उपकरण तथा जनशक्ति अभाव झेल्दै जिल्ला अस्पताल



थुतेन लामा, मनाङ ।

हिमालपारिको जिल्ला मनाङमा कोरोना महामारीसँगै स्वास्थ्य सुरक्षाका लागि उपकरण त उपल्ब्ध गराइयो । तर, जिल्लाको एकमात्र अस्पतालले कहिले उपकरणको अभाव त कहिले जनशक्तिको अभाव झेल्दै आएको छ ।

हाल जिल्ला अस्पतालमा भेन्टिलेटर उपलब्ध भए पनि जनशक्ति नहुँदा सञ्चालनमा आउन सकेको छैन । २०७७ साल असारमा प्रदेश सरकारले अस्पताललाई दुईवटा भेन्टिलेटर उपलब्ध गराएको थियो । अस्पतालमा भेन्टिलेटर छ, तर चलाउने जनशक्ति नहुँदा उक्त सेवा सञ्चालनमा आउन सकेको छैन ।अस्पतालमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि १० महिनाअघि भेन्टिलेटर पुगेको हो । कुनै पनि बिरामीको अवस्था जटिल बनेको समयमा भेन्टिलेटरको आवश्यकता पर्ने भन्दै १० महिनाअघि नै यस अस्पतालमा भेन्टिलेटर ल्याइएको थियो ।

मनाङ जिल्लामा दुई जनामात्र चिकित्सक डाक्टर प्रतिभा गौली र डाक्टर सन्तोष अधिकारी कार्यरत छन् । ‘कोभिडका बिरामीका लागि उपचार गराउन भेन्टिलेटरका सबै सामग्री छन्, तर जडान गरिएको छैन’, डा. अधिकारीले भन्नुभयो– ‘भेन्टिलेटरसम्बन्धी तालिमप्राप्त डाक्टर भए सहज हुन्थ्यो, जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भएको छ ।’ त्यस्तै, डाक्टर प्रतिभा गौलीले प्रदेश सरकार मताहातमा झन्डै २० करोडको लागतमा जिल्ला अस्पताल निर्माण हुँदै गरेको र डाक्टर सन्तोषको अवधि सकिएर जानुभएको बताउनुभयो । भएका जनशक्तिको अवधि सकिनु उपकरण सञ्चालन नहुनु समस्या रहेको उहाँको भनाइ छ ।

अस्पतालमा भेन्टिलेटरसहित दुई बेडको आइसीयू निर्माणका लागि सामान खरिद गरिएको छ । जनशक्ति अभाव भएकाले उक्त सेवा सञ्चालन गर्न नसकिएको मनाङ जिल्ला अस्पतालका जनस्वास्थ्य निरीक्षक रहमत अन्सारीले बताउनुभयो । उहाँका अनुसार हाल जिल्ला अस्पतालमा जम्मा पाँच कर्मचारी कार्यरत छन् । सिनियर अहेब प्रमुख अन्सारी, डा. प्रतिभा गौली, डा. सन्तोष अधिकारी, नर्स विना पौडेल र ल्याबमा करारका कर्मचारी प्रकाश रोक्का छन् ।
दुई जना डाक्टरको दरबन्दी भए पनि मनाङ जिल्ला अस्पतालमा दरबन्दीका डाक्टर एक जना मात्र छन् । डा. सन्तोष अधिकारी पनि करारका कर्मचारी हुनुहुन्छ । जिल्ला अस्पतालले हालसम्म धेरै बिरामीको चाप थेग्नु नपरे पनि कुन समयमा के पर्छ त्यसको तयारी हुनु जरुरी छ । यस्तै तितो अनुभव डा. सन्तोष अधिकारीको रहेको छ ।

विश्वभर फैलिँदै गहेको कोरोना महामारीले जिल्ला स्वस्थ्य प्रमुख नै संक्रमित भएपछि अस्पताल नै बन्द गर्नुपरेको थियो । जिल्लामा भएको एकमात्र अस्पताल र एक मात्र डाक्टर हुँदा कन्ट्रयाक ट्रेसिङकोे पर्दा आवश्यक जनशक्ति अभावका कारण अस्पताल नै बन्द गर्नुको विकल्प नभएको डा. अधिकारीले बताउनुभयो ।अहिलेको अवस्थामा स्वस्थ्य क्षेत्रमा प्रयाप्त जनशक्ति नहुनु, भएका उपकरण प्रयोगमा आउन नसक्नु ठूलो चुनौती रहेको छ । हिमाली जिल्ला जटिल बिरामी भएमा समयमा उपचार गर्न नपाउँदा जीवन नै तलमाथि हुन सक्छ । हुनेखानेले हेली चार्टर गरेर ठाउँमा पुग्लान् तर सर्वसाधारण भने अकालमा नै जानुपर्ने बाध्यता देखिन्छ ।

स्थानीय तहले पटकपटक पहल गर्दासमेत सुनाइ नभएको स्थानीय तहको गुनासो रहेको छ । प्रदेश सरकार र केन्द्रमा समेत बेलाबेलामा चर्चामा रहेको मनाङ अस्पतालमा अझै जनशक्ति अभावले भएका उपकरणसम्म सञ्चालनमा आउन सकेका छैनन् । सरकारको नीतिअनुसार अस्पतालको शिलान्यास त भएकै छ तर आवश्यक जनशक्ति कहिले पुग्ने सर्वसाधारणको गुनासो रहेको छ । देशमा बढ्दै गहेको कोरोना महामारीमा यी उपकरण सञ्चालनमा आउन सके जिल्लाबासीले राहत महसुस गर्न पाउने थिए ।

प्रतिक्रिया दिनुहोस्