सामान्य प्रशासन मन्त्रालयद्वारा १० वर्षे रणनीति सार्वजनिक



नेपाल समाचारपत्र, काठमाडौं । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुणस्तरीय सेवा प्रवाहका लागि भन्दै १० वर्षे रणनीति सार्वजनिक गरेको छ ।‘सबल संघीयता, सक्षम, सुदृढ र जनउत्तरदायी सार्वजनिक प्रशासन’ भन्ने सोचका साथ सो रणनीति ल्याइएको मन्त्रालयले जनाएको छ । सो रणनीतिले स्थानीय तहको सबलीकरण, तहगत अन्तरसम्बन्धको सुदृढीकरण एवं व्यावसायिक, सदाचारी र उत्प्रेरित कर्मचारीतन्त्रको विकास गरी सार्वजनिक सेवा प्रवाहमा उत्कृष्टता ल्याउने लक्ष्य लिएको बताइएको छ ।

मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले भन्नुहुन्छ– ‘आम नागरिकमा सार्वजनिक प्रशासनप्रतिको सकारात्मक दृष्टिकोण अभिवृद्धि गराई सहज, सरल एवं गुणस्तरीय सेवा प्रवाह गर्नुपर्ने प्रशासनको प्रमुख दायित्व हो । यसै सन्दर्भमा मन्त्रालयले आगामी १० वर्षसम्म सम्पादन गर्नुपर्ने कार्यहरूलाई स्पष्ट दिशा निर्देश गर्न रणनीतिक योजना तयार गरेका हौं ।’ सो योजनाको चार रणनीति स्तम्भमा संघीयता कार्यान्वयन सहजीकरण, सार्वजनिक सेवामा मानव संशाधन व्यवस्थापन, स्थानीय पूर्वाधार विकासमा सहजीकरण र सुशासन राखिएको छ ।

प्रशासन सुधार एवं स्थानीय स्वायत्त शासनसम्बन्धी विगतका प्रयासहरूको समीक्षा गरी प्रशासन सुधार सम्बन्धमा गरिएका प्रयास र प्राप्त भएका सुझावसमेतका आधारमा सोे योजना ल्याएको मन्त्रालयले जनाएको छ ।प्रवक्ता अधिकारीका अनुसार संघीय प्रणालीको परिकल्पनालाई साकार पार्ने सु–स्पष्ट मार्गचित्र तय गर्न, संघीयताका सरोकारवालासँग गर्नुपर्ने समन्वय तथा सहकार्यका क्षेत्र र सीमाको पहिचान गरी प्रभावकारी समन्वयका लागि उपयुक्त आधार तय गर्न र दीर्घकालीन राष्ट्रिय लक्ष्य प्राप्तिका लागि तहगत सरकारहरूबाट सम्पादन हुने विकास कार्यक्रमबीच परिपूरक सम्बन्ध कायम गर्न यो रणनीति महत्वपूर्ण हुनेछ ।

केन्द्रको प्रशासनिक निकायको हैसियतले मन्त्रालयबाट जारी भएको रणनीतिक योजना मन्त्रालय, विभाग, प्रदेश सरकार एवं स्थानीय तहको प्रशासनिक समन्वय तथा नीति निर्माणमा सहयोगी हुने अपेक्षासमेत मन्त्रालयले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्