पुतलीका साथ मास्क लगाएरै र्‍याम्पमा



रिमार्जन र परिवर्तन नै फेसनको महत्वपूर्ण तथा आकर्षक पक्ष हो भन्ने उदाहरण नमुना कलेज अफ फेसन टेक्नोलजीले यसपटक ग्राजुएसन फेसन शोमा प्रस्तुत गरेको छ।चारवर्षे फेसन डिजाइनिङसम्बन्धी स्नातक तहको ब्याचलर अफ फेसन डिजाइन एन्ड म्यानेजमेन्टको अन्तिम परीक्षाअन्तर्गतको उक्त फेसन शोले प्रदर्शन गरेका पहिरन सुहाउँदा मास्कको फेसन आकर्षक एवं परिस्थिति अनुकूल रहेको पाइयो।

हरेक पहिरनसित सुहाउँदो मास्कसहित मोडलहरु र्‍याम्पमा उत्रिँदा हालको कोभिड–१९ को जटिल परिस्थितिलाई पनि सुन्दररूपमा सम्बोधन गर्न खोजिएको अनुभव कार्यक्रमका सहभागीले गरे। यसबाहेक फेसन कार्यक्रममा नेपालमै पहिलोपटक मोडलले लगाएको पहिरनकै हुबहु स्वरूपमा सजाइएको पुतलीसहित हरेक पहिरनका सिर्जनाकर्ता पनि स्टेजमा प्रस्तुत हुँदा कार्यक्रममा थप रौनकता सञ्चार भएको थियो।अस्तित्व शीर्षकमा सञ्चालन गरिएको यसपटकको ग्राजुएसन फेसन शो नमुना कलेज अफ फेसन टेक्नोलजीका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरसहित मोडलहरु रनवेमा उपस्थिति भएसँगै कार्यक्रमको शुभारम्भ भएको थियो। कार्यक्रमअन्तर्गत ७९ वटा आकर्षक, मनमोहक एवं विविधतायुक्त पहिरन प्रदर्शन गरिएका थिए।

ती सुन्दर पहिरनका परिकल्पनाकार एवं सिर्जनाकर्ताहरु पनि ७९ जना नै थिए। उनीहरु नमुना कलेजमा फेसन डिजाइनिङमा स्नातक गर्दै गरेका १५औं ब्याचका विद्यार्थी डिजाइन थिए। हरेक पहिरन नारीको साहस, आत्मविश्वास, क्षमता, त्याग, समर्पण, सहनशीलता, वात्सल्यता, धैर्यता, निर्भिकता, निडरता, विनम्रतालगायतका नारी जीवन र व्यक्तित्वका बहुआयामिक गौरवशाली पक्षको कुनै एक वा एकभन्दा पक्षमा आधारित थिए। फेसन कार्यक्रममा प्रदर्शित पहिरनमार्फत एकैपटक एउटै र्‍याम्पमा नारीको बोल्ड एन्ड ब्युटिफुलदेखि ग्ल्यामरस छवि हुँदै शालीन, गम्भीर, दृढ निश्चयी, ममतामयी, शक्ति स्वरूपा छवि प्रस्तुत गरिएको थियो।

हालैको एक साँझ होटल सोल्टी क्राउन प्लाजाको मेघा मल्हार हलमा कोरियोग्राफर रोजिन शाक्यको निर्देशनमा सञ्चालित फेसन शोमा समेटिएका ७९ पहिरनलाई विभिन्न आठ सिक्वेन्समार्फत प्रस्तुत गरिएको थियो। जसलाई २० मोडल युवतीले मनमोहन ढंगबाट प्रस्तुत गरेका थिए। जसअन्तर्गत आधा व्यावसायिक मोडल थिए भने आधा नमुना कलेजमै विभिन्न सेमेस्टरमा अध्ययरनत विद्यार्थी डिजाइनर थिए।

प्रतिक्रिया दिनुहोस्