मेगा बैंकद्वारा क्यूआर कोड सेवा विस्तार



काठमाडौं,नेस । 

मेगा बैंक नेपालले क्यूआर कोडबाट रकम भुक्तानी व्यवस्थालाई बिस्तार गरिरहेको छ । नगदरहित कारोबारलाई क्रमशः विस्थापन गरी डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने बैंकको नीति अनुरुप मेगा बैंकले काठमाडौंको जोरपाटीस्थित विश्रान्ति होलसेल तरकारी तथा फलफुल बजारमा क्यूआर कोड सेवा विस्तार गरेको हो ।

नेपाल राष्ट्र बै‌क भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल र मेगा बैंक नेपालकी प्रमुख कार्यकारी अधिकृत ९सीईओ० अनुपमा खुञ्जेलीले तरकारी किनेको रकम क्यूआर कोडबाट भुक्तानी गरी क्यूआरकोड भुक्तानी सेवाको औपचारिक शुभारम्भ गर्नुभयो । कार्यक्रममा ८० जना तरकारी बिक्रेतालाई क्यूआर कोड वितरण गरिएको थियो ।कार्यक्रममा राष्ट्र बैक कार्यकारी निर्देशक कँडेलले नगदको कारोबार कम गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न अहिले विश्वभरि नै प्राथमिकता दिइएको बताउँदै नेपालमा पनि डिजिटल भुक्तानीको तीव्र विस्तार भइरहेकोमा आफूलाई खुशी लागेको बताउनुभयो । डिजिटल भुक्तानीको व्यवस्थाले नेपाल पनि आधुनिकीकरणतर्फ गइरहेको उहाँले बताउनुभयो । त्यस्तै मेगा बैंककी सीईओ खुञ्जेलीले नोटबाट कारोबार गर्दा कोरोना संक्रमणको समेत जोखिम रहेकाले डिजिटल भुक्तानीलाई मेगा बैंकले प्राथमिकता दिइरहेको बताउनुभयो ।

क्यूआर कोडबाट कारोबार गर्दा उत्पादक, बिक्रेता तथा खरिदकर्ता सबैलाई बैंकिङ प्रणालीमा जोडिनुपर्ने भएकाले गर्दा यसबाट हुने पारदर्शिताको कारण कसैलाई पनि असहज कारोबार नहुने बताउनुभयो ।एफवान सफ्टका अध्यक्ष विश्वास ढकालले फोन पे नेटवर्क अन्तरगतको मेगा क्यूआर कोडबाट कारोबार गर्दा रकम सिधैं बैंकिङ प्रणालीमा जाने हुँदा बैंक तथा प्रयोगकर्तालाई पनि सहज र सुलभ भइरहेको बताउनुभयो । विश्रान्ति होलसेल तरकारी तथा फलफुल बजारका अध्यक्ष छबिलाल ओझाले १ सय ५० जनालाई आफूहरुले रोजगारी सिर्जना गरिरहेको जानकारी दिँदै मेगा बैंकसँग जोडिन पाउँदा खुसी भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्