निरास बनेकालाई चाँडै नै खुसीको खबर दिन्छौं :यज्ञराज सुनुवार



नेकपा एमालेका केन्द्रीय सदस्य यज्ञराज सुनुवार ओखलढुंगाबाट संघीय प्रतिनिधिसभामा निर्वाचित सांसद हुनुहुन्छ । उहाँ एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनुपूर्वको एमाले जिल्ला कमिटी ओखलढुंगाका इन्चार्जसमेत रहनुभएकाको थियो । एमाले पुनःस्थापित भएपछि एमालेभित्र अध्यक्ष ओली र माधव नेपाल समूहबीच टकराव बढ्दा देशभर समिति बनाएर एक–अर्कामाथि कारबाही गरिरहेको अवस्थामा ओखलढुंगामा ओली समूहले साविकको एमालेको पदाधिकारी सबै हटाएर नयाँ समिति गठन गरेको छ ।माधव नेपाल समूहमा रहनुभएका सुनुवारको जिल्लामा भने कुनै समिति बनेको छैन । विभाजित होइन एकताबद्ध एमाले बनाउने अभियानमा रहेको बताउनुहुन्छ उहाँ । प्रस्तुत छ, यसै सन्दर्भमा सुनुवारसँग नेपाल समाचारपत्र दैनिकका ओखलढुंगा जिल्ला संवाददाता लीला सुनुवारले गरेको कुराकानीको सार संक्षेप :

नेपाल कम्युनिस्ट पार्टी विभाजित भई पूर्ववतरूपमा एमाले र माओवादी केन्द्र भएको अवस्था छ । यसलाई कसरी हेर्नुभएको छ ?

अहिले नेकपा एमाले र खास गरी कम्युनिस्ट आन्दोलनमा जुन घटना घटिरहेको छ, यसले मतदाता र नागरिकहरुलाई मर्महात तुल्याएको छ । यसप्रति जति क्षमा मागे पनि नेतृत्व तहबाट अपुग हुन्छ । हामीले गएको निर्वाचनमा मतदातासामु भनेका थियौं– ‘अर्को निर्वाचनमा आउँदा दुई थरि चुनाव चिह्न र दुई पार्टी भनेर आउँदैनौं ।’ दुर्भाग्य भन्नुपर्छ, पार्टी एकताको पक्षमा, कम्युनिस्ट पार्टीलाई मत दिने मतदाताहरु, नागरिक र कार्यकर्ताहरु, केन्द्रीय नेताहरु कसैले पनि कुनै असहमति नराखीकन जनस्तरबाट समेत पार्टी एकता अनुमोदन भएको थियो ।नेतृत्व तहमा देखिएको वैमनश्यता र खिचातानीले हामीलाई आज हामीलाई अदालतले जुन फैसला गरेको छ २०७५ साल जेठ २ गते अघि पु¥याएको छ । यो फैसलाप्रति नै मेरो गम्भीर असहमति छ ।जहाँसम्म अहिले पार्टी एकीकरणपूर्व फर्क भनेर अदातलले भनिसकेपछि पनि यसको उपयुक्तता वा अनुपयुक्तताको विषय फरक होला, तर म त्यतातिर जान चाहान्न ।

पार्टी विभाजनपश्चात् जिल्लामा यसको प्रभाव कस्तो छ ?

कम्तीमा पार्टी अध्यक्षले नवौं अधिवेशनबाट निर्वाचित सांगठानिक संरचना पार्टीले पारित गरेको राजनीतिक प्रतिवेदन र त्यति बेला पारित विधानका आधारमा पार्टीलाई सञ्चालन गर्नुपर्ने थियो तर, त्यसो हुन सकेन । र, पार्टीको केन्द्रीय तहमै यस विषयमा ठूलो विमति रहिरहेको सन्दर्भमा देशव्यापीरूपमा नेकपा एमाले संकटग्रस्त अवस्थामा गुज्रिरहेको अवस्था छ । ओखलढुंगा जिल्लामा कम्तीमा एमालेको आठौं जिल्ला अधिवेशनबाट निर्वाचित नेतृत्वकै अध्यक्षतामा बैठक बसौं भनेर लामो पहल र प्रयत्न भयो । दुर्गभाग्यवश भन्नुपर्छ पदका आकांक्षीहरुले, पार्टीको, कम्युनिस्ट आन्दोलनको अग्रगतिका लागि भन्दा पद र प्रतिष्ठाको आकांक्षा बोकेका, एक हिसाबले भन्दा किनुवा र बेचुवा मान्छेहरु राखेर समानान्तर कमिटी बनाउने तथा बैठक बस्ने काम भएको छ । यो आठौं जिल्ला अधिवेशनबाट निर्वाचित नेतृत्वकै अध्यक्षको अध्यक्षतामा बैठक बस्नुपर्ने हो, त्यसो गरिएन । २०७५ साल जेठ २ गते नेकपा एमालेको इञ्चार्ज थिएँ, जिल्ला नेतृत्व थियो, त्यो विन्दुमै बसेर बैठक बसाै भन्ने धेरैको आग्रह र माग थियो त्यो हुन सकेको छैन ।

