कला पुस्तक सार्वजनिक



कलाकार तथा कला लेखक मदन चित्रकारद्वारा लिखित कलासम्बन्धी पुस्तक थट्र्स अफ म्युजिङस् सार्वजनिक भएको छ। सिर्जना कलेज अफ फाइन आट्र्स लाजिम्पाटमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कृतिको विमोचन गर्दै कला र संस्कृतिले समाजलाई जीवन्त बनाउने चर्चा गरे।

पुस्तकमाथि टिप्पणी गर्दै सिद्धार्थ आर्ट ग्यालरीका सञ्चालीका संगीता थापाले पुस्तकले नेपाली कलाका विविध आयामलाई खोतल्ने काम गरेको बताइन्। पुनम आरएल राणाले नेपाली कला र कलाकारका बारेमा जानकारी लिनका लागि पुस्तक निकै उपयोगी रहेको धारणा व्यक्त गरिन्।कलाकार तथा लेखक मदन चित्रकारले नेपालमा ललितकला वाङमयको अभाव रहेको बताए। उनले थोरै भए पनि नेपाली कला वाङमयलाई समृद्ध बनाउने ध्येय राखेर पुस्तक प्रकाशित गरेको सुनाए। चित्रकारलले पुस्तकमा नेपालमा चलेका कलाका विभिन्न शैली र प्रचलित मान्यतालाई समेट्ने कोशिस गरेको जानकारी दिए।

सिर्जना कलेज अफ फाइन आट्र्सका अध्यक्ष महेन मोहन श्रेष्ठले नेपाली कलालाई समृद्ध बनाउने उद्देश्य राखेर पुस्तक प्रकाशन गरेको बताए। अंग्रेजी भाषामा लेखिएको यस पुस्तकले नेपाली कलामा चलेका विविध शैली, आन्दोलन, विचार, परम्परा, कलाकार तथा तिनका कलाकृतिलाई बुझ्न सघाउँछ। पुस्तकमा नयाँ तथा पुराना पुस्ताका कलाकारका कलाकृति तथा तिनका बारेमा चर्चासमेत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्