गोर्खाली युद्धबन्दीका लोकभाका र व्यथा प्रकाशित



काठमाडौं ।

नेपाल प्रज्ञा–प्रतिष्ठानले १०६ वर्ष अगाडिको ऐतिहासिक लोकसामग्रीलाई प्रकाशनमा ल्याएको छ । पहिलो विश्वयुद्धमा जर्मनी पुगेका र त्यहीँ बन्दी भएका गोर्खाली सेनाहरूले सुनाएका लोकगीत, लोककथा, आत्मकथा, निबन्ध र गाउँखानेहरूलाई सङ्कलन गरेर ‘युद्धबन्दी गोर्खालीका लोकभाका र कथा’ नामक कृति प्रकाशन गरिएको हो ।

प्रथम विश्वयुद्धमा बेलायतका पक्षबाट युद्ध गर्ने गोर्खाली सेनाहरू जर्मनीमा बन्दी बनाइएका समयमा जर्मन प्रोफेसर हाइनरिक ल्युडर्सद्वारा तिनको वासस्थानमा नै गएर रेकर्ड गरिएका र जर्मनीको हुम्बोल्ड विश्वविद्यालयको ध्वनि सङ्ग्रहालयमा आजसम्म पनि सुरक्षित राखिएका लोकसामग्रीहरूको सूचना पाएपछि प्रज्ञा–प्रतिष्ठानले सङ्कलन गरी प्रकाशन गरेको हो ।नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (बालसाहित्य र लोकवार्ता) विभागको अनुसन्धान परियोजनाअन्तर्गत रहेर हाल अस्ट्रियाको भियाना विश्वविद्यालयमा प्राध्यापनरत डा. अलका आत्रेय चूडालले उक्त सामग्रीलाई ध्वनिबाट लिपिमा उतार्ने काम गर्नुभएको हो । तीन परिच्छेदमा विभाजन गरिएको यस कृतिको पहिलो परिच्छेदमा प्रस्तुत सामग्रीहरूको स्रोत, खोजी र प्राप्तिका सन्दर्भमा महत्त्वपूर्ण जानकारीहरू प्रस्तुत गरी ती सामग्रीहरूको विश्लेषण गरिएको छ भने दोस्रो परिच्छेदमा गोर्खाली युद्धबन्दीका लोकभाका र कथाहरू राखिएका छन् ।

यस खण्डमा ती गोर्खाली सेनाले गाएका लोकगीत, सवाई, सिलोक, फुटकर गीत, फुटकर सिलोक, ख्याली, हिन्दी गीत र भजन, हिन्दी दोहा र सिलोकहरू, सोरठी जस्ता गेय विधा लोककथा, आत्मकथा, निबन्ध र केही गाउँखाने कथा जस्ता गद्य विधाका जम्मा ८६ ओटा ऐतिहासिक महत्त्व राख्ने लोकसामग्रीहरू समेटिएको कुराको जानकारी प्राज्ञ डा. देवी नेपालले दिनुभएको छ । उहाँले भन्नुभयो, यी ऐतिहासिक सामग्रीमा युद्धबन्दी गोर्खालीहरूका कथा र व्यथाहरू समेटिएका छन् । साथै परिशिष्ट खण्डमा राखिएका तिनका नाम, नेपालको ठेगाना, त्यति बेलाको उमेर, तिनले सुनाएको विधा र रेकर्ड मिति जस्ता कुराले यस कृतिलाई झनै आधिकारिक र प्रामाणिक बनाएको छ । यी सामग्रीहरू पढ्दा र त्यो इतिहासको स्मरण गर्दा आज जोकोही पनि भावुक बन्ने अवस्थामा यस कृतिले पु-याउने छ ।

डा. अलका आत्रेयको अथक मेहनत र प्रज्ञा–प्रतिष्ठानको जिम्मेवारीबोधका कारण वीर गोर्खालीहरूको हराउन लागेको इतिहास आज नेपाली पाठकहरूसमक्ष आइपुगेको छ । २२० पृष्ठको उक्त ऐतिहासिक कृति हाल प्रज्ञा–प्रतिष्ठानमा भइरहेको बृहत् पुस्तक प्रदर्शनीमा समेत राखिएको कुरा सूचना तथा सञ्चार शाखा प्रमुख प्राज्ञ शशी लुमुम्बुले दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्