जिल्ला–जिल्लामा नयाँ कमिटी बनाइसकेको अवस्था छ, तपाईं अझैं एकताबद्ध एमाले भन्दै हुनुहुन्छ । के यो सम्भव छ ?

सम्भव छ । अहिले हामी नाजुक अवस्थामा आइपुगेका छौं । अब नयाँ परिस्थितिबाट अघि बढ्नुपर्छ । पार्टीलाई एकजुट बनाएर अघि बढ्नका लागि क्रियाशील छौं । अब त्यस्ता पदका आकांक्षी र अवसरका पछि कुद्ने, किनुवा र बिकुवा मान्छेबाहेक सबै नेकपा एमाले एकढिक्का हुनुपर्नै अवस्था आएको छ । नेकपा एमालेको अगुवाइमा तमाम कम्युनिस्ट पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्छ । त्यस दिशामा मेरो पहल रहिरहन्छ ।देशव्यापीरूपमा वा केन्द्रमा जेसुकै समस्या भए पनि ओखलढुंगामा त्यो समस्या नआओस् भनेर मैले पहल र प्रयत्न गरेको थिएँ, गरिरहेको छु । कम्युनिस्टहरुलाई मात्रै होइन, देशभक्त, प्रगतिशील व्यक्तित्वहरुलाई एकताबद्ध बनाउनका लागि पहल र प्रयत्न गर्न सक्ने व्यक्तित्वहरुलाई राखेर बैठक आयोजना गर्न लागेका छौं । उहाँहरुकै सल्लाहअनुसार हामी अगाडि बढ्छौ. ।

पार्टीको अवस्था हेर्दा तपाईंको प्रयत्न सफल हुने सम्भावना छ र ?

वास्तवमा सर्वोच्चको फैसला नै यही थियो र गर्नुपर्ने पनि यही थियो । आफूअनुकूल व्याख्या गर्नुभएन नि ! २०७५ साल जेठ २ गते फर्किने काम केन्द्रीय तहमा गर्नुपथ्र्यो । तर, केन्द्रीय तहमा भएन भने तमाम पार्टी एकताका पक्षमा उभिएका, पार्टी एकतालाई जोगाउन लागेका र कम्युनिस्ट आन्दोलनलाई अघि बढाउनका लागि योगदान दिएका साथीहरु एमालेलाई एकताबद्ध बनाउने पक्षमा छन् । त्यसैले यो प्रयत्न सफल हुनेमा म ढुक्क छु ।

जिल्लामा एमालेको दुई पक्षले छुट्टाछुट्टै कमिटी बनाइरहेको अवस्था छ । यस विषयमा तपाई के भन्नुहुन्छ ?

मेरो त प्रस्ट भनाइ छ समानान्तर गतिविधीहरु ओखलढुंगा जिल्लाको सन्दर्भमा पदका भोकाहरुले मात्रै गरिरहेका छन् । एक प्रकारले राजनीतिकरूपमा, नैतिकरूपमा चुकेकाबाहेक संकटको घडीमा योगदान गरेका तमाम इमानदार कार्यकर्ता पार्टी एकताको पक्षमा लागिरहेका छन् । उनीहरू पार्टीको काँधमा रहेको गम्भीर अभिभारा पूरा गर्नका लागि चिन्तित रहेको पाएको छु ।म सबै गाउँ र बस्तीमा पुगेको छु, सबैको चहाना पार्टी एकतामा छ । अहिले जसले विभाजनकारी गतिविधि गरिरहनुभएको छ, एक दिन उहाँहरुले प्रायश्चित गर्नुपर्नेछ । जनताले उचित मूल्यांकन गर्नेछन् भन्ने मैले विश्वास लिएको छु ।

अब पार्टीको काम कसरी अघि बढ्छ, के योजना बनाउँदै हुनुहुन्छ ?

