आकाशमा देखिएका अज्ञात वस्तु साँचो भएको पुष्टि



न्युयोर्क,(एजेन्सी) । 

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अधिकारीहरूले हाल सार्वजनिक हुन पुगेका– ‘अज्ञात हवाई घटनाहरू’ सम्बन्धी तस्वीर र भिडियोहरू वास्तविक भएको र एकजना नौसैनिकले सन् २०१९ मा तिनीहरूले खिचेको स्पष्ट पारेका छन् । त्यसमा देखिएको त्रिकोणात्मक अर्थात् पिरामिड आकारका हवाई वस्तुहरू अझै रहस्य नै बनेका छन् । पेन्टागनले पनि आफूसँग भएको सम्पूर्ण जानकारी सार्वजनिक गरेको छैन ।

ती तस्वीर तथा भिडियोहरू पहिलोपटक मिस्ट्री वायर र एक्स्ट्राअर्डिनरी बिलिफ्स वेबसाइटले प्रकाशित गरेका थिए । खोजमूलक चलचित्र निर्माता जेरेकी कोर्वेलका अनुसार सन् २०१९ को जुलाइमा अमेरिकाको सान डियगोस्थित युएसएस रस्सेलबाट ती तस्वीर र भिडियोहरू खिचिएको थियो । पेन्टागनका पवक्ता सुसन गोगले सोही वर्षको मार्चमा एजना नौसैनिक अधिकारीले विभिन्न आकारका ती वस्तुहरूको तस्वीर र भिडियो खिचेको तथा तीमध्ये एउटा धातुबाट निर्मित यानजस्तो देखिएको सीएनएनलाई बताएकी छन् ।

मिस्ट्री वायरका जर्ज न्यापले एफ – १८ लडाकु विमानमा पाइलटको पछाडि बसिरहेका सिस्टम अफिसरले आफ्नो आइफोनबाट ती वस्तुहरू खिचेको बताएका छन् ।विश्वका विभिन्न मुलुकका वैज्ञानिकहरूले लामो समयदेखि आकाशमा देखिने यस्ता अज्ञात उडानबारे अध्ययन र अनुसन्धानहरू गर्दै आइरहेका छन् । तिनीहरूले अन्तरिक्षका कुनै अज्ञात ग्रहमा पृथ्वीका मानवभन्दा धेरै गुणा विकसित प्राणी रहेको हुनुपर्ने अनुमान गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्