नेपालमा वित्तीय साक्षरता र शेयर बजार



हामी आमनेपाली खर्च व्यवस्थापनमा कम चासो राख्छौं । हामीले गर्ने खर्चलाई केलायौं भने आधाभन्दा बढी अनावश्यक हुन्छ, त्यो खर्च कटौतीबाट बचत सिर्जना गर्न सकिन्छ । अति आवश्यक, नगरी नहुने खर्च कुन हो ? फजुल खर्च कुन हो ? त्यसको पहिचान गर्नु आवश्यक छ । नयाँ अवसरको प्रयोगबाट बढेको आयलाई पुनः लगानी गरेर र त्यसको निश्चित प्रतिशत बचत गर्ने अभ्यासबाट बचत बढाउन सकिन्छ । यसरी सिर्जना हुने बचत बैंक वा वित्तीय संस्थामा पुगेमा बचतकर्ता त प्रत्यक्ष लाभान्वित हुन्छन् नै, त्यसबाट अन्य मानिसहले पनि कर्जाको रुपमा उपयोग गरी फाइदा उठाउन सक्छन् ।

कुनै पेसा, उद्यम, व्यवसायबाट सिर्जना हुन आएको बचतलाई विलासी विदेशी वस्तु, सेवामा होइन कि स्वदेशी वस्तु वा सेवामा खर्च गर्नु पनि परोक्ष बचत हो । किनकि यसबाट अर्थतन्त्रका अन्य अवयव पनि बलिया बन्छन् । देशभित्रै अन्य उद्यमी, व्यवसायीको आर्जन, सर्वसाधारणको रोजगारी तथा बचतमा सकारात्मक प्रभाव पर्छ ।घरमै राख्दा चोरी आगलागीको डर हुने, ढुकुटी आदिमा खेल्नु गैरकानुनी धन्दा हुने अनि डुब्ने भय हुने बैंकमा राख्दा निक्षेपको बिमा भई सुरक्षित हुने, प्रतिफल (ब्याज) समेत मिल्ने आदि चेतना फैलाई सबैलाई सिर्जित बचत बैंकमै राख्न उत्प्रेरित गर्नु आवश्यक छ ।नेपाली जनमानसमा ऋण घीन हो भन्ने भावना व्याप्त रहेको पाइन्छ । हो, दुरुपयोग गरेमा याने अनुत्पादशील क्षेत्रमा उपयोग गरेमा पक्कै पनि ऋण घीन हो तर सदुपयोग गरेमा आर्जन बढाउने कर्जा सम्पत्ति सिर्जना गर्न महत्वपूर्ण साधन हो । त्यसैले असल आर्जनशील उद्देश्यका लागि कर्जा लिन नडराउने मनोविज्ञानको विकासमा समेत वित्तीय साक्षरताले ध्यान पु-याउनु आवश्यक छ ।बैंकका सेवा–सुविधा र त्यसमा लाग्ने शुल्क आदिबारे बैंकहरूले ग्राहकलाई सेवा आरम्भ गर्दाखेरि नै बुझाउनु आवश्यक छ, ग्राहकले पनि शुरुमै यसबारे जानकारी खोज्नुपर्छ ।

यसका निम्ति नागरिक बडापत्र र निर्देशन अध्ययनदेखि सोधपुछसम्म ग्राहकले अग्रसरता देखाउनुपर्छ भने बैंकहरूले निर्देशन झारा टार्ने सानो अक्षरमा होइन कि आमग्राहकले बुझ्ने भाषामा ठूलो अक्षरमा लेखिदिनुपर्छ ।हुन्डीबाट रेमिट्यान्स कारोबार गर्दा एकातर्फ नागरिक र अर्कातर्फ राज्य दुवै ठगिएका समाचारहरू बाहिर आइरहेको परिप्रेक्ष्यमा बैंकिङ माध्यमबाटै रेमिट्यान्स कारोबार गर्न र विलासिताका सामानमा यसको उपभोग रोकी उत्पादनशील उपयोगमा अभिप्रेरित गर्नु पनि वित्तीय साक्षरताको महत्वपूर्ण कदम हुन सक्छ ।नेपालमै उद्यमशीलता प्रवद्र्धनको बृहत् सम्भावना रहेको, नेपालका बैंकहरूबाटै ५ प्रतिशत ब्याजदरमा कृषि कर्जा उपलब्ध हुनेलगायतका प्रवद्र्धनात्मक सामग्री व्यापकरूपमा प्रचार–प्रसार गरिनुका साथै कृषि कर्जामात्र होइन उत्पादनशील नवप्रवर्तनात्मक अवधारणा र योजनालाई बैंक वित्तीय संस्थाबाट विनाधितो सरकारी जमानतमा सहजरूपमा कर्जा उपलब्ध गराउने व्यवस्था गरिनुपर्छ ।

डिम्याट खाता:

