पत्रकार महांसघमा निर्वाचित नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल पत्रकार महासंघको २६औं महाधिबेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण गरिएको छ । आज नेपाल पत्रकार महासंघमा भएको समारोहका प्रमुख अतिथि सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई कार्यसफलताको शुभकामना दिनुभयो ।

उहाँले महासंघले पूर्ण लोकतन्त्रको अभ्यास गरेको भन्दै लोकतन्त्रका लागि भएका हरेक आन्दोलनमा महासंघले प्रमुख भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । त्यसैगरी उहाँले देश कठिन मोडमा रहेको भन्दै यो बेला पत्रकारहरुको महत्वपूर्ण भूमिका रहनुपर्ने चर्चा गर्नुभयो ।

नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष विपुल पोख्रेलले नेपाल पत्रकार महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि स्थापित संस्था रहेको भन्दै लोकतन्त्र, प्रेस स्वतन्त्रता नागरिक अधिकार र श्रमजीवी पत्रकारको हकहितका लागि प्रतिवद्ध रहने बताउनुभयो । उहाँले नवनिर्वाचित केन्द्रीय सदस्य बबिन शर्मालाई प्रहरीले धरपकड गरेको भन्दै प्रकाशित समाचारबारे छानविन गर्ने संस्था नेपाल प्रहरी नभई प्रेस काउन्सिल रहेको बताउनुभयो ।

निवर्तमान अध्यक्ष गोविन्द आचार्यले नेपाल पत्रकार महासंघको इतिहासमा हरेक कार्यसमितिको भूमिका महत्वपूर्ण रहेको भन्दै आफ्नो कार्यकालबाट महासंघको नेतृत्व चयन प्रत्यक्ष निर्वाचन प्रणालीबाट हुने अभ्यास सुरु गरिएको बताउनुभयो । उहाँले महासंघलाई थप समावेशी बनाउने अवसर प्राप्त भएको पनि बताउनुभयो । कार्यक्रममा पूर्व सभापतिहरु डा.सुरेश आचार्य, तारानाथ दाहाल, धर्मेन्द्र झा, पूर्व अध्यक्षहरु शिव गाँउले र डा.महेन्द्र विष्टले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्