सपनाले हराइन् भारतीय पुरुष रेस्लरलाई



काठमाडौं, (नेस)

नेपाली महिला रेस्लर सपना तामाङले अन्तर्राष्ट्रिय रेस्लिङमा भारतीय पुरुष रेस्लर देव द बुललाई शनिबार पराजित गरेकी छन् ।नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा भएको प्रतियोगितामा सपनाले बुललाई सिंगल म्याचमा पराजित गरेकी हुन् ।

खेलाडी सिर्जना कोजु, सपना तामाङ, स्नेहा थापा, आकृति पुन, नेपाली ब्रो, गीता जिरेल र जमुना तामाङ सम्मिलित रोयल रम्बल म्याचमा सिर्जना कोजुले जित हात पारिन् । नेपालकी मनिषा रानाभाट र जमुना तामाङबीचको सिंगल म्याच रद्द भयो ।गीता जिरेल र स्नेहा थापाबीचको सिंगल म्याचमा गीता विजयी भइन् । नेपालका नेपाली ब्रो तथा भारतका सुशान्त शर्मा र भारतकै देव द बुलबीचको पुरुष ट्रिपल थ्रेटमा नेपाली ब्रोले जित हात पारे । शान्तिनगरस्थित आयोजक फाउन्डेसनको हातामा भएको प्रतियोगिताको पुरुष हार्ड कोरमा भारतका हुक्मा रामले नेपाली ब्रोलाई हराए ।

प्रतियोगितामा सहभागी हुन अमेरिका, जापान र पाकिस्तानका खेलाडीलाई आमन्त्रण गरिएकोमा कोरोना भाइरस (कोभिड– १९) का कारण नआएपछि नेपाल र भारतका रेस्लरको मात्र प्रतिस्पर्धा गर्नुपरेको आयोजक फाउन्डेसनकी अध्यक्ष भगवती खड्का (युनिका) ले जनाइन् । आमन्त्रण गरिएका खेलाडीहरू नआउने भएपछि भृकुटीमण्डपमा तय गरिएको प्रतियोगितालाई शान्तिनगरस्थित आफ्नै हातामा आयोजना गरिएको अध्यक्ष खड्काले जानकारी गराइन् ।

प्रतिक्रिया दिनुहोस्