दोस्रो चरणको खोपलाई १९ वटा केन्द्र तोकियो



नेपाल समाचारपत्र , काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्राको खोप लगाउन यसअघि सार्वजनिक गरेकोे सूचनामा केही परिवर्तन गरेको छ ।पहिला सार्वजनिक गरिएको मितिमा खोप लगाउने केन्द्रहरूमा चाप बढ्ने देखिएकोले यसलाई संशोधन गरिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक बद्री खड्काले बताउनुभयो ।

उहाँका अनुसार हाल तय गरिएको तालिकाअनुसार सबै केन्द्रहरूमा १४ हजारको दरले दोस्रो चरणको खोप लगाउने संख्या मिलाइएको छ ।यसअघि तय गरिएका केन्द्र र तालिकामा कतै दिनमा २० हजारको चाप पर्ने र कतै दिनमा ६ हजारमात्रै पर्ने भएकाले केन्द्र र मिति पुनः संशोधन गरिएको बताइएको छ ।वैशाख २ गतेको निर्णयअनुसार माघ १४,१५,१६,१७ र २६,२७,२८ र २९ गते खोप लगाएकाहरूले वैशाख ७ गते दोस्रो मात्राको खोप लगाउन पाउनेछन् ।
त्यस्तै माघ १८,१९,२०,२१, २२ र फागुन २ गते पहिलो मात्राको खोप लगाएकाले वैशाख ८ गते र माघ २३, फागुन ३,४,५ गतेकाले वैशाख ९ गते लगाउन सक्नेछन् ।माघ २४ र फागुन ६,८ र ९ गते खोप लगाएकाहरूले बैशाख १० गते र माघ ३०, फागुन ७, १० गते लगाएकाहरूले बैशाख ११ गते दोस्रो मात्राको खोप लगाउने तालिका सार्वजनिक गरिएको छ ।
खड्काका अनुसार बीर अस्पतालमा चाप कम गर्नका लागि क्षेत्रपाटी निःशुल्क चिकित्सालय, क्षेत्रपाटीलाई थपिएको छ । त्यस्तै त्रिविवि शिक्षण अस्पतालमा खोप लगाएकाले जनमैत्री अस्पताल, बालाजु र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, चावहिलमा जान सक्ने व्यवस्था गरिएको छ ।

नेपाल मेडिकल कलेज, अत्तरखेल र काठमाण्डौ मेडिकल कलेज, सिनामङगलमा खोप लगाएकाले स्तुपा अस्पताल बौद्धमा गएर लगाउन सक्नेछन् ।कोरोना विरुद्धको पहिलो मात्रा लगाएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स चालक तथा सहचालक, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, सबै सरकारी कार्यालय, संघसंस्था तथा बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहमा खटिएका सुरक्षाकर्मी, निर्वाचित जनप्रतिनिधि, सीमाक्षेत्रमा खटिएका सुरक्षाकर्मी, कूटनीतिक नियोगका कूटनीतिज्ञ तथा कर्मचारीहरूलाई नै दोस्रो मात्रा खोप लगाउन लागिएको खड्काले जानकारी गराउनुभयो ।खोप लगाउन जाँदा खोप कार्ड र विगतमा जस्तै आफ्नो कार्यलयको परिचयपत्र लिएर खोप केन्द्रमा जान आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्