दोस्रो भेरियन्ट बढेसँगै नेपालमा कोरोनाविरुद्धको खोपप्रति चासो बढ्यो



नेपाल समाचारपत्र, काठमाडौं ।

कोरोना भाईरसको दोस्रो भेरियन्ट बढेसँगै नेपालमा कोरोना बिरुद्धको खोप लगाउनेहरुमा थप चासो बढेको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७७ माघ र फागुन महिनामा पहिलो मात्रा खोप लगाएकाहरुलाई दोस्रो मात्राको खोप अभियानमा सहभागी हुन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७७ माघ १४ गतेदेखि फागुन ११ गतेसम्ममा पहिलो मात्राको खोप लगाएकाहरुलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्राको खोप लगाइने जानकारी दिदै आएको र संख्यात्मक व्यवस्थापन मिलाउने क्रममा विगतमा सार्वजनिक गरिएको मितिलाई पनि परिवर्तन गरेको जनाएको छ ।

मन्त्रालयले अघिल्लो पटक सार्वजनिक गरेको खोप लगाउने मितिमा पनि केही परिवर्तन भएको जानकारी दिएको छ । पहिला सार्वजनिक गरिएको मितिमा खोप लगाउने केन्द्रहरुमा चाप बढ्ने र तोकिएको मितिमिा धेरै व्यक्तिहरुले खोप लगाउनुपर्ने भएकोले यसलाई संसोधन गरिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाण्डौका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रि खड्काले जानकारी गराउँनुभयो ।

२०७८ बैशाख ५ गते सार्वजनिक गरेको तालिका अनुसार चाप कम गर्नका लागि पनि केहि केन्द्रहरु थप गर्नुका साथै मिति समेत परिवर्तन गरिएको खड्काले जानकारी गराउनुभयो । उहाँका अनुसार हाल तय गरिएको तालिका अनुसार सबै केन्द्रहरुमा १४ हजारको दरले दोस्रो चरणको खोप लगाउनेहरु संख्या मिलाएको छ ।यस अघि तय गरिएका केन्द्र र तालिकामा कतै दिनमा २० हजारको चाप पथ्यो भने कतै दिनमा ६ हजार मात्रै पर्ने भएकाले केन्द्र र मिति पुनः संशोधन गरिएको खड्काले बताउँनुभयो ।

बैशाख २ गतेको निर्णय अनुसार मा १४,१५,१६,१७ र २६,२७,२८ र २९ गते खोप लगाएकाहरुले बैशाख ७ गते दोस्रो मात्राको खोप लगाउन पाउने छन् । त्यस्तै माघ १८,१९,२०,२१, २२ र फागुन २ गते पहिलो मात्राको खोप लगाएकाले बैशाख ८ गते र माघ २३, फागुन ३,४,५ गतेकाले बैशाख ९ गते लगाउन सक्नेछन् । माघ २४ र फागुन ६,८ र ९ गते खोप लगाएकाहरुले बैशाख १० गते र माघ ३०, फागुन ७, १० गते लगाएकाहरुले बैशाख ११ गते दोस्रो मात्राको खोप लगाउने तालिका सार्वजनिक गरिएको छ ।

खड्काका अनुसार बीर अस्पतालमा चाप कम गर्नका लागि क्षेत्रपाटी निशुल्क चिकित्सालय, क्षेत्रपाटीलाई थपिएको हो । त्यस्तै त्रिविवि शिक्षण अस्पतालमा खोप लगाएकाले जनमैत्री अस्पताल, बालाजु र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, चावहिलमा जान सक्ने व्यवस्था गरिएको छ ।नेपाल मेडिकल कलेज, अत्तरखेल र काठमाण्डौ मेडिकल कलेज, सिनामङगलमा खोप लगाएकाले स्तुपा अस्पताल बौद्धमा गएर लगाउन सक्नेछन् ।

कोरोना विरुद्धको पहिलो मात्रा लगाएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स चालक तथा सहचालक, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, सबै सरकारी कार्यालय, संघसंस्था तथा बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहमा खटिएका सुरक्षाकर्मी, निर्वाचित जनप्रतिनिधि, सीमाक्षेत्रमा खटिएका सुरक्षाकर्मी, कूटनीतिक नियोगका कूटनीतिज्ञ तथा कर्मचारीहरुलाई नै दोस्रो मात्रा खोप लगाउन लागिएको खड्काले जानकारी गराउनुभयो ।खोप लगाउन जाँदा खोप कार्ड र विगतमा जस्तै आफ्नो कार्यलयको परिचयपत्र लिएर खोप केन्द्रमा जान आग्रह गरिएको छ । केही दिन देखि खोप केन्द्र र मितिका बारेमा अधिकांशले राखेका जिज्ञासालाई सहज बनाउँन तालिका नै सार्वजनिक गरिएको खड्का बताउँनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्