कोरोनाको नक्कली प्रमाण–पत्र बनाउने पक्राउ



मापुटो, (एजेन्सी)

मोजाम्बिकमा कोभिड १९ नेगेटिभ भएको नक्कली प्रमाण–पत्र तयार गर्ने एक आपराधिक समूहका चारजना सदस्यलाई प्रहरीले गिरफ्तार गरेको छ ।

तिनीहरूको गतिविधि रेस्सानो गार्सिया सीमा चौकी वरपर निकै सक्रिय रहेको बताइएको छ । मोजाम्बिकको राष्ट्रिय अपराध अनुसन्धान सेवा (सेर्निक) का अनुसार उक्त क्षेत्रका मानिसहरूलाई छिमेकी मुलुक दक्षिण अफ्रिका जानका लागि कोभिड १९ नेगेटिभ उल्लेख भएको प्रमाण–पत्रको अति जरुरी हुने गरेको छ ।

सेर्निकका प्रवक्ता हिलारियो लालेले दुईजना मार्चको मध्यतिर र अन्य दुईजना सोमबार राजधानी मापुटोमा पक्राउ परेको बताएका छन् । पक्राउ परेकामध्ये तीनजना सरकारी स्वास्थ्य कार्यकर्ता र अर्को एकजना तिनीहरूको सेवाको प्रचार प्रसार गरेर ग्राहक खोज्ने व्यक्ति रहेको बताइएको छ ।

यो समूहले ग्यारेन्टीका साथ नेगेटिभ रिपोर्ट भएको प्रमाण पत्र दिलाईदने भन्दै प्रतिव्यक्ति ५० देखि ६० अमेरिकी डलर उठाउने गरेको थियो । सरकारी अस्पतालमा पनि बाह्य मुलुक जानका लागि गरिने कोभिड १९ परीक्षण निशुल्क छैन भने निजी क्लिनिकमा यस्तो परीक्षणका लागि कम्तिमा सय डलर पर्दछ । अधिकांश मोजोम्बिकनहरू कामको खोजीमा र सस्तो सामान किन्नका लागि दक्षिण अफ्रिका जाने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्