सर्वदलीय बैठक ‘एमसीसी’ मा केन्द्रित



नेपाल समाचारपत्र, काठमाडौं । 

सरकारले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई अगाडि बढाउने गृहकार्य थालेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीलाई अगाडि बढाउन राजनीतिक दलहरूसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री ओलीले शनिबार बोलाउनुभएको सर्वदलीय बैठकका मुख्य एजेन्डा नै एमसीसी बनेको थियो ।

सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले सभामुख अग्नि सापकोटाप्रति असन्तुष्टि व्यक्त गर्दै सभामुखले एमसीसीमा भाँजो हालेको आरोप लगाउनुभएको थियो । उहाँले सभामुखकै कारण संसद् बन्धक बनेको समेत आरोप लगाउनुभएको जानकारी दिँदै बैठकका सहभागी राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले भन्नुभयो– ‘सभामुख अराजक बन्नुभयो, उहाँले संसद्लाई बन्धक बनाएर सरकारलाई कामै गर्न दिनुभएन भन्ने प्रधानमन्त्रीको भनाइ रह्यो ।’एमसीसीलाई सभामुखले संसद्मा अड्काउने काम गरेको टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले एमसीसीलाई छिटोभन्दा छिटो अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।

बैठकमा कांग्रेसलगायतका दलले पनि सो विषय संसद्मा अड्काएर राख्न नहुने भन्दै त्यसलाई निर्णयार्थ पेस गरिनुपर्ने धारणा राखेको बताइएको छ । बैठकमा कांग्रेसका नेताहरूले एमसीसी पास गर्ने विषयमा सरकारलाई साथ दिने बताएका थिए ।बैठकमा प्रधानमन्त्री ओलीले सरकार राष्ट्रियताको सवालमा स्पष्ट रहेको र त्यसबारे ढुक्क रहन आग्रह गर्दै पछिल्लो समय राजनीतिक प्रणालीलाई कमजोर पार्ने प्रवृत्ति देखिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको थियो ।बैठकपछि परराष्ट्रमन्त्री तथा एमाले नेता प्रदीपकुमार ज्ञवालीले बढ्दो कोरोना महामारीको रोकथाम तथा नियन्त्रण, रिक्त रहेको स्थानमा उपनिर्वाचन र संसद्मा अड्किएको विधेयकबारे छलफल केन्द्रित भएको बताउनुभयो । उहाँले एमसीसीसम्बन्धी विधेयक सभामुखले अड्काउन नमिल्ने भएकाले संसद्ले स्वीकृत अस्वीकृत जे गरे पनि त्यसलाई प्रक्रियामा लगिनुपर्नेमा जोड दिइएको बताउनुभयो ।

कोरोना महामारीबारे सबै दल एकमत रहेको जानकारी दिँदै मन्त्री ज्ञवालीले यसको रोकथाममा सरकारले सजगता अपनाओस्, प्रभावकारी ढंगले काम गरोस् भन्ने सुझाव सबैले दिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘आवश्यक पर्छ भने विद्यालय बन्द गरेर भए पनि कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी कदम चालोस् भन्ने दलहरूको आग्रह छ ।’ उहाँले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका जनप्रतिनिधिको पदपूर्ति गर्ने, उपनिर्वाचन गर्नेबारे पनि सहमति भएको दाबी गर्नुभयो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी कांग्रेस सरकारकै पालामा आएकाले सो विषयलाई अड्काएर राख्न नहुने धारणा आफूहरूले राखेको बताउनुभयो । बैठकमा एमसीसी, उपनिर्वाचन र कोरोना नियन्त्रणको विषयमा छलफल भएको बताउँदै आफूहरूले लकडाउन गर्नतिर भन्दा पनि सरकारले कोरोना नियन्त्रण गर्नका लागि गम्भीर भएर लाग्नुपर्ने सुझाव दिएको बताउनुभयो ।

बैठकमा उपनिर्वाचनसँगै उपसभामुखको निर्वाचन पनि गर्नुपर्छ भन्ने आवाज उठाएको जानकारी दिँदै नेता पौडेलले भन्नुभयो– ‘सरकारले संसद्लाई अपांग बनाउने काम किन गरिरहेको छ, यसमा हाम्रो गम्भीर आपत्ति छ । सत्तामा बस्न र कुर्सी जोगाउनका लागि अहिलेको व्यवस्थामाथि खेलवाड गर्न मिल्दैन ।’नेता पौडेलले अहिलेको राजनीतिक गतिरोधलाई निकास दिन आफूहरू बहुमत पु-याउने प्रयत्नमा लागिपरेकोे बताउनुभयो ।बैठकमा ओलीले कोरोनाको दोस्रो लहरविरुद्ध कसरी लड्ने भनेर सुझावसमेत माग्नुभएको थियो । प्रधानमन्त्री ओलीले कोरोना भाइरसको समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रहसमेत गर्नुभएको थियो ।बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विमलेन्द्र निधि, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता लक्ष्मणलाल कर्ण, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता प्रकाशचन्द्र लोहनी र नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाललगायतको सहभागिता रहेको थियो ।

बैठकमा नेकपा माओवादीको भने अनुपस्थिति रहेको थियो भने एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरू पनि अनुपस्थित थिए । त्यसै गरी जसपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पनि बैठकमा सहभागी हुनुभएन ।प्रधानमन्त्री ओलीले बोलाउनुभएको सर्वदलीय बैठक बहिष्कार गर्नुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । कर्णाली प्रदेशमा एमालेका चार नेताले फ्लोर क्रस गरेको विषयले राजनीतिक तरंग पैदा गरिरहेको बेला प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्