म्युजिक इन्डस्ट्री व्यावसायिकले भन्दा पनि सौखिन कलाकारले धानेका छन्:जुगल डंगोल



तीन दशकदेखि संगीत क्षेत्रमा सक्रिय जुगल डंगोल कुशल संगीतकार र संगीत सयोजकका रूपमा स्थापित छन्। ललितकला क्याम्पसबाट बीम्युज गरेपछि २०४८ सालदेखि विद्यालयहरुमा संगीत सिकाउन शुरु गरेका डंगोलले लोक, आधुनिक, पप, फिल्मीलगायत सगीतका सबैजसो विधाका करिब ५ सय गीतमा संगीत भरेका छन् भने हजारौं गीतका लागि संगीत संयोजन गरेका छन्। शिवशक्ति, ठेगानालगायत करिब एक दर्जन फिल्मका लागि पाश्र्वसंगीत भरेका उनका विभिन्न विधाका २६ एकल एल्बम प्रकाशित छन् भने जापनिज गीतमा पनि संगीत दिएका छन्।

हाल उनी नेवारी शास्त्रीय संगीतका बारेमा अध्ययन गरिरहेका छन्। उनले ११ वर्षअघि बालगायिका ३ वर्षकी अतिथि केसी गौतमको गीतमा संगीत भरेर विश्वकै सबैभन्दा कम उमेरकी गायिकालाई गीत गाउन लगाउने संगीतकारका रूपमा विश्व रेकर्डसमेत कायम गरेका छन्। उनै संगीतकर्मी डंगोलसँग नेपाल समाचारपत्रका लागि गरिएको कुराकानी यहाँ प्रस्तुत छ :

हाल के गर्दै हुनुहुन्छ?
आर्टोम्युज नामक आफ्नै स्टुडियो सञ्चालन गरिरहेको छु। स्टूडियोका काममा व्यस्त छु। सितारलाई नयाँ फ्युजनमा नयाँ तरिकाले प्रयोग गरेर एल्बम ल्याउँदै छु।

तपाईं एरेन्जर कि कम्पोजर?

नेपालको कन्टेस्टमा कम्पोजमा प्रोफेसनल्ली लागे पनि टिक्न गाह्रो छ। एरेन्जर भएर चाहिँ धेरै समयसम्म काम गर्न सकिन्छ। जति धेरै काम ग-यो, त्यति परिस्कृत पनि हुँदै गइन्छ। एरेन्जलाई पेसा बनाएर जाने हो भने सजिलो छ। कम्पोजर हराउँछ, तर एरेन्जर सधैं रहिहरन्छ। त्यस कारण दुवै विधामा सक्रिय छु।

प्रायः संगीत संयोजकपछि संगीतकार बन्छन्, तर तपाईं संगीतकार भएपछि संगीत संयोजकका रूपमा कसरी आकर्षित हुनुभयो?

संगीतकार मात्र भएर बाच्न गाहो छ। मैले आफैंले भोगेको र देखेको अनुभवमा संगीतकारको लाइफ छोटो हुन्छ। संगीतकारको जीवन भनेको फिल्मको हिरोइनको जस्तै हो, चलुन्जेल हाईहाई हुने र पछि हराइहाल्ने। त्यसैले संगीत संयोजनमा आए।

संगीतकार र संगीत संयोजकमा के फरक छ?

संगीत संयोजक हुनका लागि संगीतका सम्पूर्ण कुराको ज्ञान हुन जरुरी छ। म्युजिक एरेन्ज भनेको छुट्टै विधा हो। सबै संगीकार एरेन्जर हुन सक्दैनन्, तर सबै एरेन्जरचाहिँ संगीतकार हुन सक्छन्। एरेन्जरका लागि विषेश ज्ञान चाहिन्छ। धेरै इन्स्ट्रमेन्ट र म्युजिकका आयामबारे एरेन्जरलाई थाहा हुनुपर्छ। तर, नेपालमा संगीतकारलाई त्यो सबैको जरुरत पर्दैन।

संगीत सिर्जना र संगीत संयोजक केमा क्रियटिभ माइन्ड चाहिन्छ?

