मालपोत कार्यालय काभ्रेको बेथिति : सुविधाका नाममा सास्ती



मोतीराम तिमल्सिना, काभ्रे । 

मालपोत कार्यालय काभ्रेपलाञ्चोकले नागरिकलाई सुविधाका नाममा सास्ती थोपरिरहेको सेवाग्राहीले बताएका छन् । लथालिंग रहेको मालपोत कार्यालयमा कर्मचारीहरु खुला आँगनमै ‘डिल’ गरिरहेका हुन्छन् भने अवकाश प्राप्त कर्मचारी महिनौंदेखि कार्यालयमा अड्डा जमाएर बसिरहेका छन् । सेवाका लागि ९ महिना कार्यालय धाउँदा पनि काम हुन नसकेको पीडितहरुले बताएका छन् ।

घटना १

मालपोत कार्यालय काभ्रेको सुब्बा पदमा कार्यरत थिए दामोदर कोइराला । उमेर हदका कारण २ महिनाअघि नै उनको अवकाश भयो । मुद्दा फाँटमा कार्यरत कोइराला विनानियुक्ति र तलब दैनिक सोही हैसियतमा उपस्थित भई नागरिकलाई सेवा होइन दुःख दिइरहेका छन् । उक्त फाँटबाट हाल साविक, संशोधन, नामसारी, मोही बाँडफाँडलगायतका कार्य हुन्छन् ।

केही साताअघि मोही बाँडफाँड खुलेको भए पनि नागरिकले जानकारी प्राप्त गरेका छैनन् । पुराना फाइलहरु, मोही बाँडफाँडका झन्डै ५ सय वटा फाइल र हाल साविकमा चलखेल गर्ने उद्देश्यले उनी उक्त फाँटमा निरन्तर धाइरहेका छन् ।

न त मालपोत कार्यालय उनलाई नआइज भन्न सक्छ न त उनै जागिर सकिएपछि बिनानियुक्ति र पारिश्रमिक काम गर्नुहुँदैन भनेर आउन छाड्छन् । लेखापढी व्यवसायीका अनुसार उनले दैनिक ५/७ हजार रुपियाँ नागरिकलाई दुःख दिएकै आधारमा कमाइरहेका छन् । अनधिकृत व्यक्तिले राज्यका कागजात हेर्ने, निर्देशन दिने र नागरिकलाई दुःख दिने काम गरिरहँदा प्रशासनसमेत मौन छ ।

घटना २

शशित भण्डारी । उनी मालपोत कार्यालय काभ्रेको १२ नम्बर कम्प्युटर फाँटका अपरेटर हुन् । कार्यालय समयमा उनी आफ्नो कुर्सीमा बसेर नागरिकलाई सेवा दिनेभन्दा पनि मालपोत कार्यालय परिसरको प्राङ्गणमा लेखापढी व्यवसायीसँग ‘डिल’ गरिरहेका भेटिन्छन् । २०७८ वैशाख ५ गते दिउँसो २ बजे उनी कुर्सी खाली राखी सेवाग्राहीको लाइन राखेर डिल गरिरहेका भेटिएका थिए ।

उनी जस्ता अन्य केही कर्मचारीको काम नै कार्यालयभन्दा बाहिर रहेर सेवाग्राहीलाई दुःख दिने योजनामा संलग्न हुने हो । २०७७ असोज २१ गते प्रमुख मालपोत अधिकृतका रूपमा कार्यरत लोकबहादुर भण्डारी ६ महिनामा चैत २५ गते विराटनगर सरुवा भएपछि निमित्त प्रमुखका भरमा मालपोत कार्यालय संञ्चालन भइरहेको छ । लेखापढी व्यवसायीहरु मुद्दा फाँट तथा अन्य मोठहरुमा प्रवेश गरी आफूखुसी नागरिकका सम्पत्तिका पोका खोलिरहेका छन् । जीवनभर कमाएको सम्पत्तिले जग्गा खरिद गर्ने व्यक्तिहरुको कागजात सुरक्षित राख्नुपर्ने कार्यालय र व्यवस्थापन जीर्ण हुँदा सबै मौन छन् ।

