सुदूरपश्चिममा शहरी विकासका आयोजनाको अनुगमन तीव्र



राजु श्रेष्ठ, दिपायल । 

सुदूरपश्चिम प्रदेशमा सञ्चालित विभिन्न आयोजनाको शहरी विकास मन्त्रालयले प्राविधिक जाँचसहितको अनुगमनलाई तीव्र पारेको छ । मन्त्रालयअन्तर्गत सञ्चालित आयोजनाहरूको प्राविधिक पक्ष र लक्ष्यअनुसारको काम तथा बिल भुक्तानीजस्ता पक्षमाथि मन्त्रालयस्तरबाट अनुगमन भएको हो ।

संघीय सरकारबाट स्थानीयस्तरमा निर्माणधीन सडक, सरकारी भवन, अस्पताल, सभागृह, नहरलगायतका पूर्वाधारहरूको प्राविधिक जाँचसहितको अनुगमन गरिँदा फिल्डमा खटिने कर्मचारीलाई हौसला प्रदान गर्नुका साथै कतिपय सन्दर्भमा भेटिएका कमिकमजोरी सुधार गर्न बेलैमा सचेत हुने भएकाले मन्त्रालयस्तरबाट भएको अनुगमनले सकारात्मक प्रभाव पार्ने सरोकारवालाहरूको भनाइ छ । दिपायल–सिलगढी नगरपालिकाका पूर्वप्रमुख जीतबहादुर खड्काले मन्त्रालयस्तरबाट यस किसिमको अनुगमन नियमित हुनुपर्ने धारणा राख्नुहुन्छ । उहाँले भन्नुभयो–‘उपभोक्ता, जनप्रतनिधिलगायत स्थानीयस्तरबाट निर्माणाधीन आयोजनाहरूको अनुगमन हुँदै आएको छ । तर, मन्त्रालयस्तरबाट प्राविधिक जाँचसहित अनुगमन हुँदा कर्मचारी पनि सचेत हुनुका साथै निर्माण कम्पनीलाई गुणस्तरीय र निर्धारित अवधिभित्रै काम पूरा गर्न दबाब हुने भएकाले अनुगमनको परिणाम सकारात्मक नै आउँछ ।’

त्यस्तै फिल्डमा भएका कामको अनुगमन फिल्डमै गएर गरिनु सकारात्मक पक्ष रहेको शहरी विकास मन्त्रालयअन्तर्गत रहेको सघन शहरी तथा भवन निर्माण आयोजना डोटीका प्रमुख दीपक श्रेष्ठले बताउनुभयो । मन्त्रालयस्तरबाट हुने अनुगमनले फिल्डमा खटिने कर्मचारीको हौसला बढाउनुका साथै कुनै समस्या देखिए तत्कालै समाधान गर्न सकिने उहाँको भनाइ छ । आयोजना प्रमुख श्रेष्ठले भन्नुभयो–‘सुदूरपश्चिम प्रदेशको पनि दुर्गम क्षेत्रहरू यस आयोजनाको कार्य क्षेत्रभित्र रहेका छन् । फरक–फरक भूगोलका छवटा जिल्लामा सञ्चालित योजना हामी मातहत रहेका छन् । सीमित जनशक्ति र स्रोत साधनका बीच कार्यसम्पादन गर्नु परेको स्थितिमा मन्त्रालय र विभागबाट अनुगमन हुनु सकारात्मक छ । हामीले कार्यक्षेत्रको स्थिति प्रष्ट्याउने मौका पाउनुका साथै कर्मचारी र कामको मूल्याङ्कनसमेत हुने गरी यस्ता अनुगमन नियमित गर्न जरुरी छ ।’मन्त्रालय र विभागस्तरबाट अनुगमन नियमित भएको अवस्थामा केन्द्रबाट हेर्ने दृष्टिकोण पनि परिवर्तन हुने आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो ।

शहरी विकास मन्त्रालयको प्राविधिक टोलीबाहेक राष्ट्रिय सतर्कता केन्द्रका प्राविधिक र सञ्चारकर्मीसहितको अनुगमन टोलीले मन्त्रालयअन्तर्गत निर्माण भइरहेका आयोजनाको गुणस्तर तथा तोकिएको मापदण्डअनुसारको संरचना निर्माणलगायतका विषयमा सुदूरपश्चिम प्रदेशका विभिन्न आयोजनाको अनुगमन गरेको थियो । अनुगमन टोलीका संयोजक शहरी विकास मन्त्रालय उपसचिव वैकुण्ठ उपाध्यायले अनुगमन सन्तोषजनक रहेको बताउनुभयो । उहाँले केही विषयमा सुधार गर्न हामीले फिल्डमा नै सम्बद्ध पक्षलाई निर्देशन दिएका छौं । बाँकी विषय प्रतिवेदनमा उल्लेख गर्ने भएकाले त्यसलाई सम्बद्ध पक्षबाट आवश्यक निर्देशन आउने बताउनुभयो ।मन्त्रालयको टोलीले कैलाली, कञ्चनपुर, डडेलधुरा र डोटी जिल्लाअन्तर्गत डोटीमा निर्माणाधीन सभाहल, इन्द्रचोक–नचनतोली भित्री सडक, सेती–दिपायल एयरपोर्ट सडक, डडेलधुरामा तुफानडाँडा–टुँडिखेल सडक, डडेलधुरा उपक्षेत्रीय अस्पताल, कञ्चनपुरको भीमदत्त–घटाल–वैद्यनाथ–उलटाखाम सडक, शुक्लाफाँटा नगरपालिका भवन र कैलालीको भन्सार–राजपुर सडक, धनगढी सभाहल, बेलादेवी सडकलगायतको स्थलगत अनुगमन गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्