सर्वोच्चमा न्यायाधीशको संख्याले पायो पूर्णता



नेपाल समाचारपत्र, काठमाडौं । 

सर्वोच्च अदालतमा धेरै समयपछि न्यायाधीशको संख्या पूर्ण भएको छ । उच्च अदालतका प्रस्तावित दुई मुख्य न्यायाधीश डा. कुमार चुडाल र नहकुल सुवेदीलाई संसदीय सुनुवाइ विशेष समितिले सर्वसम्मतरूपमा अनुमोदन गरेपछि सर्वोच्चमा न्यायाधीशको संख्या पूर्ण हुन पुगेको हो । उहाँहरूलाई गत फागुन २८ गते न्यायपरिषद्को बैठकले सर्वोच्चका लागि सिफारिस गरेको थियो ।

डा. चुडाल उच्च अदालत, पाटनका र सुवेदी उच्च अदालत, सुर्खेतका मुख्य न्यायाधीश हुनुहुन्थ्यो । उहाँहरूको नाम सर्वोच्चको न्यायाधीशका लागि प्रस्तावित भएपछि उहाँहरूलाई सर्वोच्चमा काजमा राखिएको थियो ।नेपालको संविधानको धारा ९९ को उपधारा (१) मा सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको अतिरिक्त बढीमा २० जना न्यायाधीश हुने प्रावधान रहेको छ । सर्वोच्चमा धेरै लामो समय प्रधानन्यायाधीशसहित १९ जना न्यायाधीश मात्र कार्यरत रहेका थिए । झन्डै २ वर्षदेखि सर्वोच्चमा न्यायाधीशको दुई पद रिक्त थियो ।नेपालको संविधानको धारा २९२ को उपधारा (१) मा संवैधानिक निकायका प्रमुख वा पदाधिकारी, सर्वोच्च अदालतका प्रधानन्यायाधीश वा न्यायाधीश र राजदूतको पदमा नियुक्त गरिनुअघि संसदीय सुनुवाइ हुनुपर्ने प्रावधान छ ।

सुनुवाइ समितिमा १५ जना सदस्य रहने संवैधानिक व्यवस्था छ । उपधारा (२) मा भनिएको छ– ‘उपधारा (१) को प्रयोजनका लागि संघीय संसद्का दुवै सदस्यहरू रहने गरी संघीय कानुनबमोमिज १५ सदस्यीय एक संयुक्त समिति गठन गरिनेछ ।’सर्वोच्चमा दुई न्यायाधीश नियुक्त भएर आएपछि मुद्दाका संख्या केही कम हुने आशा गरिएको छ । हाल सर्वोच्चमा मुद्दाको संख्या २८ हजारभन्दा बढी पुगिसकेको बताइएको छ ।

अधिवक्ता सन्तोष भण्डारी भन्नुहुन्छ– ‘सर्वोच्चमा लगभग २८ हजारभन्दा बढीको संख्यामा मुद्दा भएको अदालतकै कर्मचारीले बताएका छन् । यसलाई घटाउँदै नलाने हो भने सर्वोच्चले धान्नै नसक्ने अवस्थाको सिर्जना हुने देखिएको छ । दुई जना न्यायाधीश बढ्दैमा मुद्दाको संख्या घट्ने म देख्दिनँ । यसका लागि केही न केही रणनीति अपनाउनु आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्