्यटकहरुलाई संस्कृति, सम्पदाको महत्व बुझाउँदै संघको पर्यटन तथा सांस्कृतिक प्रर्वद्धन समितिले आईतबार पदयात्रा आयोजना गरेको हो। सो पदयात्रा २०७२ सालको भूकम्पपछि विश्व सम्पदा दिवसको अवसरमा ललितपुरमा जनप्रतिनिधिहरुलाई सहभागी गराई आयोजना गरिएको पहिलो औपचारिक कार्यक्रम बन्न पुगेको छ । भूकम्पयता सम्पदा दिवसको अवसरमा कला, संस्कृतिले भरिएको शहरमा ललितपुर महानगरपालिकाले कुनै कार्यक्रम आयोजना गरेको छैन।

संघका अध्यक्ष मनोजबहादुर न्याछयोंको अगुवाईमा पाटनढोकाबाट सो पत्रयात्रा शुरु भएको थियो। त्यसपछि जगमदु पुखूँ (पोखरी) हिरण्यवर्ण महाविहार ‘गोल्डेन टेम्पल’ पाटन दरबार क्षेत्र, ज्यापू प्रज्ञा भवनस्थित संग्रहालय र च्यासल क्षेत्रका पुराना बस्ती घुम्दै पाटन संग्रहालयमा पुगेपछि पदयात्राको समापन गरिएको थियो। पदयात्रामा स्वेदशी तथा विदेशी पर्यटकहरु, पर्यटन सम्बद्ध संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

समापन समारोहमा संघका अध्यक्ष मनोजबहादुर न्याछ्योंले संस्कृति सम्पदाले भरिएको शहरमा तिनको उचित संरक्षण र सम्बद्र्धन गर्दै पर्यटक उद्योग प्रर्वद्धन गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराउन पदयात्रा आयोजना गरिएको बताउनुभयो ।संघको अगुवाईमा विश्व सम्पदा क्षेत्र पाटन दरबार क्षेत्रमा भइरहेको भिमसेन मन्दिरको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको पनि अध्यक्ष न्याछ्योंले जानकारी दिनुभयो ।

पाटन प्रवेश गर्ने पाँच वटा नाका पुल्चोक, पाटनढोका, कनिबहाल, बालकुमारी र ग्वार्कोलाई पर्यटकीय रुटको रुपमा विकास गर्ने उद्देश्यले पदयात्रा आयोजना गरिएको समितिका संयोजक एवं संघका कार्यसमिति सदस्य आपुलाल अवालेले बताउनुभयो । ‘यी पाँच रुटलाई पर्यटकीयको रुटमा विकास गर्न सके यहाँको सम्पदा, मौलिक बस्ती, जीवनशैली पर्यटकहरुले राम्ररी अवलोकन गर्नसक्नेछ । यस कार्यको लागि पर्यटन उद्योग सम्बद्ध संघसंस्था र ललितपुर महानगरपालिकाको ध्यानाकर्षण गराउन चाहन्छौं । ।’ संयोजक अवालले भन्नुभयो ।

सो अवसरमा ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले संघले आयोजना गरेको पदयात्रा ललितपुरमा आन्तरिक तथा बाहय पर्यटक प्रर्वद्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।मेयर महर्जनले कला र संस्कृतिको विकासको लागि महानगरपालिका तत्पर भएर लाग्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो ।संघका वरिष्ठ उपाध्यक्ष विश्वराज बज्राचार्यले संस्कृति सम्पदा र सम्पदास्थललाई आआफ्नो भाषामा उच्चारण गर्ने क्रममा त्यसको मौलिक नाम बिर्गान नहुनेमा सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्