नेपालको त्रि–नेसन्स सिरिज जितबाट शुरूवात



नेपाल समाचारपत्र, काठमाडौं

नेपालले त्रि–नेसन्स टी २० क्रिकेट सिरिज जितबाट शुरूवात गरेको छ । शनिबार भएको खेलमा नेपालले नेदरल्यान्डस्लाई सहजै ९ विकेटले हराएको हो । त्रिवि मैदानमा भएको उदघाटन खेलमा पाहुना टिम नेडरल्यान्डस्ले १ सय ३६ रनको मध्यम लक्ष्य दिएको थियो । जवाफमा घरेलु टिम नेपालले १ विकेट गुमाएर १५ ओभरमा लक्ष्य प्राप्त गरेको थियो ।

ओपनर कुशल भुर्तेल र आसिफ शेखले शतकीय साझेदारी गरेपछि नेपालले सहज जित हासिल गरेको थियो । कुशल र आसिफले पहिलो विकेटका लागि १२।४ ओभरमा १ सय १६ रनको साझेदारी गरेका थिए । जसमा कुशलले सर्वाधिक ६२ रन जोडे । प्लेयर अफ द म्याच घोषित उनले ४६ बलको सामना गर्दै ५ चौका र ५ छक्का प्रहार गरेका थिए ।यस्तै ३८ बलको सामना गरेका आसिफ ५४ रनमा नटआउट रहे । उनले ४ चौका र ४ छक्का प्रहार गरेका थिए । यसैगरी कुशलको स्थानमा आएका कप्तान ज्ञानेन्द्र मल्ल १३ रनमा नटआउट रहेका थिए । यसमा ज्ञानेन्द्रले एक छक्का पनि प्रहार गरेका थिए । डच बलरमा जुलियन डेमेले नेपालको ओपनिङ साझेदरी तोडेका थिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेदरल्यान्डस्ले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ३५ रन बनाएको थियो । टिमका लागि बास डी लिडेले सर्वाधिक ४१ रन जोडेका थिए । ४९ बलमा ३ चौका र २ छक्का प्रहार गरे पनि उनी अर्धशतकमा पुग्न सकेनन् । उनले १२ रनका लागि २ विकेट गुमिसकेको अवस्थाबाट टिमलाई उकासेका थिए ।ओपनर मेक्स ओडोवड १० रनमै पभेलियन फर्केका थिए । सन्दीप लामिछानेले उनलाई आउट गरेर नेपालको लागि पहिलो सफलता दिलाएका थिए । यसपछि बेन कुपर शून्यमै आउट भए । सोमपाल कामीले उनको विकेट लिएका थिए ।यसपछि, डी लिडे र ओपनर स्कट एडवार्डस्ले तेस्रो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए ।

नेपालको लागि खतरा बनिरहेको उक्त साझेदारीलाई शाहब आलमले तोडे । शाहबको यो टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो विकेटसमेत हो । एडवार्डस्ले ३२ बलको सामना गरी २ चौका र १ छक्कासहित ३० रनको योगदान दिएका थिए ।टिमलाई सम्हालिरहेका डी लिडे पनि केही रन बनाउँदै आउट भए । उनी ९९ रनको योगफलमा आउट भएका थिए । उनको विकेट सन्दीपले लिएका थिए । उनको विकेट पतनसँगै डच टिमले ठूलो स्कोर बनाउने सम्भावना पनि सकिएको थियो । यद्यपि कप्तान पिटर सिलार र एन्टोनियस स्टालले आक्रमक ब्याटिङ गरेर टिमको स्कोर बढाएका थिए ।सिलार २३ रनमा र स्टाल २० रनमा नटआउट रहे । स्टालले ९ बलमै २ चौका र १ छक्का प्रहार गरेर रन बटुलेका थिए । नेपाली बलरमा सन्दीपले सर्वाधिक २ विकेट लिए । उनले त्यति विकेट लिन ४ ओभरमा २२ रन दिए । शाहब र सोमपालले १-१ विकेट लिएका थिए । अन्य बलरमा अविनास बोहरा र करण केसीले ४÷४ ओभर बलिङ गरे पनि विकेट प्राप्त गर्न सकेनन् ।

विश्व कीर्तिमान बन्यो

नेदरल्यान्डस्विरुद्धकोे टी २० अन्तर्राष्ट्रिय खेलमै नेपालको तर्फबाट विश्व कीर्तिमान बन्यो । नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि १ सय १६ रनको साझेदारी गरेर विश्व कीर्तिमान रचेका हुन् । उनीहरू दुबै जनाले टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका हुन् ।डेब्यु गरेका खेलाडीले गरेको उक्त साझेदारी टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतकीय साझेदारी समेत हो । यसअघिको सर्वाधिक ९० रनको साझेदारीलाई उनीहरूले तोडेर टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाउन सफल भएका थिए ।यसअघि मोजाम्बिकका डामिसो कुवानो र फिलिप कोसाले सन् २०१९ मा डेब्यु खेलमै विश्व कीर्तिमान रचेका थिए । उनीहरूले मलाबीविरुद्ध छैटौं विकेटका लागि उक्त साझेदारी गरेका थिए । अब डेब्यु खेलाडीले साझेदारी गरेको विश्व कीर्तिमान नेपाली खेलाडीको नाममा दर्ता भएको छ ।

उच्च ओपनिङ साझेदारी

कुशल र आसिफले गरेको उक्त १ सय १६ रनको साझेदारी नेपालको तर्फबाट टी २० अन्तर्राष्ट्रियमा अहिलेसम्मकै उच्च ओपनिङ साझेदारी पनि हो । यसअघि गत २०७६ मा भएको १३ औं सागअन्तर्गत पुरुष क्रिकेटमा नेपालको तर्फबाट पारस खड्का र ज्ञानेन्द्र मल्लले कीर्तिमानी साझेदारी गरेका थिए । उनीहरूले भुटानविरुद्ध ओपनिङ साझेदारीमा १ सय ८ रन जोडेका थिए । यो कीर्तिमानलाई कुशल र आसिफले तोडेका छन् ।

डेब्युमै अर्धशतक

नेपालको तर्फबाट हालसम्म तीन खेलाडीले डेब्युमै अर्धशतक बनाएका छन् । सन्दीप जोरा डेब्युमै अर्धशतक बनाउने पहिलो नेपाली क्रिकेटर हुन् । सन्दीपले युएइविरुद्ध ५३ रन बनाएका थिए । कुशल डेब्युमै अर्धशतक बनाउने दोस्रो नेपाली क्रिकेटर बने भने आशिफ डेब्युमै अर्धशतक बनाउने तेस्रो नेपाली क्रिकेटर बनेका छन् । नेदरल्यान्डस्विरुद्धको खेलमा कुशलले ३० बलमा अर्धशतक पुरा गरे भने आशिफले ३६ बलमा अर्धशतक पुरा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्