डिम्याट बैंक खाताजस्तै हो तर यस खातामा पैसा नभएर हाम्रो शेयर जम्मा हुन्छ । यसै खाताबाट शेयरको कारोबार हुन्छ । डिम्याट खातालाई हितग्राही खाता पनि भन्ने गरिन्छ । हितग्राहीले धितोपत्र निक्षेप गर्नका लागि धितोपत्र बोर्डबाट निक्षेप सदस्यता सेवाका लागि अनुमति पाएका कम्पनीमा गएर खोलिने खाता नै डिम्याट खाता हो । आवश्यक कागजपत्र पु-याइ खाता खोलेपछि १६ अंकको डिम्याट खाता नम्मर पाइन्छ ।निक्षेप सदस्यको काम गर्नका लागि धितोपत्र बोर्डबाट अनुमति लिएका बैंक तथा वित्तीय संस्था, धितोपत्र दलाल, मर्चेन्ट बैंकहरुमा गई डिम्याट खाता खोल्न सकिन्छ । बैंक खाता खोलेजस्तै आवश्यक कागजात लिई फाराम भरेपछि निक्षेप सदस्यले हाम्रो सम्पूर्ण विवरणहरु सिडिएस लिमिटेडको प्रणालीमा प्रविष्ट गरिसकेपछि खाता खुल्छ । खाता खुलेपछि १६ अंकको खाता नम्बर प्राप्त हुन्छ । अब हामीले शेयर किन्दा यही खातामा जम्मा हुन्छ भने बेच्दा यही खाताबाट घटेर जाने गर्दछ ।

यो खाता खोल्न पहिले नै कुनै कम्पनीको शेयर हुनुपर्दैन । शेयर भएका नभएका जो कसैले पनि यस्तो खाता खोल्न सक्दछन् । एकजनाको खाता अर्को व्यक्तिलाई काम लाग्दैन । परिवारको एकजनाले खाता खोल्दैमा अरु परिवारका सदस्यलाई काम लाग्दैन । सबैको आ–आफ्नै खाता चाहिन्छ । यस्तो खाता खोल्न ३ पुस्ते विवरणका साथै नागरिकता र २ प्रति फोटो आवश्यक पर्दछ भने नाबालकको डिम्याट खोल्नका लागि जन्मदर्ताको प्रमाणपत्र, संरक्षकको नागरिकताका साथै फोटो चाहिन्छ । डिम्याट खाता सञ्चालन शुल्क हरेक वर्ष रु. १००।– लाग्छ । हरेक वर्ष खाता नवीकरण गर्नुपर्दछ । १ व्यक्तिले अहिले बढीमा २ वटासम्म डिम्याट खाता खोल्न सक्ने प्रावधान रहेको छ ।

आईपीओ, एफपीओ:

कुनै पनि कम्पनीको विकास र विस्तारको लागि पुँजीको आवश्यकता पर्दछ । पुँजीको आवश्यकता भएपछि कम्पनीको साधारणसभाले निर्णय गरी आईपीओ तथा एफपीओ निष्कासन गर्ने काम गर्दछ । साधारणसभाबाट पारित आईपीओ र एफपीओ निष्कासन कम्पनी आफैंले गर्न नसक्ने भएकोले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त शेयरको निष्कासन तथा बिक्री प्रबन्धकको नियुक्ति गरिन्छ । बिक्री प्रबन्धकलाई मर्चेन्ट बैंक पनि भनिन्छ । यी संस्थाले कम्पनीको शेयरको निष्कासनको सम्पूर्ण जिम्मा लिने गर्दछन् । पब्लिक कम्पनीले पुँजी संकलनका लागि प्रथमपटक निष्कासन गरेको शेयरलाई आईपीओ भनिन्छ भने पब्लिक कम्पनीले एकपटक आईपीओ जारी गरिसकेपछि पुनः पुँजी संकलन गर्न फेरि सर्वसाधारणलाई शेयर बिक्री गर्दछ भने त्यसलाई एफपीओ भनिन्छ । हामीकहाँ धेरैजसो एफपीओ प्रिमियम मूल्यमा आउने गर्दछ । अंकित मूल्यभन्दा बढी भाउ राखेर शेयर बिक्री गरिएमा बढी मूल्यलाई शेयर प्रिमियम भनिन्छ ।

यहाँ अंकित मूल्य भनेको एक सय रुपियाँ हो । जस्तै, कुनै कम्पनीको अंकित मूल्य सयमा तीन सय रुपियाँ थपेर चार सयमा शेयर जारी गरियो भने तीन सय रुपियाँ प्रिमियम मूल्य हो । एक कित्ता आईपीओ एक सय रुपियाँमा खरिद गर्न सकिन्छ भने एफपीओको मूल्य एक सयभन्दा बढी हुन्छ । तर, विगत तीन बर्षसम्म नाफा आर्जन गर्न नसकेको कम्पनीले प्रिमियममा एफपिओ जारी गर्न पाउँदैन ।थप पुँजीको आवश्यकता परेपछि सर्वसाधारणलाई कम्पनीको केही शेयर हिस्सा बिक्री गरेर पुँजी संकलन गर्न आईपीओ र एफपीओ बिक्री गर्न कम्पनीहरुले विभिन्न मर्चेन्ट बैंकलाई बिक्री प्रबन्धक तोकेका हुन्छन् । जस्तैः सानिमा क्यापिटल, एनमबी क्यापिटल, सिद्धार्थ क्यापिटल, लक्ष्मी क्यापिटल, नबिल क्यापिटल, भिवोर क्यापिटल, एनआईसी क्यापिटल आदि ।
– कृष्ण पाण्डेय, मैतिदेवी ।

प्रतिक्रिया दिनुहोस्