संगीतकार त क्रियटिभ भई नै हाल्यो। तर, संगीत संयोजक चाँहि क्रियटिभ प्लस केक्निकल हुनुपर्छ। संगीतकारले एउटा सोच्छ भने त्यही विषयमा सय ओटा सोच्न सक्ने खुबी संगीत संयोजकमा हुनुपर्छ।

कुन विधाको संगीतमा रमाउनुहुन्छ?

आधुनिक संगीतमा बढी इन्जोय गर्छु। आधुनिक संगीतमा खुलारूपमा कल्पना गर्न सकिन्छ। अन्य विधामा भने बाउन्ड्री हुन्छ। जस्तै फिल्ममा सिचुएसन, कथाअनुसार गर्नुपर्छ भने आधुनिकतामा त्यसो हुँदैन।

एउटा गीत सफल हुनका लागि संगीत संयोजकको कत्तिको हात हुन्छ?

संगीतकार भनेको गीतको पिता हो भने संयोजकको काम भनेको कुन चिजलाई कहाँ कसरी प्रयोग गर्दा कर्णप्रिय हुन्छ, मान्छेले मन पराउँछ भन्ने कुराको ज्ञाता हो। संगीतलाई जीवन्तता दिने भनेको संगीत संयोजकले हो। यस कारण गीत सफल हुनका लागि एरेन्जरको महत्वपूर्ण भूमिका रहन्छ।

तपाईंलाई सजिलो चाहिँ केमा लाग्छ?

मजा त संगीत सिर्जनामा लाग्छ। किनभने आफूले जे कल्पना ग-यो, त्यही प्रयोग गर्न पाइन्छ। तर, संगीत संयोजकका रूपमा काम गर्दा अरूले कम्पोजिसन गरेको कुरामा आफू बाँधिनुपर्छ। अरूको ट्र्याकमा हिँड्नुपर्छ। कलाकारलाई मनमा जे लाग्यो त्यही कुरा गर्न पायो भने त्यो जस्तो खुसी र आनन्द अर्को हुँदैन।

हिजोआज संगीतकारहरु आफैं गीत गाउन थालेका छन्। तपाईंचाहिँ गाउनुहुन्न?
म क्लासीकल भोकलको विद्यार्थी हुँ। मैले गुरु प्रविण राज ढकालसँग क्लासीकल भोकल र पण्डीत होमनाथ उपाध्यायसँग तबला सिकेको हुँ। म गाउन त सक्छु, तर गाउन भन्दा पहिलेदेखि नै कम्पोजिसनतिर ध्यान गयो। त्यही कारण मैले गाइन।

संगीतकारहरु आफूले कम्पोज गरेको गीतमा गाउने पहिलो अधिकार संगीतकारकै हुन्छ भनिरहेका छन् नि?

संगीतकारले गीत गाउन नहुने होइन। संगीतकारहरु बढी जस्तो गाउन सक्ने नै हुन्छन् र उनीहरुले गाएर नै कम्पोज गरेका हुन्छन्। गायक–गायिकामा भन्दा संगीतकारमा सिगिङ टेक्निक बढी हुन्छ। तर, प्रस्तुतिका रूपमा, भोकल टोनका रूपमा संगीतकारको भन्दा गायक–गायिका धेरै राम्रो हुन सक्छन्। त्यही भएर गायक–गायिकाले गाउने हो। उनीहरु गाउनकै लागि भनेर प्राक्टिस गरेर आएका हुन्छन् र उनीहरुको स्वरको अगाडि संगीतकारको स्वर कम नै हुन्छ।

तपाईं संगीतको शिक्षा लिएको र दिएको मान्छे, संगीत शिक्षा दिने तरीका ठीक छ?

