आगलागी पीडितलाई नगरपालिकाको सहयोग



अमृत अर्याल। स्याङजा,
स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ७ दारेगौडाको एक आगलागी पीडित परिवारलाई गल्याङ नगरपालिकाले सहयोग गरेको छ । घर गोठ जलेर समस्यामा परेका स्थानीय भागरथी पाण्डेको परिवारलाई गल्याङ नगरपालिकाले खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा सहित विविध सहयोग गरेको हो ।

गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले आफ्नै कार्यकक्षमा सहयोग सामाग्री हस्तान्तरण गर्दै पिडित परिवारको आवास निर्माणको व्यवस्था गरिदिने बताउनुभयो । उहाँले प्राकृतिक घटनाले ठूलो क्षति पु-याएको अवस्थामा नगरपालिकाको तर्फबाट तत्कालका लागि सहयोग गरिएको भन्दै विपन्न परिवारको बराबर निर्माण सामाग्री उपलब्ध गराई घर निर्माण गरिने बताउनुभयो ।नगरप्रमुख अधिकारीले भन्नुभयो –‘स्थानीयले जनश्रमदान गरेर नगरपालिकाबाट दुई लाख रुपैयाँ बराबरको निर्माण सामाग्री दिई जसरी घरहरु निर्माण गरिएको छ, त्यसरी नै पाण्डेको परिवारलाई पनि घर बनाउन नगरपालिकाले सहयोग गर्नेछ ।’ उहाँले नगरपालिका विपत्तिमा परेकाहरुका लागि सधैं सेवामा रहेको भन्दै सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो ।

नगरपालिकाले पाण्डे परिवारका लागि खाना पकाउने तथा खाने सम्पूर्ण भाँडाकुँडा, कृषि औजार, लो बेड, सिरक डस्ना सहितका कपडाहरु र मोवाइल समेत उपलब्ध गराएको छ । पाण्डेको घरमा आगलागी हुँदा सम्पूर्ण सामाग्री सहित घर गोठ जलेर पूर्ण रुपमा नष्ट भएको छ । नगरप्रमुख अधिकारीले आगलागी पिडित परिवारको निरिक्षण गरेपछि राहत सामाग्री उपलब्ध गराउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्