पार्टीलाई सुदृढ गरेर अघि बढ्नुको विकल्प छैन । मैले पहिले नै भनिसकें कि केही प्रलोभन, आश्वासनका पछि मान्छेहरु दौडिनुको कुनै अर्थ छैन ।हजारौं मतदाताहरुको भावनामा ठेस पुग्ने गरी जुन खालका गतिविधि ओली समूहका नाममा भइरहेका छन् । यो नेकपा एमालेका लागि मात्रै होइन, सिंगो कम्युनिस्ट आन्दोलनकै दुर्भाग्य हो । केन्द्रदेखि भइरहेका गलत रवैयाको प्रभाव यहाँ पनि परेकै छ । यस बेला जिल्लाको विकासका लागि एक भएर जुट्नुपर्ने समयमा कार्यकर्ताहरु विभाजन गर्ने, जनताहरुलाई दिग्भ्रमित पार्ने काम भइरहेका छन् । कम्तीमा ओखलढुंगा जिल्लामा यो नगरौं भनेर कयौंपकट आग्रह गरें ।अब छिट्टै नै जनता र कार्यकर्तासामु हामी एउटा अभियान लिएर जाँदै छौं । त्यसले निरास बनेका कार्यकर्ता, मतदाता र आम जिल्लाबासीलाई उत्साह भर्ने विश्वास लिएका छौं ।मेरो कार्यकाललाई विकासको दृष्टिकोणले स्वर्णिम कालका रूपमा अघि बढाउन क्रियाशील छु । मेरो दोहोरो जिम्मेवारी छ, म पार्टीको केन्द्रीय सदस्य छु, सँगसँगै प्रतिनिधिसभाको सदस्य पनि रहेका कारणले यति बेला मेरो मूल ध्यान भनेको समृद्ध ओखलढुंगा बनाउन कसरी सकिन्छ, छिटो विकासका काम कसरी अघि बढाउन सकिन्छ भन्ने नै हो । यसबीचमा पार्टीको जीवनमा जुन खाले समस्या आएका छन् । पार्टीमा केही समस्याहरु छन्, तीनलाई शुद्धीकरण गरेर अघि बढ्नुको विकल्प छैन ।

जिल्ला पार्टी कार्यालयमा एक गुटले हस्तक्षेप गरिसकेको अवस्था छ । यसमा तपाईं मत के छ ?

यहाँहरुलाई थाहा छ कि हाम्रै अगुवाइमा मेरै नेतृत्वमा नेकपा एमालेले पहिलोपटक निर्वाचन जित्नेदेखि वर्षौंदेखि भाडाको पार्टी कार्यालयलाई घरसम्म पु¥याएको हो । मजस्ता सयौं कार्यकर्ताहरुको बलिदानबाट ओखलढुंगा लालकिल्ला बनेको सबैलाई थाहा छ । संगठन निर्माणदेखि पार्टी कार्यालय निर्माणसम्म पनि म आफैं पार्टी अध्यक्ष रहेको बेला सम्पन्न भएको हो ।यस अभियानमा तमाम कार्यकर्ताहरुले गाँस कटाएर योगदान गर्नु भएको छ । त्यो संगठन, त्यो भवन परिर्वतनकामी सोच राख्ने, एउटा निष्ठाको प्रतिकका रूपमा कार्यालय निर्माण गरिएको हो । त्यसलाई थप व्यवस्थित गर्ने काम बाँकी छ । सवाल को कार्यालयमा रहनेभन्दा पनि जनताको मनमा रहने ठूलो कुरा हो । हाम्रो गतिविधि त्यस दिशामा केन्द्रित छ ।
कार्यालयको सन्दर्भमा, कार्यालय सञ्चालनको सन्दर्भमा जिल्ला पार्टीको बैठकबाट छिट्टै निर्णय लिनेछौं ।

१. अब छिट्टै नै जनता र कार्यकर्तासामु हामी एउटा अभियान लिएर जाँदै छौं । त्यसले निरास बनेका कार्यकर्ता तथा मतदातालाई उत्साह भर्ने निश्चित छ ।

२. सवाल को कार्यालयमा रहनेभन्दा पनि जनताको मनमा रहने ठूलो कुरा हो । हाम्रो गतिविधि त्यस दिशामा केन्द्रित छ ।

प्रतिक्रिया दिनुहोस्