अहम् छैन। संगीत सिकाउने तरिका परिवर्तन गर्नु एकदमै जरुरी छ। हामी अहिले पनि पहिलेकै अनुसार संगीत सिकाउँछौं र सिक्छौं। संगीत सिक्दा र सिकाउँदा पूर्वीय शास्त्रिय संगीतबाट नै शुरु गर्नुपर्छ भन्ने मान्यताका कारण सारेगम सिकाइन्छ। जबकि सिक्ने व्यक्तिलाई रक, पपलगायत अन्य विधामा रुचि हुन सक्छ। पछि उसले वेस्टर्न म्युजिक गर्न प¥यो भने सिकाइ ढिलो हुन्छ। बजारमा एकथरी बिक्छ भने हामी अरू नै चिज उत्पादन गर्नतिर लागिरहेका छौं। यदि प्रतिस्पर्धा गर्न सक्ने खालका संगीत पाठ्यक्रम समावेश गरेर सिकाइयो भने त्यसको उपलब्धि हुन्छ। पहिले हामी हिन्दी गीत सुनेर त्यसबाट प्रभावित भएर नेपाली गीत बनाउथ्याै। अहिलेका युवापुस्ता ग्लोबलाइजेसनका कारण पश्चिमा देशबाट प्रभावित छन्। त्यस कारण जुन विधामा रुचि छ, शुरुदेखि नै त्यही विधामा सिकाइ हुन जरुरी छ। त्यो भयो भने मात्र संगीतको स्तर बढ्छ। एक जना शास्त्रीय गुरु लेनारायण गोपालजस्तो गीत गाउने भनेर संगीत सिक्नुभएको रहेछ। शास्त्रीय संगीत सिकेर मास्टर्स गरियो, तर राम्रो आधुनिक गीत गाउने चाहना अहिलेसम्म पनि पूरा भएको छैन भन्नुहुन्थ्यो। किनभने त्यो विधा नै फरक हो। त्यस कारण जसलाई जुन संगीतमा रुचि छ त्यही सिक्ने र सिकाउने गर्नुपर्र्छ। जुन धारको गायक–गायिका र वाद्यवादक बन्ने हो, त्यही धारको सिक्न पाउनुपर्छ।

तर, शास्त्रिय संगीतलाई त सबै संगीतको गुरु होइन र?

हो, तर यसको प्रयोग आधुनिक संगीतमा कसरी गर्ने भन्ने कुरा नसिकाएको कारण शास्त्रीय संगीत छुट्टै र अरू छुट्टै विधा हो भन्ने परिरहेको छ। शास्त्रीय संगीत भनेको व्याकरण हो। व्याकरण राम्रो सिकेको मान्छेले साहित्य रचना राम्रो गर्छ भन्ने छैन। अहिलेको संगीतको अवस्था भनेको त्यस्तै हो। अहिले संगीत मूलतः एउटा मोर्डन र अर्को क्लासिकल गरी दुई विधामा अघि बढेको देखिन्छ। शास्त्रीय संगीत पनि पुरानो तरिकाबाट सिकाउने र त्यही मात्र संगीत हो भन्ने धारणाका कारण मानिसहरु शास्त्रीय संगीतबाट पन्छिएर टाढा गइरहेका छन्।

यसका लागि तपाईंले पनि केही गर्नुभएको छ कि?

हामीले सिकेको म्युजिकलाई अहिलेको म्युजिकसँगै कसरी लैजान सकिन्छ भन्नेमा लागिरहेको छु। हामी जस्तै हाम्रो बाजालाई परम्परागत शैलीमा मात्र सिक्छौं, बजाउँछौ तर त्यहाँभित्र के छ र त्यसलाई मोर्डन म्युजिकमा ढाल्नतिर ध्यान दिएका छैनौं। हाम्रो बाजाको बनावटदेखि प्रयोगसम्मलाई त्यहीरूपमा विकास गर्न जरुरी छ। जे–जस्तो बाजा बजाए पनि शैली चाँहि हाम्रो हुनुप-यो अनि मात्र हामीलाई त्यो चिज आफ्नो जस्तो लाग्छ। तुङ्नालाई लिड इन्स्ट्रमेन्टका रूपमा प्रयोग गर्न सकिन्छ। अरबाजो भन्ने बाजा हराएर गइसक्यो त्यसलाई प्रयोग गर्न सकिन्छ। भायोलिनको ठाउँमा सारंगी ग्रयोग गर्न सकिन्छ। रिदम सेक्सन इन्स्ट्रमेन्ट नेपालमा अथाह छन्।

नेवारी संगीतभित्रको शास्त्रीय संगीतलाई पनि अगाडि ल्याउनपर्छ भन्नेमा के भन्नुहुन्छ ?