मालपोत कार्यालय काभ्रेका यी दुई प्रतिनिधिमूलक घटना मात्रै हुन् । नागरिकलाई सुविधा दिने नाममा शुरु गरिएको भू–सेवा सर्भर डाउन भन्दै दैनिक अवरुद्ध हुँदै आएको छ । ‘देशभर एउटै सर्भर छ, नागरिकहरु लाइनमा छन्, सर्भर चल्दैन’, निमित्त प्रमुख एवं मालपोत अधिकृत टंकप्रसाद चौलागाईंले भन्नुभयो– ‘हामीले सक्दो गुणस्तरीय र चाँडो सेवा प्रदान गर्ने प्रयास गरेका छौं तर प्राविधिक कारण हामीले भनेजस्तो सम्भव छैन ।’

देशभर रहेका १ सय २६ वटा मालपोत कार्यालयमध्ये १ सय ८ वटामा शुरु गरिएको भू–सेवाले नागरिकलाई सुविधाभन्दा धेरै सास्ती दिइरहेको लेखापढी व्यवसायी संघका अध्यक्ष रोशन श्रेष्ठले बताउनुभयो ।२०७७ साउन २२ गते असनपुर–५ सिराहा घर भई बनेपाको दक्षुटोल ५ मा कित्ता नम्बर १०११ र १०२१ मा जग्गा खरिद गरेका रामबाबु शाहले सरकारले लागू गरेको नयाँ नियमअनुसार जग्गाको हाल साविक गर्न दिए । आजसम्म उक्त जग्गाको हालसाविक हुन सकेको छैन । मालपोत कार्यालयमा थन्किएको फाइल अझै अघि बढ्न सकेको छैन । उनीजस्ता ८ सयभन्दा धेरैको फाइल मालपोत कार्यालयमा साउनदेखि थन्किएका छन् । मालपोत कार्यालयले उपलब्ध गराउने स्रेस्तासमेत कमजोर रहेको सेवाग्राहीले बताएका छन् ।

रमेशकुमार गौतमको असोज २० गते, लक्ष्मण थापाको साउन ३० गते र रीता दाहालको कात्तिक १६ गते हाल साविकका लागि फाइल मालपोत कार्यालयमा बुझाइएको थियो । मालपोत कार्यालय काभ्रे परिसरमा राखिएको होर्डिङ बोर्डले पनि सेवालाई गिज्याइरहेको छ । जसमा एकैदिनमा काम हुने उल्लेख छ । काम नभएको अवस्थामा क्षतिपूर्तिसहितको व्यवस्था उल्लेख गरिएको छ ।

कार्यालय ५ बजेसम्म खुल्ने तर बैंक सेवा ३ बजे बन्द हुने कारण सेवाग्राही थप संकटमा परेका छन् । एउटा फाँटमा दैनिक ५० वटा टोकन दिने नियमले थप असहजता पैदा भएको छ । एउटै व्यक्तिले बिहानै ३० वटाभन्दा धेरै टोकन लिने र बिक्री गर्ने काम पनि मालपोत कार्यालयमा हुने गरेको सेवाग्राहीले बताए । मन्त्रीले मालपोत कार्यालय सुधारका लागि सुशासनका गफ गरे पनि व्यावहारिकता त्यस्तो नभएको कर्मचारी बताउँछन् ।

क्याप्सन :
शशित भण्डारी– जो कार्यालय छाडेर कार्यालय परिसरमा लेखापढी व्यवसायीसँग डिल गरेर बसिरहेका छन् । दामोदर कोइराला– अवकाश भएको दुई महिनादेखि निरन्तर सोही हैसियतमा काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्