उकालो चढ्दै कोरोना भाइरस, १३ दिनमा ८ विद्यार्थी संक्रमित



मोतीराम तिमल्सिना, काभ्रे ।

पछिल्ला केहि दिन नेपालमा कोरोना भाइरसको संक्रमण फैलिरहँदा काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न पालिकामा बसोबास गर्ने पेशा ब्यवसायमा संलग्न ब्यक्तिहरु संक्रमित हुन थालेका छन् । संक्रमतिहरु विगतमा जस्तो जेष्ठ नागरिक भन्दा ३० वर्ष भन्दा कम उमेर समुहका छन् । चैत्र २० गते देखि बैशाख २ गतेसम्म २८ जना ब्यक्ति संक्रमित भएका छन् ।

संक्रमित मध्ये एकै समुहमा बस्ने काठमाडौ विश्वविद्यालयको फार्मेशी संकायमा अध्ययनरत ६ जना विद्यार्थी रहेका छन् । २०७७ चैत्र २४ गते परिक्षण गरिएका मध्ये ६ जनामा संक्रमण पुष्टी भएको धुलिखेल नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले बताउनु भयो । चार छात्रा र २ छात्र संक्रमित भएसँगै विश्वविद्यालयले भर्चुअल माध्यमबाट पठनपाठन शुरु गरेको छ । संक्रमणबाट बालबालिकाहरु त्रसित बनिरहेको अवस्थामा जिल्लामा विद्यालयहरुमा सुरक्षा अपनाउन स्थानीय सरकारले अनुरोध गरे पनि अभिभावकहरु नानीबाबुहरुलाई विद्यालय पठाउने कि नपठाउने भन्ने दुविधामा छन् ।

पाँचखाल घर भई बनेपाको पुलबजारमा डेरा लिई बस्ने १४ बर्षिया बालिकालाई बैशाख २ गते कोरोना संक्रमण पुष्टी भयो । उनका बाबु चालक हुन् । बनेपाको एक नीजि विद्यालयमा अध्ययन गर्ने उनी सामान्य परिवारकी सदस्य हुन् । केहि दिन देखि ज्वरो आएका कारण उनलाई कोरोना परिक्षण गरिएको थियो । धुलिखेल अस्पतालमा बैशाख १ गते स्वाब दिई डेरामा फर्किएका उनीहरुमा बैशाख २ गते संक्रमण पुष्टी भएको हो । संक्रमण पुष्टी भए सँगै उनी डेरामै छिन् ।

चौरीदेउराली घर भई काठमाडौको बसन्तपुर डेरा गरी बस्ने कक्षा ७ मा अध्ययनरत १४ बर्षिया छात्राको श्वास प्रश्वासमा समस्या भए लगत्तै परिक्षण गरियो । पसल ब्यवसाय गर्ने उनका बाबु यस अघि संक्रमति भएका थिए । बालिका अहिले घरमै छिन् । बालबालिकाहरुलाई अभिभावकबाट संक्रमण भएको उक्त घटना पछि विद्यालयमा अन्य बालिबालिकाहरुलाई पनि संक्रमण हुने आशंका गरिएको छ ।

संक्रमणको दर बढि रहँदा १३ दिनको अवधीमा जिल्लामा ३० वर्ष मुनीका १७ ब्यक्ति संक्रमित भएका छन् । १४ वर्षका दुई बालिका छन् भने १९ वर्षका ३ जना छन् । २० वर्षका ७ जना छन् । ४० वर्ष भन्दा कम उमेरका ४ जना, ५० वर्ष भन्दा कम उमेरका ३ जना र जेष्ठ नागरिक २ जना छन् । ७६ बर्षिय जेष्ठ नागरिक संक्रमति भएका छन् । बैशाख २ गते बनेपामा अध्ययन गर्ने एक बालिकामा संक्रमण देखिए पछि सहपाठीहरु त्रसित भएका छन् ।

पनौती घर भएका २५ बर्षिय युवक बैशाख १ गते देखि कोरोना संक्रमणका कारण अस्पतालमा उपचारार्थ छन् । तेमाल घर भएका ५३ बर्षिय पुरुष चैत्र २९ गते देखि उपचारार्थ छन् । मण्डन देउपुर घर भएका ४० बर्षिय पुरुष चैत्र २९ गते देखि उपचारार्थ भर्ना भएका छन् भने ६४ बर्षिय बनेपाका एक पुरुष चैत्र २५ गते देखि अस्पतालमा भर्ना भएका छन् । अन्य संक्रमितहरु घरमै उपचारार्थ छन् । गत वर्ष जस्तो यो वर्ष संक्रमण नियन्त्रण, ब्यवस्थापन र रोकथामका लागि खासै तयारी भएको छैन ।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले सर्वसाधारणलाई सरकारले तोकेको मापदण्ड अनुसार दुरी कायम राख्न, भिडभाड नगर्न, सुरक्षाका मापदण्ड पालना गर्न अनुरोध गरिरहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्