सबै गीतको राग रागिनीमा आधारित ताल पद्धति छुट्टै खालको शास्त्रीय आधारमा छन्। यतिसम्म छ कि इन्डियामा पनि लोप भइसकेका राग अहिले प्रचलनमा छन्। त्यो चिजलाई हामीले केलाएर हेरेको छैन। संगीतका विद्यार्थीहरुले नेवारी संगीतलाई अध्ययन नगरेका कारण त्यहाँभित्र के छ ने थाहा छैन। मानिसहरु पाटी तथा मन्दिरमा बसेर खी बजाइरहको छन्। तर त्यहाभित्र के छ भन्ने अध्ययन नै गरिएन। नेवारी संगीतमा सुर बाजा छैन। कुनै सुर बाजा सविना खी मा सा भनेर स्वर बाजाबिना कसरी गायो होला भनेर इम्याजिनेसन गरेर मैले पत्ता लगाए।

एकताका स्वर परीक्षाबिना गीत गाउन पाइन्न थियो नि?

पहिले रेडियो नेपाल मात्र भएकाले स्वर परीक्षा दिएर मात्र गीत गाउन पाइन्थ्यो। तर, अहिले धेरै माध्यम भएकाले जो पनि गायक–गायिका भइरहेका छन्। पैसा भएपछि गाउन सक्ने अवस्था छ। यसले गर्दा क्वमालिटीमा र साधनामा कमी आएको छ। यसले गर्दा संगीत उद्योगलाई चाहिँ फाइदा भएको छ। व्यावसायिक भन्दा पनि सौखिन कलाकारले इन्डिस्ट्री धानेका छन्।

३ वर्षीया अतिथि केसी गौतमलाई राम्ररी बोलीसमेत नफुट्दै कसरी गाउन सिकाउनुभयो?

खासमा त्यो बेला उसको दिदी उष्णा केसीको गीत रेकर्डिङ भइरहेको थियो। दिदीको गीत रेकर्डिङ भइरहँदा अतिथिले कन्ट्रोल रुममा बसेर म गाउँछु भनेर कराएको कराकै गरेपछि उसलाई फकाउनका लागि ल गाउन त भनेर गाउन लगाएको थिएँ। उसले यसरी गायो कि हामी सबै छक्क प-यौ। उसले गाउँछ भन्ने उसको परिवारलाई पनि थाहा रहेनछ। आफ्नो दिदीले गीत प्राक्टिस गरिरहेका बेला सुनेको भरमा उस्ले सिकेको रहेछ। उसको बोली राम्रोसँग नआएका कारण गाएको शब्द नबुझे पनि उस्तै गरी गाएको थियो। उसमा यो क्षमता देखेपछि उसका लागि छुट्टै गीत बनाउने सोच भयो। शब्द र संगीत तयार पारेपछि उसको घरको प्रत्येक तलामा ३ र गार्डेनमा २ गरी ५ वटा स्पिकर लगाइदिए र उसको बुबाआमालाई उसले सुने पनि नसुने पनि दिनमा ३-४ घण्टा जताततै गीत बजाइदिनू भनें। यो आइडियाले काम ग-यो। उसले एकदेखि दुई दिनको बीचमै सबै गीत र म्युजिक कण्ठ ग-यो। उसको रेकर्डिङको दिन काठमाडौं बन्द थियो। रातिको रेकर्डिङ थियो जाउलाखेलदेखि पुतली सडकसम्म कतै हिँडाएर कतै बोकेर स्टुडियोसम्म ल्याएको थियो। बाटोमा उसले बेच्न राखिएको सुगा मन पराएर किन्न लगाएको रहेछ। मैले स्टुडियोमा रेकर्डिङ शुरु हुने बेलामा तिमीले जति राम्रोसँग गायौ यो सुगाले पनि तिमीले गाइसकेपछि उस्तै गरी गाउँछ भनेपछि उसले ट्र्याकमा तीनचोटीमा गीत रेकर्डिङ भएको थियो।

अबको संगीत क्षेत्र कतातिर जाला?

अहिले संगीत साक्षरता बढेको छ। प्रत्येक योग केटाकेटीहरुले गितार भए पनि सिकेको हुन्छ। गाउन सिकेको हुन्छ। मेरो विचारमा शहरी एरियामा गितार नभएको घर छैन होला त्यसले गर्दा भविष्यमा आउने कलाकारको क्वालिटी एकदमै मेन्टेन हुन्छ। अलिअलि सिकेको मान्छे भयो भने कलाकार पनि अब्बल बन्छ। यस कारण अहिलेको पुस्ताबाट संगीतको आशालाग्दो भविष्य देखेको छु।

प्रतिक्रिया दिनुहोस्