श्रेष्ठको सांस्कृतिक कृति लोकार्पण



काठमाडौं, (नेस) ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित खोजमुलक संस्कृतिक ग्रन्थ ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ आइतबार बिहान आनै निजी निवास बूढानीलकण्ठमा लोकार्पण गर्नुभएको छ ।

२० वटा जातजातिको संस्कार र संस्कृतिको विषयमा लेखिएको खोजमुलक ग्रन्थबारे साहित्यकार पुष्कर लोहनीले टिप्पणीका साथै चर्चा गर्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले लेखक श्रेष्ठको व्यक्तित्व र कृतित्वको चर्चा गर्दै नेपाल सांस्कृतिक हिसाबले विविधतापूर्ण र सम्पन्न देश भएकाले यहाँ रहेको सांस्कृतिक पक्षको खोजअनुसन्धान अझै गरिनुपर्नेमा जोड दिनुभयो । महतले भन्नुभयो– ‘यस किसिमका अनुसन्धानले नेपालको सांस्कृतिक समृद्धिमा जोड पुग्नेछ । यस्ता खोज अनुसन्धानलाई नेपाली कांग्रेसले पनि उच्च प्राथमिकतामा राखेको छ, यस किसिमका खोजअनुसन्धान गर्नेलाई उचित मूल्याङ्कनसमेत पार्टीले गर्नेमा विश्वस्त छु ।’प्रतिनिधि सभा सदस्य बहादुरसिंह लामाले विविधतापूर्ण समाजको विविध संस्कृतिलाई एकैठाउँमा उतार्नु भनेको चानचनुने कुरा नभएको बताउँदै भन्नुभयो– ‘यस्तो महत्वपूर्ण ग्रन्थलाई विश्वविद्यालयको कोर्समै स्थान दिनुपर्छ त्यसका लागि सबै तर्फबाट पहलकदमी आवश्यक छ ।’

सभापति देउवाले कार्यक्रममा पुस्तक लेखक श्रेष्ठलाई बधाइ दिँदै संस्कृतिसम्बन्धी श्रेष्ठको पुस्तक शोधकार्यका लागि महत्वपूर्ण, पठनीय र संग्रहणीय भएको बताए । उनले नेपाल विभिन्न जातजातिको फूलबारीको रूपमा रहेको र सांस्कृतिक मिलापले एकताबद्ध रहेको र एक जातिले अर्को जाति र धर्मको सह–अस्तित्वलाई स्वीकारेको बताउनुभयो ।
फरक प्रसङ्गमा सभापति देउवाले माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनको सम्भावना नभएको बताउनुभएको छ । उहाँले अहिलेको राजनीति एकदमै तरल अवस्थामा रहेकाले भोलि जे पनि हुन सक्ने समेत बताउनुभयो । नयाँ सरकार गठनका लागि माओवादी केन्द्रले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने बताउँदै पत्रकारहरूसँग भन्नुभयो– ‘सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र अलग भएका छन् । ओली र प्रचण्डबीच द्वन्द्व देखिएको छ ।

तर, अहिलेसम्म माओवादीले किन समर्थन फिर्ता लिएको छैन ? यसमा शङ्का छ । ओली अहिले पनि सुविधाजनक बहुमतमै छन् । अल्पमतमा छैनन् । माओवादीले अविश्वासको प्रस्ताव लिएमा कांग्रेस सरकार गठन गर्न अग्रसरता लिन्छ ।’पुस्तकमा आठपहरिया राई, कुमाल, गुरुङ्ग, चेपाङ, तामाङ, थारू, दनुवार, दराई, धिमाल, पहरी, बराम, बलामी, मगर, माझी, मेचे, राउटे, राजवंशी, शेर्पा, सतार र हायु जातिका संस्कार र संस्कृतिका विषयमा अनुसन्धानमुलक लेखहरू रहेका छन् । ५१२ पृष्ठको उक्त पुस्तकलाई आकृति प्रकृति प्रकाशनले बजारमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्